प्रसुतीगृहमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण हुने

846
Shares

काठमाडौं ।


थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विहिवार उक्त सेवाको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
मन्त्री पौडेलले अस्पतालमा आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दै महत्वपूर्ण प्रयास भएको बताए । ‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भने–, ‘बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण हुन्छ ।’


देशमै ख्याती कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको मन्त्री पौडेलले बताए । उनले यो शुरुवात त्यसैको एक कडी भएको चर्चा गरे । अस्पतालले २० शैय्या आइसीयू थप्न लागेको भन्दै मन्त्री पौडेलले यसले अति आवश्यक मातृ शिशुका लागि धेरै राहत दिने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने तयारी गरिरहेको बताए ।


मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी बहिरंग सेवाको समेत उद्घाटन गरे । उनले भने, ’मातृशिशुको स्वास्थ्य सुधारका लागि कसरी सेवा बढाउन सकिन्छ हामी लागिरहेका छौं । सबै क्षेत्र मिलेर मात्र यो सम्भव छ । म यस क्षेत्रमा क्रियाशिल सबैलाई सहकार्यका लागि आग्रह गर्दछु ।’


मन्त्रालयका सचिव हरि मैनालीले अस्पतालको सेवा मातृ शिशु मृत्युदर घटाउन राम्रो थालनी भएको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अकाल मृत्युबाट जोगाउने उद्देश्यले हाल परीक्षणका रुपमा सेवा थालेको भन्दै पाँच प्रकारका वंशाणुगत रोगको जन्मनासाथ परीक्षण र उपचार गरिने जानकारी दिए । देशमा २१ प्रतिहजार नवजात शिशुको मृत्यु दर रहेकामा यस्तो सेवा विस्तार गर्न सकिएमा कम गर्न सकिने उनले बताए ।