अक्टोबर ७ को आक्रमणमा मारिएकाको सम्झनामा श्रद्धाञ्जली सभा


काठमाडौँ। 

प्यालेष्टिनी लडाकु समूह हमासले इजरायलमाथि आतंकवादी आक्रमण गरेको सोमबार एक वर्ष पुगेको छ । सोही अवसरमा काठमाडौँस्थित इजरायली दूतावासले एक श्रद्धाञ्जली समारोहको आयोजना गरी उक्त आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीसहित १२ सयभन्दा बढी इजरायली र विदेशी नागरिकहरुको सम्झना गरेको छ । 

कार्यक्रममा आतङ्कवादी आक्रमणमा मारिएकाहरुको आत्माको शान्तिको कामना गर्दै मौन धारण गर्नुका साथै अझै हमासको कब्जामा रहेका एक सय एक बन्धकहरुको सुरक्षित रिहाइका लागि प्रार्थना गरिएको थियो ।

 

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासले गरेको आक्रमणले नेपाललाई पुगेको क्षतिको घाउ अझै पुरिन बाँकी रहेको जिकिर गर्दै हमासले बन्धक बनाएका कन्चनपुरका विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाईको लागि पहलहरु जारी नै रहेको बताए । 

तत्कालिन समयमा परराष्ट्रमन्त्री रहेका साउदले आक्रमणको समयमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा पढ्न गएका १० नेपाली विद्यार्थीको मृत्युले उनीहरुको परिवारलाई ठूलो चोट पुग्नुको साथै नेपालले पनि आफ्नो भविष्यको सम्भावनाहरु गुमाएको बताए । उनले आतंकबादका लागि कुनै पनि स्थान नरहेको भन्दै हमासको बर्बरतापूर्ण आक्रमणको कडा निन्दा पनि गरे ।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत खनान गोडरले आतंकबादविरुद्ध विश्वव्यापी एकताको खाँचो औँल्याउँदै इजरायल आफ्नो आत्मरक्षाको लागि पछि नहट्ने बताए । उनले लोकतन्त्र, मानव सहिष्णुता र बहुसांस्कृतिक सम्मानका विषयमा इजरायल र नेपालको समान धारणा रहेको जिकिर गर्दै भने– ‘ हामी आतंकबादविरुद्ध एकजुट छौं र सहिष्णुता र शान्तिको सन्देश फैलाइराख्नेछौं ।’

उनले हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीको परिवार र घाइते भएका नेपाली विद्यार्थीहरुप्रतिको उत्तरदायित्वलाई इजरायल सरकारले आफ्नै नागरिकसरह नै बहन गर्ने जानकारी पनि दिए ।

श्रद्धाञ्जली समारोहमा हमासले बन्धक बनाएका इजरायली र नेपाली नागरिकले भोगेको अमानवीयता र आतंक समेटिएको भिडियोका साथै हमास आक्रमणमा भएको अमानवीय बर्बरतापूर्ण गतिविधिहरू समेटिएको फोटो प्रदर्शनी पनि गरिएको थियो । 

हमासले सन् २०२३ को ७ अक्टोबरमा इजरायलमाथि गरेको आतंकवादी आक्रमणपछि सुरु भएको इजरायल–हमास युद्धमा हमासका प्रमुख इस्माइल हानिया र हिजबुल्लाहका प्रमुख सैयद हसन नसरल्लाहसहित अन्य शीर्ष नेताहरु मारिएका छन् । पछिल्लो समयमा हमासलाई युद्धमा सहयोग गर्नेमाथि पनि आक्रमण सुरु गरेको इजरायलले हमास र हिजबुल्लाहको अन्त्य नभएसम्म युद्ध जारी रहने बताएको छ ।