प्रिमियरपछि रिलिजमा मन पराइयो बेहुली फ्रम मेघौली


काठमाडौं ।

फिल्म बेहुली फ्रम मेघौली भक्तपुरको क्यूएफएक्स हलमा भव्य प्रिमियर गरी रिलिजमा आएको छ। अभिनेता तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काद्वारा निर्मित तथा अभिनित फिल्म बुधबार राति प्रिमियर गरी घटस्थापनको दिन पारी बिहीबारबाट रिलिजमा आएको हो।

प्रिमियर शो समारोहमा नायिका खड्का ट्रयाक्टर हाँकेर हलमा पुग्दा सबै रमाएका थिए। फिल्मले हेर्नेहरुले यसलाई मन पराएका छन्। फिल्मले देशभरका हलमा ३ सय ३५ शो पायो। फिल्मले राम्रो ओपनिङ पनि गरेको छ।

नेपाली समाजमा विद्यमान बिबाह संस्कार र पद्धतिमाथि आधारित फिल्ममा उमेरले ३० पुगेकी युवतीलाई योग्य वर पाउन हुन सकस र संघर्षको कथा बुनिएको छ। भ्रामरी दशाको कारण परिवार छोरीको बिबाह ३० वर्षको उमेरभित्रै गर्नुपर्ने दबाब तथा योग्य वर पाउन परिवार र युवतीले गरेको संघर्षको रोचक कथा यसमा छ।

सोसल ड्रामाको फिल्ममा निश्चल र स्वस्तिमाका साथमा विजय बराल, बसुन्धरा भुषाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मीलगायतले अभिनय गरेका छन्।

साजन काफ्ले र आकाश बरालद्वारा संयुक्तरूपमा निर्देशित फिल्ममा लेखन पनि उनीहरूकै छ भने संगीत जयन जे वाइबा, स्वर कालिप्रसाद बासकोटा, कुशल पोखरेल, इन्द्रकला राई र बबिना किराँती, छायांकन निर्देशन नरेन्द्र मैनाली र सम्पादन निमेश श्रेष्ठको रहेको छ।

फिल्म ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्स्को ब्यानरमा निश्चल बस्नेत र स्वस्तिमा खड्काले निर्माण गरेका हुन्। फिल्ममा फिरोज खड्का र शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।