विपन्न पचास परिवारलाई सहयोग

376
Shares

उदयपुर ।

चाडपर्व नजिकिदै जाँदा दुई छाक टार्नसमेत धौँ–धौँ परेका उदयपुरको त्रियुगा नगरपालिका १० का ५० घर विपन्न परिवारलाई १० वडा कार्यालयले राहत उपलब्ध गराइएको छ । 

पर्वको अवसरमा वडा कार्यालयले आयोजना गरेको शुभकामना आदानप्रदान तथा विपन्न वर्गलाई राहत वितरण कार्यक्रममा उनीहरुलाई खाद्यन्न सामग्री उपलब्ध गराईएको हो ।


चाडपर्वमा कोही पनि भोकै बस्नु नपरोस भन्ने हेतुले टोल विकास समितिको सिफारिसमा अतिविपन्न परिवारलाई चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न सामग्री उपलब्ध गराईएको वडाध्यक्ष किरण पाण्डेले बताए । उनले भने, ‘चाडपर्वमा छिमेकमा भोजभतेर हुन्छ, त्यहीँ पल्लो घर जो शारिरीकरुपले अशक्त छ, केहि गर्न सक्दैन अरुकै सहरामा बाँच्नु पर्ने हुन्छ त्यस्ता व्यक्तिलाई दशै मनाउन राहत उपलब्ध गराएका हौ ।’


विपन्न परिवारलाई राहत वितरण गर्दै मेयर बसन्तकुमार बस्नेतले ‘जनताको चाहाना अनुसार काम हुन नसकेपनि आधारभूत आवश्यकता पुर्ति गर्न नगरपालिका कहिले नचुकेको उनले बताए । दुई छाक गर्जो टार्न नसक्नेहरुलाई राहतले ठुलो सहयोग पुग्ने बताउँदै उनले भने, ‘यो अढाई बर्षको अवधिमा नगरपालिकामा विकास निर्माण र मानविय विकासले ठुलै फड्को मारेको छ, यधपि जनताका चाहाना अझै पुरा हुन बाँकी छन्, जसको बिषयमा निरन्तर चिन्तित छौं ।’


उनले मानविय हितलाई ध्यानमा राखी नगरपालिकाले मानविय विकास, दुःखमा परेकाहरुलाई साथसहयोग, शिक्षा, स्वास्थ्य, निःशुल्क एम्बुलेन्स र रगत उपलब्ध, घर निर्माणमा जस्ता कार्यमा सहयोग गरेको बताए । कार्यक्रममा उपमेयर महेश्वरी राईले मानविक विकासका लागि नगरपालिकाले दीर्घकालिन र अल्पकालिन गरेर योजना निर्माण गरेको बताईन् । उनले भनिन्, ‘यो राहत वितरण अल्पकालिन हो, राहत सधैका लागि हैन र त्यो बुझ्न पनि हुन्न, तत्कालको परिवेश अनुसार जीवन धान्नै गार्हो भएको परिस्थितिमा सरकारले आफ्नो उपस्थिति देखाएको मात्र हो, यसको दिगो समाधानका लागि हाम्रो योजना छ ।’


वडाध्यक्ष पाण्डेले आफ्नो वडाका कोही पनि व्यक्ति दशैमा खाने चामल नभएर भोकै र अरुको आश गरेर बस्नु पर्ने अवश्था हुन नदिने बताए । ‘पहिलो चरणमा आएका सबैलाई राहत उपलब्ध गराएका छौ,’ वडाध्यक्ष पाण्डेले भने, ‘यदि कोही त्यस्ता व्यक्ति जसलाई कसैको नजर पुगेको छैन भने खोजेर पुनः उपलब्ध गराईने छ ।’ कार्यक्रममा मेयरकप सांस्कृति प्रतियोगिताका विजेता र सहभागित हुने वडानं १० का बालबालिकालाई मेयर, उपमेयर र वडाध्यक्षले पुरस्कार वितरण गर्दै सम्मान गरेका थिए ।