हरिबहादुरको आत्मकथा सार्वजनिक


काठमाडौं ।

लोकप्रिय रंगकर्मी तथा अभिनेता हरिबहादुर थापाको आत्मकथा रंगमञ्चमा म सार्वजनिक गरिएको छ।

संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगःको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा राजधानीमा सम्पन्न समारोहमा प्रमुख अतिथि, सभापति तथा लेखक हरिबहादुरका साथमा साहित्यकार डा. अभि सुवेदी, समालोचक डा. दयाराम श्रेष्ठ ‘सम्भव’, अभिनेता तथा निर्देशक नीर शाह र डा. सावित्री कक्षपतिले संयुक्तरूपमा उनको आत्मकथा सार्वजनिक गरे।

समारोहमा बोल्दै साहित्यकार तेजेश्वरबाबुले हरिबहादुरले अभिनय गरेका नाटकको स्मरण गरे। ‘म र हरिबहादुर दुवै भक्तपुरका हौँ। भक्तपुरमा जन्मिएका हरिबहादुर भक्तपुरमात्र नभई देशकै गहना हुन्। उनको ख्याति देशमा मात्र नभई विदेशमा पनि उत्तिकै छ,’ तेजेश्वरले हरिबहादुर एक प्रतिभाशाली नाट्यकर्मी भएको चर्चा गर्दै भने।

अभिनेता नीर शाहले हरिबहादुर र आफ्नो करिब पाँच दशकको सम्बन्ध रहेको स्मरण गर्दै हरिबहादुर एक अनुशासित र लगनशील भएको बताए। शाहले हरिबहादुरसँगैका अन्य व्यक्ति अन्य क्षेत्रमा लागे पनि उनले भने प्रतिबद्ध र निष्ठावान् भई नाट्य क्षेत्रलाई नै अघि बढाएको बताए।

त्यस्तै, समालोचक दयारामले हरिबहादुरले २०३६ सालमा अभिनय गरेको चर्चित नाटक शकुन्तलामा राजा दुश्यान्त पात्रको स्मरण गर्दै त्यो बेला पदमकन्या कलेजका युवती दुष्यान्त कस्तो रहेछ त भनेर हरिबहादुरलाई भेट्न गएको सम्झिए।

साहित्यकार डा. अभि सुवेदीले हरिबहादुर बौद्धिक रङ्गकर्मी भएको र नाटयकर्ममै लागेर जीवनयापन गरेको बताए। ‘उहा“का कृतिबाट नाट्य क्षेत्रमा आउने पिढीले धेरै कुरा सिक्न सक्छन्। नाट्य कर्मसम्बन्धी विगतका कुरा समेटिएको यो किताब गहकिलो छ,’ सुवेदीले सुनाए। साहित्कार तथा समालोचक सावित्री मल्ल कक्षपतिले कार्यक्रमको समीक्षा गर्दै नाट्यकर्मको इतिहासको यस प्रकारको गहकिलो र उदहारणीय कार्यक्रमको आयोजना गर्दै नाट्यकर्ममा लाग्नेका लागि पुस्तक लेखेर योगदान दिएको चर्चा गरिन्।

कृति सार्वजनिक समारोहमा लेखक हरिबहादुर थापाले आफ्नो बाल्यकालखदेखि अभिनय, जागिरे तथा व्यक्तिगत जीवनबारे समावेस गरेर पुस्तक लेखेको बताए। ‘सबै कुरा पुस्तकमा समेट्न सकिएको छैन। आगामी दिनमा अर्को संस्करण निकाल्न सकिनेछ,’ उनले भने। समारोहमा उनले नाटककार बालकृष्ण समको नाटक अमरसिंहबाट सूत्रधार र प्रधानमन्त्री भीमसेन थापाको चरित्र प्रस्तुत गरेका थिए भने अषेश मल्लको नाटक जोडियोस् भत्किएका मनहरूबाट सूत्रधारको चरित्र प्रस्तुत गरेका थिए।

६ दशकदेखि नाट्ककर्ममा लागेका हरिबहादुर २०२८ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सामान्य नाट्यकर्मीको रूपमा प्रवेश गरेका थिए भने करिब चार दशकको जागिरे जीवनमा नाटक निर्देशक हुँदै अवकाश लिएका थिए। अवकासपछिको जीवनमा पनि उनले देश तथा विदेशका विभिन्न स्थानमा व्यक्तिगतरूपमा नाट्य क्षेत्रका लागि प्रयास गर्दै आएका छन्।

अमेरिकालगायत विभिन्न देशमा नाटक मञ्चन गरेका उनले केही समयपछि अस्ट्रेलियाको नाट्य गतिविधिमा सरिक हुने बताए। राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको लेखन रहेको बहुचर्चित नाटक मालती मङ्गलेमा मङ्गलेको भूमिकाबाट थप लोकप्रियता कमाएका थापाले सो नाटक काठमाडौं, नारायणघाट, पोखरा, विराटनगरसहित हङ्कङ, अमेरिकाजस्ता देशमा प्रस्तुत गरेका थिए। उनले सो नाटक करिब ६ सयपटक अभिनय गरेका थिए।

समारोहमा हरिबहदुरकी पत्नी मिठु थापाले पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम असहाय बालबालिका र वृद्धवृद्धाको स्याहार सुसार गरिरहेको संस्था तुलसालय फाउन्डेसनको सहयोगका लागि सञ्चालक सरु सुवेदीलाई प्रदान गरेकी थिइन्। कार्यक्रम शब्दयात्रा प्रकाशनले आयोजना गरेको हो।