पार्कर दिनेश अमेरिकन एकेडेमीको एम्बेस्डर


काठमाडौं ।

अभूतपूर्व ढंगले स्टन्टका साथ अपत्यारिलो जिम्न्यास्टिक कला प्रदर्शन गरी थुप्रै फिल्मका खलनायकलाई पछार्दै आएका पार्कर खेलाडी दिनेश सुनार अमेरिकन पार्कर एकेडेमीको एम्बेसडर भएका छन्।

पार्कर खेलमा आफ्नै रेकर्ड तोड्दै १८औँ विश्वकीर्तिमान पूरा गरी १९औँ विश्वकीर्तिमान एटेम्ट् गरेका सुनारलाई अमेरिकाको पार्कर एकेडेमीले एम्बेसडर नियुक्त गरेको हो। उनलाई एकेडेमीका फाउन्डर मार्क टुरोकले एम्बेसडर नियुक्त गरेका हुन्।

‘चार वर्षको अथक परिश्रम, लगनशीलता र अठोटको फल मिलेको छ। संयुक्त राज्य अमेरिका र नेपालमा पार्करको विकास, प्रवद्र्धन र प्रदर्शन गर्ने मेरो प्रयासले सकारात्मक प्रभाव पारेको छ, संस्कृतिलाई कम गरेको छ र युवाहरूलाई प्रेरित गरेको छ’ एम्बेसडर नियुक्त भएपछि उनको भनाई छ ‘अमेरिकन पार्कर एकेडेमीबाट अपोइन्टमेन्ट प्राप्त गरेपछि पार्करलाई विश्वव्यापी रूपमा लिने मेरो जुनूनलाई बढावा दिएको छ। मेरो अर्को अध्याय न्यूयोर्कमा पार्कर एकेडेमी खोल्नु र डिजिटल प्लेटफर्ममार्फत पार्कर प्रेमलाई विश्वव्यापी रूपमा फैलाउनु रहेको छ।’

अन्तर्राष्ट्रिय पार्कर र राष्ट्रिय जिम्न्यास्टिक खेलाडी रहेका सुनार पार्कर खेलकै माध्यमले फिल्ममा समेत छाएका छन्। हवल्दार सुन्तली, किस्मत टु, कोइलाजस्ता थुप्रै नेपाली फिल्मका साथ दशका दमलगायतका बलिउड फिल्म विभिन्न कलाकारका लागि पार्कर कलाको साहसिक स्टन्ट प्रदर्शन गर्दै आएका दिनेश खेलकुद क्षेत्रको एक लोकप्रिय व्यक्तित्वको रूपमा आफ्ना असाधारण सीप प्रदर्शन गर्दै थुप्रै टेलिभिजन विज्ञापनमा चित्रित भएका छन्।