हेफरमार्फत सामूहिक बङ्गुरपालन

1.41k
Shares

स्याङ्जा ।


रोजगारी सिर्जना, समुदायको आयस्तर वृद्धि र स्थानीय बजारमा मासुको आयात घटाउन जिल्लाको कालीगण्डकीका किसानहरुले बङ्गुरपालन सुरु गरेका छन् । यहाँको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन् ।

फार्ममा ४० जनाभन्दा धेरै कृषक आबद्ध रहेका छन् । बङ्गुरपालनको माध्यमबाट रोजगारीको अवसरका साथै आयआर्जनमा समेत सघाउ पुगेको हेफर प्रोजेक्टका फोकल पर्सन दिपक विकले बताउनुभयो । समुहमा आबद्ध सदस्यले आलोपालो गरेर बङ्गुरको स्याहारसुसार गर्ने र आम्दानी पनि समानरुपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । फार्ममा ४० वटा बङ्गुरका पाठापाठी पालिएका छन् ।


बङ्गुर फार्म स्थापना गर्न २५ लाखको हाराहारीमा लगानी भएको छ । विसं २०७७ मा २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो । स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बङ्गुर मरेपछि लगानी डुब्ने डरले बङ्गुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बङ्गुरपालन सुरु भएको बताउनुभयो ।


स्थानीय युवालाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यसहित सामूहिक रुपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिनुभयो । “विदेश जान लाग्नुभएका श्रीमान्लाई गाउँमै रोकेकी छु । फार्मका बङ्गुर राम्रै भएका छन्”, उहाँले भन्नुभयो, “बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक ४ हजार ५ सय भाडा तिर्नुपर्छ । एक परिवारले पाँचवटासम्म माउ बङ्गुर राखेका छन् । पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ ।” रानाले बङ्गुर पाल्न सके बजारको समस्या नहुने बताउनुभयो । “यहाँ धार्नीलाई नौ सय छ । गाउँमा बङ्गुर काट्दा मासु खोसाखोस हुन्छ । पाल्न सके बङ्गुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्”, उहाँले भन्नुभयो ।


कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालले कृषि तथा पशुपालनको माध्यमबाट गरिबी निवारण गर्ने र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । संस्थाका कालीगण्डकी प्रमुख दीपक विश्वकर्माले गाउँपालिकाको २ करोड ४५ लाख र हेफरको १ करोड ५ लाखमा कृषि तथा पशुपालनका क्षेत्रमा काम भइरहेको बताउनुभयो । गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा विसं २०७९ चैत १७ गते यो आयोजना सुरु भएको थियो ।

“हालसम्म १ सय २४ वटा साना खोर तथा बङ्गुर र बाख्राका तीन–तीनवटा नमूना खोर निर्माण गरेका छौँ । २ सय ३० वटा बीउ बाख्रा र बीउका लागि १ सय ७० वटा बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, विश्वकर्माले भन्नुभयो । यसैगरी १२ वटा भैँसी र तीनवटा गाई खरिदमा ४० हजार अनुदान, नश्ल सुधारका लागि २९ वटा समूहमा बोका वितरण, २७ वटा भकारो निर्माण, साझेदार फार्म तथा व्यक्तिका लागि १५ वटा चापकटर र १० किलो काँटा वितरण, मिर्मीमा डेरी स्थापनाका लागि ७ लाख अनुदान, बेल्टारीमा घाँस स्रोत केन्द्र स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।