पूर्णबहादुरको सारंगीको मैजारो


काठमाडौं ।

गन्धर्वको कथा बोकेको फिल्म पूर्णबहादुरको सारंगीको नयाँ गीत मैजारो सार्वजनिक गरिएको छ।

फिल्मको निर्माण समूहले शुक्रबार युट्युब च्यानलबाट रिलिज गरेको गीतमा शब्दरचना, संगीत र स्वर प्रशान्त शिवाकोटीको छ। गीतले फिल्मका मुख्य पात्रका जीवनकथा बोकेको छ।

गीतमा गन्धर्व समुदायको प्रेम, वियोग, विछोड र पीडा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा प्रमुख कलाकार विजय बराल, अञ्जना बराइली र बलाकलाकार स्वयम् केसीले अभिनय गरेका छन्। गीतमा पूर्णबहादुर (विजय बराल) लाई श्रीमतीले छाडेपछि गाउँगाउँमा सारंगी बजाउँदै पीडा सुनाइरहेको देखिन्छ।

उनी गीतसँगै पीडसँगै सानो छोरोप्रतिको जिम्मेवारी देखाउँछन्। सारंगीको धुनसँगै गीतमा प्रेम र पीडाको कथा कलात्मकरूपमा देखाइएको छ। भिडियोमा पूर्णबहादुरले आफ्नो छोरालाई सारंगी बजाउन सिकाउँदै गरेको दृश्यले पारिवारिक विरासत र जातीय पेसालाई देखाउने प्रयास गरेको छ।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म कातिक १५ गतेबाट नेपालभर रिलिज हुँदैछ। विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेको फिल्म गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित छ।

सेभेन सिज र बाँसुरी फिल्म्स्को प्रस्तुति तथा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माण रहेको फिल्ममा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेका छन्। फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी तथा प्रशान्त शिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ।