बढीभाडा उठाउने र नियम विपरीत सवारी संचलनल गर्नेलाई जरिवाना

10.72k
Shares

धादिङ । 

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार साँझ पृथ्वी राजमार्गमा छड्के जाँच गरी  ५ सवारी साधनलाई कारबाही गरेको छ भने जिल्ला ट्राफिक प्रहरीले जिल्लाका विभिन्न भागमा ३२ सवारीलाइ कारबाही गरेको छ । 

काठमाडौँबाट धादिङ आउजाउ गर्ने बागमती प्रदेश ०३-००१ज-०७२६ नम्बरको विद्युतीय माइक्रोबसलाई बढी भाडा लिएको पाइएपछि ५  हजार जरिवाना गरेको छ। बागमती प्रदेश ०३-००१ज ०८१० नम्बरको विद्युतीय द गाडी सरसफाइ नभएको बढी र भाडा लिएको पाइएपछि ५  हजार जरिवाना गरेको छ। बागमती प्रदेश ०३-००१ ज-०६३५ नम्बरको विद्युतीय माइक्रोबसलाई गाडी सरसफाइ नभएको बढी र भाडा लिएको,गाडीमा डसबिन नभएको पाइएपछि ५  हजार जरिवाना गरेको छ । यस्तै  बागमती प्रदेश ३-०३-००१ख-०१३८ नम्बरको धनगढीको बसलाई भाडादर गाडीमा नटासेको,सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि ५ हजार जरिवाना गरेको छ। 

यसैगरी  ग १ ख ५३९५ पृथ्वी प्रा लि को माइक्रोबसलाई सिट क्षमता भन्दा बढी यात्रु बोकेको पाइएपछि ५  हजार जरिवाना गरेको छ ।

चाडपर्वको समयमा सवारीसाधनहरुले काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बीच बाटोमा पुगेर यात्रुसँग भाडा थप लिने गरेको जनगुनासोलाइ सम्वोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाइ निरन्तर रुपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

यात्रुहरुलाई जोखिम हुनेगरी मानिस बोक्ने, नियम उल्लंघन गर्ने र कानुनले गर्न हुँदैन भनेको विषय सवारी संचालन गर्ने बुलेरो लगायतका ३२ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरीका विभिन्न पोष्टहरुले कारबाही गरेको छ ।

छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति समेत नभएका सवारी साधनले क्षमता भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढंगले सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले दुई दिनमा ३२ वटा सवारीलाई जरिवानासहित कारबाही गरेको हो ।

ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जीप धेरै छन् । शुक्रबार बिहान मात्रै जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायतका गाउँपालिकाको विभिन्न वस्तीहरुबाट छतमा समेत यात्रु ओसार पसार गर्ने पाँच वटा बोलेरो जीप जरिवानामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

चाडपर्वको बेलामा हुन सक्ने संभावित दूर्घटना हुन नदिन र यात्रु ठगिनबाट जोगाउन ट्राफिक प्रहरीले सवारी साधनहरुको चेकजाँचलाई कडाई गरेको छ ।

सदरमुकाम धादिङबेसी र राजमार्ग क्षेत्रका बजारहरुबाट जिल्लाका विभिन्न ग्रामीण वस्तीहरुमा यात्रु लिएर जाँदै गर्दा छड्के चेकजाँच गरी नियम विपरीत सञ्चालित सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रयोजन विपरीत सञ्चालित तीन वटा, छतमा समेत राखेर यात्रु बोक्ने १४ वटा, सवारी साधनको अवस्था ठिक नभएको पाँच वटासहित ३२ वटा सवारी साधन कारबाहीमा परेको श्रेष्ठको भनाइ छ ।

वर्षातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठूला यात्रुबाहक बस पुग्न नसक्ने कारण देखाउँदै बोलेरो जीपहरुले क्षमता भन्दा बढी यात्रु बोक्नुका साथै जबरजस्ती बढी भाडा लिने गरेको पाइएको छ ।

धादिङबेसीबाट सल्यानटारसम्म ३० किलोमिटर पिच सडकमा समेत ६ सय रुपैयाँ भाडा लिएको गुनासो यात्रुले ट्राफिक प्रहरीसमक्ष गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

अप्ठ्यारो सडक, जामको पीडालगायत विभिन्न बहानामा राजमार्ग क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्ने सवारीहरुलाई लक्षित गरी धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र शाही आफै फिल्डमा खटिएका छन् ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आवत जावत गर्ने सवारीहरुको छड्के चेकजाँच गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।  पृथ्वी राजमार्ग हुँदै काठमाडौँ प्रवेश गर्दा र काठमाडौबाट बाहिरिँदा नौबिसे नागढुंगा सडकमा पहिरोको जोखिम रहेको र वैकल्पिक सडक प्रयोग गर्नु परेको भन्दै बस तथा माइक्रोहरुले यात्रुहरुहरूसँग बढी भाडा असुल्ने गतिविधि नियन्त्रण गर्न पृथ्वी राजमार्ग अन्तरगत जिल्लाको विभिन्न ठाउँमा चेकपोष्ट राखेर छड्के चेकजाँच गरिरहेको छ ।