विश्वकपमा पाकिस्तानमाथि भारतको जित


काठमाडौं ।

यूएईमा जारी आईसीसी महिला क्रिकेट टी २० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । भारत र पाकिस्तानको यो महिला टी २० विश्वकपमा आठौं भेट हो । जसमा, भारतले नै छैटो पटक जित हासिल गर्‍यो। योसँगैं पाकिस्तानले भारतलाई तेस्रो पटक हराउन सकेन।

समूह चरणअन्तर्गत खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १ सय ५ रन बनायो। पाकिस्तानका लागि निदा दारले सर्वाधिक २८ रन जोडिन् भने अन्यले निरस ब्याटिङ गरेका थिए। भारतीय बलरमा अरुणधाती रेड्डीले सर्वाधिक ३ विकेट लिएकी थिइन्।

जवाफमा भारतले ४ विकेटको क्षतिमा १ सय ८ बनाउँदै जारी प्रतियोगितामा पहिलो जित हासिल गर्‍यो। टिमलाई विजयी तुल्याउन शैफाली वर्माले सर्वाधिक ३२ रन बनाउँदा हरमनप्रीत कौरले २९ र जेमिमाह रोड्रिग्वेजले २३ रन बनाए। पाकिस्तानी बलरमा फातिमा सनाले सर्वाधिक २ विकेट लिइन्।

भारतले पहिलो खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको थियो। यस्तै, पाकिस्तानले पहिलो खेलमा श्रीलंकामाथि ३१ रनको शानदार जित हासिल गरेको थियो।