पाठक पत्र: डुबानको सवालमा यता पनि ध्यान दिऔं


गत असोज ११ र १२ गते काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा भीषण वर्षा भयो। मुसलधारे वर्षातका कारण उपत्यकासहित धेरै ठाउँ डुबानमा परे। पहिरो पनि गयो। वर्षाका कारण खोलाको बहाव बढेपछि भक्तपुरको राधेराधेस्थित भाटभटेनी डुबानमा परेको सर्वसाधारणले प्रत्यक्षरुपमै देखे । त्यसपछि अहिले सर्वसाधारणमा नयाँ बहस शुरु भएको छ।

उनीहरु राधेराधेको जग्गा आनाको एक लाखमा दिए पनि नकिन्ने बताउँछन्। दुई दिनको झरीले मुलुकका अधिकांश जिल्लामा घर डुबानमा परेको सर्वसाधारणले देखेका छन्। यसैले, अब त्यस्ता ठाउँका घर जतिसुकै सस्तोमा दिन्छु भने पनि कसैले किन्नेछैन।

उपत्यकाका विभिन्न स्थान डुबेपश्चात् अहिले बजारमा ८०–९० वर्षका बूढाबूढीहरु भन्छन्, ‘२०३२–०३३ सालमा यी क्षेत्रमा खोला बग्थ्यो । घट्टेकुलो, अनामनगर, हनुमानस्थान, बिजुलीबजार र सिडियो कार्यालयपछाडि त खोला नै बग्थ्यो।’ यसरी खोला मासेर घर तथा संरचना बनाएपछि डुबानमा पर्नु स्वाभाविक नै हो।

प्रकृति भनेको प्रकृति नै हो । मानव प्रकृतिभन्दा ठूलो होइन । हामी मानिस पनि प्रकृतिको वरदान नै हौं । तर, हामीले आफूहरुलाई प्रकृतिभन्दा ठूलो ठान्यौं । आफ्नो स्वार्थका निम्ति प्रकृति मास्यौं । बगिरहेको खोलालाई पुर्‍यौं। खोलाको अस्तित्व नै मेटाइदियौं। त्यसैले पनि अहिले प्रकृतिले हामी सबैलाई आफ्नो रुप देखाएको हो । यसलाई अब चेतावनीको रुपमा बुझ्न आवश्यक छ।

प्रकृतिमाथि खेलबाड गरेमा त्यसले कु्रर रुप लिन सक्ने हामी सबैले देखिसकेका छौं। खोला, नदी भनेकै बहनका लागि हो। तर, उसको बहने ठाउँमै मानवले कब्जा गरेपछि उसले आफ्नो अस्तित्व जोगाउन यो सबै गर्नु स्वाभाविक हो। भनिन्छ कि लोभले लाभ, लभले विलाप । नदी, खोलावरपरको जग्गा सित्तैमा पाइन्छ भनेर त्यहाँ बस्ती बसालियो।

कतिपयले त त्यस्ता जग्गामा ठूला–अग्ला घर पनि बनाए । जग्गा दलालीहरुले पनि सोझासाझा सर्वसाधारणलाई यस्ता ठाउँका जग्गा भिडाए । विश्वासमा परेर कतिपयले पहिला त्यो जमिनमा के थियो ? भनेर बुझ्दै नबुझी किने अनि घर ठड्याए। यता, खेती गर्न उपयुक्त जमिनमा पनि मानवहरुले घर बनाए। जसको परिमाण अहिले देखिएको छ। गहिरो ठाउँमा घर बनाउँदा बाढी घरभित्रै पस्दा मानिसहरु घरबारविहीन बनेका छन्।

नदी, खोलावरपर बनेका अधिकांश घर बाढीले नै बगाएको छ । अनि अब उनीहरुले के गर्छन् ? दुई दिनको मुसलधारे वर्षातपछि निम्तिएको बाढीपहिरोले राज्य र जनता दुवैको आँखा खोलिदिएको छ । उपत्यकामा झन्डै ५४ वर्षपछि यत्रो भीषण वर्षा भएको बताइन्छ । अब फेरि कहिले पर्ने हो ? ठेगान छैन ।

हालैको बाढीपहिरो र डुबानबाट उपत्यकासहित देशभरका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ । हजारौंको संख्यामा मानिसहरु घरबारविहीन भएका छन्। बाढीपहिरोका कारण जनजीवनमा परेको असर सरकारले केही समयमै विभिन्न संघसंस्था, व्यक्ति तथा राष्ट्रको आर्थिक सहयोगमा कम गर्ला। तर, अब नीतिगतरुपमै यो समस्या समाधान गरिनुपर्छ । किनकि यस्तै मुसलधारे पानी परेर फेरि कहिले बाढीपहिरो आउला ? भनेर भन्न सकिदैँन । अब सरकारले तत्काल नदी, खोलावरपर घर तथा कुनै पनि संरचना बनाउनमा रोक लगाउनुपर्छ। त्यस्ता ठाउँका जग्गा तथा घरको किनबेच पनि रोक्नुपर्छ । यसो गरेमा अर्कोचोटि बाढीपहिरो आउँदा हाल भएकोभन्दा सयौं गुणा कम क्षति हुनेछ।

प्रकृतिले कहिले आफ्नो रुप देखाउँछ ? भन्न सकिदैँन। ०७२ वैशाख १२ गते उपत्यकासहित विभिन्न जिल्लामा महाभूकम्प गयो। भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भयो। अहिले पनि भूकम्प गएमा ठूलो धनजनको क्षति हुनेछ। त्यति बेला भूकम्पले चर्किएका घरहरु अहिले पनि मर्मत भएको छैन । त्यसमाथि त्यस्ता घरमा मानिसहरु बसोबास गरिरहेको पाइन्छ।

यस वर्षको बाढीपहिरो होस् वा २०७२ को भूकम्पबाट प्रभावितमध्ये कतिपयले आफ्नो घरजग्गा सहकारी वा बैंकमा धितो राखेर ऋण लिएका होलान्। भूकम्पबाट चर्केका घर हुन् कि बाढी पसेका घर हुन्, अथवा पूर्णरुपमा क्षति भएका घरजग्गा नै किन नहुन्, अब यस्ता सम्पत्ति बिक्री हुन सक्ने अवस्था छैन। त्यसैले ऋण लिने व्यक्ति र दिने वित्तीय संस्था दुवै मारमा पर्ने अवस्था सृजना भएको छ । यसमा सरकार बेखबर बस्नुहुँदैन।

– रुषा थापा, भक्तपुर ।