रोशी खोलाको बाढी प्रभावितलाई सहयोग जुट्न थाल्यो

0
Shares

सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाका बाढी प्रभावितहरुलाई राहत तथा सहयोग जुट्न थालेको छ ।

गएको असोज ११ र १२ गते परेको घनघोर बर्षाका कारण रोशी खोला र सुनकोशी नदीमा आएको भीषण बाढीले घरखेत बगाएका बाढी प्रभावितहरुलाई राहत, पुनःनिर्माण र पुनस्थापनाका लागि विभिन्न निकायहरुले सहयोग गर्न थालेका हुन् ।


सुनकोशी गाउँपालिकाले गएको असोज १५ गते मंगलवार सुचना निकालेर बाढी प्रभावितहरुलाई राहत, पुननिर्माण र पुनस्थापनाको लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो । बाढीका कारण स्थानिय नागरिकको धेरै क्षति भई राहत, पुननिर्माण र पुनस्थापनामा कठिन परिस्थिती रहेको भन्दै गाउँपालिकाले बाढी प्रभावितहरुलाई सहयोग गर्न आग्रह गरेपछि जिल्लाका स्थानिय तह, संघसंस्था र सहयोगी भावना भएका व्यक्तिहरुले नगद तथा जिन्सी सामान सहयोग गर्न थालेका छन् ।


बिहीवार आज दुधौली नगरपालिकाले बाढी प्रभावितहरुको लागि ५ लाख रुपैयाँ नगद, ४ सय लिटर डिजेल र सडक सफा गर्नको लागि वारुण यन्त्र सहयोग गरेको छ । मरिण गाउँपालिकाले पनि बिहीवार नै बाढी प्रभावितहरुको लागि ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी, उपमेयर चन्द्र्रकिशोर थारु र मरिण गाउँपालिकाका अ्रध्यक्ष विमर्श मुक्तान,उपाध्यक्ष बिमला माझी सहितको जनप्रतिनिधिहरुले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।


बिहीवार नै राजन विष्टले व्यक्तिगत १० हजार रुपैयाँ सहयोग दिनुभएको सुनकोशी गाउँपालिकाले जनाएको छ । बुधवार हिजो नेकपा (माओवादी केन्द्र) सिन्धुलीले स्थापना गरेको जनसेवा फाण्डेनसले सुनकोशी गाउ्रँपालिकाका बाढी प्रभावितहरुको निम्ती ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।


फाउण्डेसनले दिएको सहयोग रकमको चेक प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाललाई हस्तान्तरण गर्नुभएको छ । फाउण्डेसनले गोलन्जोर गाउँपालिकाको खुर्कोटका सुनकोशी बाढी प्रभावितहरुलाई पनि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

प्राप्त भएको सहयोगहरु एकद्धार प्रणालीमा पालिकाको विपद् प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेर बाढी प्रभावितहरुको राहत, पुनःनिर्माण र पुनस्थापनामा लगानी गरिने सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताए ।