जनविश्वास दिलाउने दलहरूको राजनीतिक प्रयत्न

846
Shares

काठमाडौं ।

पछिल्लो समय राजनीतिप्रति नागरिकको वितृष्णा बढिरहेका बेला संसद्मा प्रतिनिधित्व गर्ने मूल पार्टीहरूले जनजीविकाका सवाललाई केही हदसम्म उठाउने प्रयत्न गरेका छन् । पुराना दलहरू नागरिकमाझ अलोकप्रिय हुँदै गएको परिवेशमा सरकार सम्बद्ध र सरकारबाहिर रहेका दलहरूले समेत जनपक्षीय बन्ने एजेन्डा लिएर हिँडेका हुन् ।

पछिल्लो बाढीपहिरोमा केन्द्रित भएका दलहरूले राजनीतिक भाषणभन्दा पनि नागरिकलाई सहयोग पुग्ने गरी कार्यकर्ता परिचालन गरेका छन् भने सरकारको विपद् कोषमा आर्थिक सहयोग गरेर नागरिकको दुःखमा दलहरू एक भएको सन्देश दिएका छन् । गत स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघीय चुनावमा मोर्चाबन्दी गरेका दलहरूले आगामी आम निर्वाचनमा एक्ला एक्लै चुनाव लड्ने घोषणासहित गाउँ अभियानहरू शुरू गरेका छन् ।

पार्टीले घोषणा गरेका कार्यक्रमलाई व्यवहारमा रूपान्तरण गर्नसके उनीहरूप्रतिको वितृष्णालाई आशामा परिणत गर्दै जनताले फेरि मतबाटै त्यसको जवाफ दिनेछन् । तर, दलहरूले कागज र भाषणमा मात्रै जनताका कुरा गर्ने परम्पराको पुनरावलोकन गर्न नसके आगामी निर्वाचनमा आउने परिणामसमेत नकारात्मक आउने करिब पक्का छ ।

सय दिने संंगठन व्यवस्थापन, विस्तार र जनजागरण अभियान शुरू गरेको सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसले यो अभियानले दलहरूप्रतिको जनविश्वास गुम्दै जानुको कारण पत्ता लगाउन सहयोग पुग्ने जनाएको छ। कांग्रेसका महामन्त्री गगनकुमार थापाले सय दिने जागरण अभियानले नागरिकको मन कुँडिएको कारण र त्यसको उपाय खोज्न सहयोग पुग्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ भनेर पनि हामीले सय दिने कार्यक्रम बनाएर प्रत्येक वडास्तरसम्म पुग्ने योजना बनाएका हौं ।’ लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा २०४८ को निर्वाचनमा जसरी उत्साह बढाउने गरी जनपक्षीय काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसअघि थापाले भन्नुभयो–‘आम जनताको भरोसा कांग्रेसप्रति नै रहेको छ। यसलाई थप सशक्त बनाउन नागरिकमाझ पुगेर उनीहरूका समस्या बुझ्नुपर्छ । देशमा सुशासन कायम गर्ने योजनाहरू हामीले ल्याउनै पर्छ । विकास र समृद्धिका योजना, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीका विषयमा नागरिकप्रति कांग्रेस हिजो पनि संवेदनशील थियो । अहिले त्यसलाई बढाएर लानुपर्नेछ ।’ कांग्रेसले तीनमहिने गाउँ अभियानमा यी विषयलाई सूक्ष्म अध्ययन गर्ने र समस्याका समाधान खोज्ने गरी योजना बनाउने थापाको भनाइ छ ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि आगामी निर्वाचनमा एक्लै भिड्ने गरी जनतामाझ जाने र शक्ति सञ्चय गर्ने योजना बनाएको नेताहरूले बताएका छन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गर्नुभयो । उहाँले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको जिकिर गर्नुभयो।

आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने भन्दै दाहालले भन्नुभयो– ‘आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्नेछ । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेकाले देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको छ। देशव्यापी रूपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउनुपर्छ ।’

पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको र जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने दाहालको भनाइ छ। माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा निरन्तर लाग्नेसँगै पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको प्रचण्डले दाबी गर्नुभएको छ।
कांग्रेस–एमालेको गठबन्धन सरकार न्यूनतम साझा कार्यक्रममा तत्कालीन र दीर्घकालीन के–के काम गर्ने, ती कामहरू कहिलेसम्म, के–कसरी कार्यान्वयन गर्ने भन्ने योजना बनाएर अघि बढेको छ।

सरकारको नेतृत्व गरेको एमालेले पनि जनताले परिवर्तन र राहत महसुस गर्ने गरी योजना बनाएको सो दलका नेता विशाल भट्टराईले बताउनुभयो । पार्टी सरकारमा रहँदा पनि सरकार बाहिर रहँदा पनि जनताका पक्षमा कामहरू गर्दै आएको र जनताले एमालेलाई कठिन परिस्थितिमा पनि राम्रो मत दिएर पठाएको उहाँको दाबी छ। आगामी आम निर्वाचनमा एमाले कसैसँग चुनावी तालमेल नगरी एक्दै भिड्ने गरी जनतामाझ रहेको नेताहरूले बताएका छन्।