भौतिक मन्त्रालयले भन्यो- दशैं अगाडि वीपी राजमार्ग खुल्दैन


काठमाडौँ।

भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ ।बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले वीपी राजमार्ग दशैं अगाडि खुल्ने अवस्था नरहेको जानकारी दिएका हुन्।

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार सचिव शर्माले निरीक्षणसमेत गरेर आएको जानकारी गराउदै दशैं अगाडि खुल्ने अवस्था सम्भावना नरहेको बताएका हुन्।

वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन ।

त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ ।

सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्छ । उनले भने, ‘अस्थायी रुपमा पनि यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन ।’

सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु वीपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको थियो । ‘तर त्यो साह्रै घुमाउने हुने भयो’, उनले भने, ।

सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको उनले बताए । सचिव शर्माले भने, ‘अहिलेका लागि विकल्प यो छ ।’

पूर्व जाने गाडीहरुका लागि कान्ति राजपथ र दक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए । ‘यो बाटोबाट हेटौंडा र त्यहाँबाट भिमान जान सकिन्छ । सिन्धुली एक्लिएर अन्यत्र जाँदा भयो ।’ सचिव शर्माले भने।

भोलि वा पर्सिसम्म कान्ति राजपथ र दक्षिणकाली छैमले सडक सञ्चालन गर्ने प्रयासका साथ काम भइरहेको उनले बताए ।उनका अनुसार काठमाडौंबाट नौबिसे हुँदै हेटौंडा जाने बाइरोडको बाटो पनि सञ्चालनमा छ । त्यस्तै थानकोट –चित्लाङ भएर पनि हेटौंडा जान सकिन्छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि वीपी राजमार्गमा अलपत्र गरेका गाडीहरुलाई भने कुनै उपाय लगाएर दशैं अगाडि नै सिन्धुली वा काठमाडौं ल्याउने विकल्पमा काम गर्ने जानकारी दिए ।