काठमाडौँमा पानी ल्याउन मन्त्री यादव मेलम्चीमा, पानीका लागि वार्ता हुँदै


काठमाडौँ। 

खोपानीमन्त्री प्रदीप यादव काठमाडौँका नागरिकका लागि खानेपानी ल्याउन हेलम्बु गाउँपालिकाको मेलम्चीमा पुगेका छन् ।

दसैं अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष अनुसार मन्त्री यादव सहितको टोली आज मेलम्ची पुगेको हो । अहिले काठमाडौँबाट गएको मन्त्री यादव सहितको टोली तथा मेलम्चीका संघर्ष समितिबिच पानी काठमाडौँमा ल्याउने विषयमा वार्ता भइरहेको छ ।

उक्त बार्ताटोलीमा संघर्ष समितिका तर्फबाट पासाङलामा, नमराज गुरागाई, छिरिङ ग्याल्बु लामा, हरिप्रशाद भण्डारी शिव लामीछाने, कृष्ण जोती रहेका छन्  भने राजनितीकदलका तर्फबाट राजकुमार भण्डारी (सभापती, नेपाली कांग्रेस), बेनबहादुर पण्डित (अध्यक्ष, नेकपा एमाले), विश्वराम गुरागाई (प्रतिनिधि नेकपा माओवादी), दिनेश थापा (सभापती रास्वपा) तथा सुरेश तामाङ (सभापती राप्रपा) रहेका छन् ।

यसैगरी खानेपानीमन्त्री प्रदीप यादव, हेलम्बु गाउँपालिकाका अध्यक्ष छिरिङ ग्याल्बु लामा, खानेपानी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछाने सहभागी रहेका छन् । 

मेलम्चीका संघर्ष समितिले राखेका मागका विषयमा अहिले छलफल भइरहेको मेलम्ची विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनले भने,“काठमाडौँमा पानी ल्याउने विषयमा अहिले संघर्ष समितिका पदाधिकारीसँग छलफल भइरहेको छ । उहाँहरुसँगको सहकार्यमा काठमाडौँमा पानी ल्याइने योजना रहेको छ ।”

मेलम्चीका संघर्ष समितिका तर्फबाट हेलम्बुबाट पानी प्रस्थान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा स्थानीय सरकारले सो पानी काठमाडौँवासीलाई बिक्रि गरेवापतको बिक्रि मूल्यको  २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनु पर्ने, बाढीपहिरो पीडितका समस्या समाधान गर्नुपर्ने, बाढीले बगाएका पुल तथा भत्काएका सडक निर्माण गर्नु पर्ने लगायतका मागहरू राखिएको बताइएको छ ।