“म हात जोडेर भन्छु, ललिपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस्”: मन्त्री यादव

1.5k
Shares

काठमाडौं ।

खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधी एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरि दिन आग्रह गरे ।

आज दक्षिणकाली नगरपालिकामा आयोजना गरिएको जनप्रतिनिधि, स्थानीय नागरिकहरुसँगको गहन छलफल कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले हालैको बाढीपहिरोले खानेपानीका थुप्रै आयोजनाहरुमा क्षति पुगेको र ललिपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेका हुन् ।


सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले पानीका लागि कोही प्यासा तड्पिइ रहेको छ भने त्यसलाई आफुसँग भएको पानी दिनु सबैको कतव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधी एवं नागरिकहरुले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवताको धर्मको विषय पनि हुने पनि बताए ।


उनले भने , “बिगतमा हाम्रा कर्मचारी, केयुकेएलका कर्मचारी एवं प्रतिनिधीहरुबाट केही समस्या भएको होला । त्यसैले अहिले दक्षिणकालीका नागरिकहरु ललितपुरमा पानी पठाउन रुष्ट भएका हुन सक्छन् । तपाईहरुका समस्या के हुन ? समाधानका लागि म पहल गर्ने छु । कृपाया म हात जोडेर भन्छु । ललिपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस् ।” बाढीपहिरो लगायतका समस्याले अहिले देश बिपद्मा र समस्यामा परेकाले हामी सबै नेपालीहरुले एक अर्कालाई मानवीय सहयोग गर्नका लागि एकजुट हुनु पर्ने मन्त्री यादवको भनाई थियो ।


“अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशका २१ जिल्ला प्रभावित भएका छन् । हामी बिपद्को घडिमा छौँ, नागरिक पानीका लागि तड्पिइ रहेका छन् । तपाईरुसँग पानी छ । अहिले नागरिकलाई पानी दिन तपाईहरुको सहयोग आवश्यक छ ।” उहाँले भन्नुभयो । यसैगरी मन्त्री यादवले केही दिन पहिले आएको बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीको क्षेत्रमा भएका तथा अन्य समस्याका विषयमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट आवश्यक सहयोग गर्ने निर्णय गरेको समेत जानकारी दिए।


उनले भने, “बाढीपहिरोले भएको क्षतीका विषयमा सरकारद्धारा आवश्यक सहयोग गर्ने निर्णय भएको छ । सम्पूर्ण क्षतीको स्टमेट तयार गर्नुहोला, मैले जतिसक्दो चाडो समस्या समाधान गराउन पहल गर्ने छु ।” मन्त्री यादवले आफु राज्यको प्रतिनिधी भएकाले दक्षिणकालीमा बाढीपहिरो लगायतका बिपद्बाट नागरिकले भोग्नु परेका पीडा खानेपानीका समस्याहरु स्वयं आफ्ना पीडा भएको बताउनु हुँदै त्यसको समस्या समाधानका लागि हरतरहले अग्रसर रहने प्रतिबद्धता जनाए ।


उनले भने, “बाढीपहिरोले गरेको क्षती र पीडा हामी जनप्रतिनिधीका पीडा पनि हुन, म तपाईहरुका पीडालाई आफ्नै पीडा सम्झेर काम गर्ने छु । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकार मिलेर समस्या समाधान गर्नतर्फ लागौँ ।” दक्षिणकालीमा खानेपानीका भएका क्षतीको मर्मत सम्हारका लागि तत्काल काम थाल्न आफुले मातहतका निकाएलाई निर्देशन दिइसकेकाले बाढीले भत्काएका र बिगारेका खानेपानीका मुहानहरुका काम सुचारु हुनेमा ढुक्क हुन समेत मन्त्री यादवले सबैमा आग्रह गरे ।

मन्त्री यादवले ललितपुर लगायतका ठाउँमा पानीका लागि नागरिक तड्पिइ रहेकाले पानी सञ्चालनको काम तत्काल सुरु गरिदिन समेत त्यहाँका नागरिकलाई अनुरोध गरेका थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्याहरु सम्बोधन गर्न आफुले संघीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उनले भने, “दक्षिणकालीमा बाढीपहिरोका कारण भएका क्षतीका समस्या समाधन गराउन हामी हाम्रातर्फबाट संघीय सरकारसँग सहजीकरण गछौँ, पानी पठाउन तपाईहरु सहयोग गर्नुस् ।”


सोही कार्यक्रममा बोल्नु हुँदै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफु सदैब तयार रहेको बताउनुभयो । उनले भने, “दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैब तयार छौँ, आजैबाट पानी सञ्चालन गरी दिन म तपाईहरुलाई विषेश अनुरोध गर्दछु ।”


आजै मन्त्री यादवले फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन भ्रमण गरेर पानीको स्रोत र वितरण प्रणालीको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिनु भएको थियो । भ्रमणका क्रममा हालैको अविरल वर्षाले ल्याएको बाढीले क्षति पु¥याएका सुन्दरीजल पानी प्रशोधन केन्द्र, फर्पिङ जलाशय (हेड पण्ड), पेनस्टक पाइप, कुटुरी मूल र फर्पिङ पम्प हाउसमा भएको क्षतिको विवरण लिँदै ती क्षेत्रहरुमा पानी आपूर्तिमा देखिएका समस्या समाधान गर्न आवश्यक कदमहरुको बारेमा स्थानीय जनप्रतिनिधिहरुसँग गहन छलफल पनि गरेका थिए ।


खानेपानीको स्रोतको उत्पादन क्षमता बढाउँदै वितरणलाई अझ प्रभावकारी बनाउन, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्नका लागि रहेका राजनीतिक र प्राविधिक चुनौतीहरुको समाधान गर्न आफु प्रतिबद्ध रहेको जानउनु हुँदै मन्त्री यादवले लक्ष्य स्थायी र दिगो समाधानमार्फत हरेक नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनु भएको बताएका थिए ।


सो कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डङ्गोल, जनप्रतिनिधीहरु लगायतका आम नागरिकहरुले बाढीबाट खानेपानीका क्षेत्र तथा आम नगरिकका भएका क्षतीलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने, दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजादा संघीय सरकारले दक्षिणकाली नगरपालिकालाई बार्षिक बजेटमार्फत थप बजेट पठाउनु पर्ने माग राखेका थिए ।