बुसान फेस्टिवलमा नेपाली कलाकार


काठमाडौं ।

दक्षिण कोरीयामा जारी २९औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपालको तर्फबाट फिल्म पुजा सर छनोट भएको छ।
योसँगै बुधबार बेलुका फेस्टिवलको रेड कार्पेटमा यस फिल्मका निर्मँता तथा कलाकारहरु रेड कार्पेटमा सहभागी भएका छन्।

फिल्मका निर्माता रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरु आशा मगराती, निकिता चाण्डक, पशुपति राईले रेड कार्पेट नापेका छन्। अ विन्डो अन एसियन सिनेमाका लागि छानिएको पुजा सरका निर्देशक दीपक रौनियार हुन्। गाउँ आएको बाटोपछि दयाहाङ र पशुपतिको यो लगातार दोस्रो पटकको बुसान सहभागिता हो।

यस वर्षको मानार्थ एसियाली फिल्ममेकरको अवार्ड प्रसिद्ध जापानी फिल्ममेकर कियोशी कुरोसावालाई प्रदान गरिएको छ। मंगलबारको ओपनिङ समारोहमा चर्चित कोरियन सिरिज स्क्विड गेमका कलाकार लि जुङ जेलगायतका सेलिब्रेटीको सहभागीता रहेको थियो।

यस वर्षको संस्करणको थिम भिजन अफ एसिया, ओसन अफ सिनेमा रहेको छ। फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी पनि सहभागी हुनेछन्। उनले त्यहाँ नेपाललाई छायांकन गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने जनाएका छन्।