शिक्षा मन्त्रालयका ७ सहसचिवसहित २ सय २५ कर्मचारीको एकैपटक सरुवा

महत्वपूर्ण शाखा नै खाली

4.51k
Shares

–कर्मचारी शिक्षाको, सरुवा रक्षा र सूचना मन्त्रालयअन्तर्गत
–केही सहसचिवलाई पेलेर सरुवा गरेको आरोप
–मन्त्रालयको तर्क २ वर्ष पूरा भएकालाई सरुवा
–६ महिना पनि नकटेका कर्मचारीको सरुवा
–तालुकदार मन्त्रालयसँग सहमति नलिई सरुवा

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महत्वपूर्ण शाखा खाली गराएर सरुवा गरेको पाइएको छ । मन्त्री विद्या भट्टराईले संस्थागत संरचना र व्यावहारिकता ख्यालै नगरी सरुवा गरेको आरोप लागेको छ।
केन्द्रको बजेट तथा योजनाको उपसचिव अर्जुन ढकाल, अधिकृतद्वय मुक्ता पोखरेल र प्रकाश खरेल सरुवा भएका छन्।

केन्द्रको मुख्य शाखाका रूपमा रहेको योजनामा अहिले कोही पनि कर्मचारी छैनन् । त्यस्तै, तथ्यांक शाखा (इमिस) का प्रमुख रामचन्द्र शर्मा तिमल्सिनालाई पनि सरुवा गरेको छ। इमिस शाखाले देशैभरका विद्यालय, विद्यार्थीलगायतको तथ्यांक राख्ने निकाय हो । सो शाखा पनि तत्काल रिक्त भएको छ।

मन्त्रालयले केन्द्रको अधिकारसमेत हस्तक्षेप गरी प्राविधिक सहायक र नायब सुब्बासमेतलाई सरुवा गरेको छ। ती कर्मचारीको सरुवा गर्ने अधिकार केन्द्रलाई नै हुने व्यवस्था छ । मन्त्रालयले ७ सहसचिवसहित २ सय २५ जनालाई एकैपटक सरुवा गरेको हो। मन्त्रालयले दुई वर्ष वा सोभन्दा बढी समय एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवा गरेको दाबी गरेको छ।

वैशाख १० देवदह नगरपालिकाबाट सहमति लिएर चिकित्सा शिक्षा आयोगमा सरुवा भएका उपसचिव टीकाराम शर्मालाई ६ महिना बित्न नपाउँदै राष्ट्रिय परीक्षा बोर्डमा सरुवा गरेको छ । शर्मालाई सरुवा गर्नुअघि सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिनुपर्छ । तर, शिक्षा मन्त्रालयले पछि सहमति लिने गरी सर्त राखेर सरुवा गरेको हो ।

‘यहाँसम्म कि शिक्षा मन्त्रालयका कर्मचारीलाई रक्षा र सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा गरेको पाइएको छ, फरक मन्त्रालय सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने बाध्यकारी व्यवस्था छ, सो व्यवस्था उल्लंघन गर्दै शिक्षाका कर्मचारीलाई फरक मन्त्रालयमा सरुवा गरिएको छ’ – उच्च अधिकारीको भनाइ छ। त्यस्तै, पाठ्यक्रम विकास केन्द्रमा सामाजिक, गणित, अंग्रेजी, विज्ञान, नेपालीलगायत विषयगत विज्ञलाई समेत सरुवा गरेको छ।

२ सय १८ उपसचिव, अधिकृत र नायब सुब्बा सरुवा गरेको केही दिनअघि सात सहसचिवको सरुवा गरेको थियो । शिक्षा मन्त्रालयअन्तर्गत १४ सहसचिवमध्ये एकैपटक ७ सहसचिवलाई सरुवा गरेको हो । मन्त्रालयका अनुसार शिक्षक सेवा आयोगका सहसचिव शिवकुमार सापकोटालाई मन्त्रालयको योजना महाशाखामा सरुवा गरेको छ ।

योजनाका वैकुण्ठ अर्याललाई मन्त्रालयकै उच्चशिक्षा महाशाखामा सरुवा गरेको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अणप्रसाद न्यौपानेलाई मन्त्रालयको प्राविधिक महाशाखामा सरुवा गरिएको छ । न्यौपानेको ठाउँमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका वसन्त कोइरालालाई सरुवा गरिएको छ। वरिष्ठतम सहसचिव न्यौपालेलाई मन्त्रालयमा सरुवा गरेको हो।
मन्त्रालयको प्राविधिक महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईलाई शिक्षक सेवा आयोग, शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) का महानिर्देशक चन्द्रकान्त भुसाललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, जयराम अधिकारीलाई ईआरओमा सरुवा गरिएको छ ।

मन्त्रालयले चिकित्सा शिक्षा आयोगका सदस्यसचिव एवं सहसचिव कृष्णप्रसाद काप्री, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ, विद्यालय शिक्षक किताबखानाका महानिर्देशक युवराज पौडेल र केन्द्रका उपमहानिर्देशक महेन्द्र्र पराजुली, मन्त्रालयका विद्यालय शिक्षा महाशाखाका लक्ष्मीप्रसाद भट्टराईलाई यथावत् राखेको छ।

हाल सरुवा भएका कर्मचारी कहिले हाजिर हुन आउने हो भन्नेबारे जानकारी छैन। यसअघि तत्कालीन मन्त्री सुमना श्रेष्ठले सरुवा गरेका कर्मचारीलाई सरुवा भएर गएको कार्यालयमा पठाउन नसक्नुभएकी मन्त्री भट्टराईले हालसालै सरुवा भएका कर्मचारीलाई कसरी सरुवा भएको कार्यालयमा पठाउनहुन्छ भन्ने विषय अन्योल देखिएको कर्मचारीले बताउने गरेका छन्।