६ खेलाडीको निधनप्रति फिफा अध्यक्षद्वारा दुःख व्यक्त


हेटौँडा। 

मकवानपुरको सिस्नेरी–३ मा असोज १२ को पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीमा प्रशिक्षणरत् ६ खेलाडीको निधनप्रति फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले दुःख व्यक्त गरेका छन् ।

इन्फेन्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पठाएको पत्रमा सिस्नेरी पहिरोमा ज्यान गुमाएका वडा–३ स्थित बत्सलादेवी माविमा अध्ययन र प्रशिक्षणरत् खेलाडीहरुको निधनप्रति दुःख व्यक्त गरेका हुन् । उनले नेपाल भ्रमण गर्ने जानकारी गराएका छन् । इन्फेन्टिनोले यस महिना नेपाल भ्रमण गर्ने कार्यक्रम सिस्नेरी पहिरोको घटनापश्चात् रद्ध गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा रहेका ४० खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो । ती विद्यार्थी खेलाडीमा हेटौँडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकी छन् । उनीहरुको निधनको शोकमा मकवानपुरका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएका छन् । 

अविरल वर्षाका कारण सिस्नेरीमा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका ३ खेलाडीका परिवारलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएको छ ।

प्रजिअ चिलुवालले प्रतिमृतकका परिवारलाई २ लाख रुपियाँको चेक हस्तान्तरण गरेका थिए । हेटौँडा उपमहानगरपालिका–१२ का मृतक अनुपम घलानका बाबु ललित घलानलाई २ लाख रुपियाँ प्रजिअ चिलुवालले हस्तारन्तरण गरेका थिए । घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुन् ।

मकवानपुरगढी–४ का मृतक योञ्जनका बाबु हेमबहादुर योञ्जनलाई पनि प्रजिअ चिलुवालले २ लाख रुपियाँ हस्तान्तरण गरेका थिए । 

मकवानपुरको सिस्नेरी टेकरका बानियाँको परिवारलाई शुक्रबार सिस्नेरीस्थित घरमा गएर  राहत हस्तान्तरण गरिएको थियो ।

इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यु–१४ क्याम्पका ४० खेलाडीमध्ये ६ जनाले पहिरोमा परेर ज्यान गुमाएका थिए । अविरल वर्षासँगै करिब ३१ वर्षपछि कुलेखानी जलविद्युत् आयोजनाको बाँधको ढोका खोल्दा सिस्नेरी खोलाको जलसतह बढेको थियो । खोलाको सतह बढेसँगै खेलाडीलाई सुरक्षित स्थानतर्फ सार्ने क्रममा पहिरोमा परेको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले बताए । सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई काठमाडौं लगिएको थियो । उद्धार गरिएका ३४ मध्ये ३० जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।

फुटबल संघ मकवानपुरका पूर्वउपाध्यक्ष सुबिन घिमिरेले ‘भिजनलेस प्रोजेक्ट’ र लापरबाहीका कारण खेलाडीहरुले ज्यान गुमाउनुपरेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘एन्फाप्रति विश्वास र भरोसा गरी सिस्नेरीमा सञ्चालन गरिएको फुटबल एकेडेमीमा उनीहरु पुगे । सायद एन्फाले सञ्चालन गर्ने स्तरको थिएन । तर, विश्वासले गए,’ उनले भने।

एन्फाले पूर्णअध्ययनबिना खोलाकिनारमा एकेडेमी सञ्चालनको निर्णय गरेको आरोप छ । जसले गर्दा दुर्घटना भएको भन्दै एन्फाको विरोध जारी छ । जेठबाट सुरु एकेडेमी निर्माणमा दूरदर्शिता नअपनाउँदा अप्रिय घटना घटेको हो । एकेडेमीमा तोकिए भन्दै धेरै खेलाडी राखिएको, प्रारम्भिक छनौटमा नपरेका खेलाडीको बाहुल्यता रहेको, सामान्य प्राथमिक उपचार केन्द्र नरहेको र खेलाडीहरुको वीमा नभएको बुझिएको छ ।

खेलाडीका आफन्तले एन्फाको लापरबाहीका कारण खेलाडीले ज्यान गुमाउनुपरेको आरोप लगाएका छन् । जिल्ला, प्रदेश र केन्द्रीयस्तरबाट छनौट भएका कति जना खेलाडी एकेडेमीमा राखिए ? स्थानीयस्तरबाट कति जना र अन्य स्तरबाट एन्फा एकेडेमीमा कसरी खेलाडी राखिए, पैसा लिएर एकेडेमीमा खेलाडी राखिएको भनिएको घटना कसरी भयो र मृतकका परिवारसँग के कस्तो सम्झौता थियो भन्ने विषय सार्वजनिक गर्न भनिएको छ ।

उक्त विद्यालयमा एकेडेमी सञ्चालनबारे २०८० चैत ३० गते सम्झौता भएको थियो । फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ १३ वर्षमुनिका ३० पुरुष खेलाडीलाई विद्यालयमा प्रशिक्षणमा राख्न सहमतिपत्रमा हस्ताक्षर भएको थियो । एन्फा अध्यक्ष नेम्वाङको उपस्थितिमा महासचिव किरण राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले सहमतिपत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।

पहिरोमा ज्यान गुमाएका एकेडेमीका ६ खेलाडीको सम्बन्धमा छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्न एन्फा अध्यक्ष नेम्वाङलाई लाई पत्र लेख्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आपत्कालीन बैठक बोलाउन माग गरेका छन् । खड्काले छानबिन समिति बनाएर घटनाको सत्यतथ्य सार्वजनिक गर्न एन्फालाई दबाब दिएका हुन् । 

घटनापछि छानबिन समिति बनाइ सत्यतथ्य जानकारी गराउनु आवश्यक भएकाले तत्काल बैठक बसी निर्णय गर्न एन्फाको विधानबमोजिम कार्यसमितिको आपत्कालीन बैठकका लागि उनले अनुरोध गरेका छन् ।