बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने

1.97k
Shares

काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने भएका छन् ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले लामासहित उनको क्याबिनेटका १४ जना मन्त्रीले १५-१५ दिनको तलव बाढी प्रभावितका लागि निर्माण गरिएको प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

प्रदेश सरकारले प्रदेश भरीका बाढी प्रभावित स्थानीय तहलाई ५ करोड ८० लाख बराबर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ । गत साता परेको अवीरल वर्षात्का कारण बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित भएको प्रदेश हो । बागमती प्रदेशमा सबैभन्दा बढी क्षति भएको थियो ।

प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको हो ।