साढे ११ करोडको अवैध सुन बरामद


हेटौंडा ।

पैतालामा लुकाएर ल्याइँदै गरेको करिब ६७ लाखको अवैध सुन बरामद गरेको एक साता नबित्दै मकवानपुर प्रहरीले करिब साढे ११ करोडको अवैध सुन बरामद गरेको छ ।

नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा हेटौंडामा अवैध सुन अनेक उपाय अपनाएर भित्र्याउने क्रम बढेपछि प्रहरी चनाखो भएको छ । मकवानपुर प्रहरीले शनिबार विहान ११ करोड बढीको अवैध सुनसहित हेटौंडामा २ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले पूर्वपश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपियाँको अवैध सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघङ्ची थाना पुजारबाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार विहान करिब ३ बजे बाराको पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बर स्कुटर चेक गर्दा सुन बरामद गरिएको हो । स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट बिस्कुट आकारका ८ वटा (तौल गर्दा ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम) सुन बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का नेतृत्वको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

गत मंगलबार जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१५, रातोमाटे चेकपोष्टबाट एक भारतीयलाई सुनसहित पक्राउ गरेको थियो । विहान करिब १० बजे वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको वा.प्र.०३–००१ ज ६९६ नम्बर यात्रुबाहक ईभी माइक्रो चेक गर्दा उक्त माइक्रोका यात्री भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ का सुजित सर्राफलाई पक्राउ गरिएको थियो ।

उनलाई शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा खुट्टाको पैतालामा टेपले बेरेर लुकाइराखेको सुनको बिस्कुटको आकारका टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी ४ सय ९० ग्राम ८ सय ८० मिलिग्राम (करिब ६७ लाख ३४ हजार ५ सय ४४ रुपियाँ मूल्य बराबर) को सुन फेला परेको थियो । उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको थियो ।