चिकित्सक संघको चौंथो राष्ट्रिय स्वास्थ्य सम्मेलनको मंसिर २८ मा


काठमाडौँ।

नेपाल चिकित्सक संघ (एनएमए)को आयोजनामा हुँदै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको चौथो संस्करण आगामी २८ र २९ मंसिरमा हुने भएको छ । एनएमएले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

एनएमएको वार्षिक इभेन्टको रुपमा आयोजना हुँदै आएको एनएमए नेशनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिइएको महासचिव डा सञ्जीव तिवारीले बताए ।

‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मूल सन्देशसहित यस वर्ष यो दुई दिने सम्मेलन कार्की व्यांकेटमा हुनेछ । एनएमएको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम यो इभेन्टको आयोजना हुन लागेको हो,’ डा. तिवारीले भने ।

डा तिवारीका अनुसार सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको छ।

उक्त कार्यक्रम विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्ष मार्फत सैद्धान्तिक बहससहित आयोजना हुन गईरहेको उनले जानकारी दिए।

उक्त सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि उनले जानकारी दिए।

एनएमएका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य अनुसन्धानका विषयलाई उजागर गर्न तथा नीतिगत रुपमा राज्यलाई सुझाव पेश गर्न सम्मेलन महत्वपूर्ण कडी हुने बताए । उनले विगतका सम्मेलनले दिएका सुझावहरुको विषयमा समेत समीक्षा गर्दै यसलाई थप परिस्कृत गराएर लैजाने बताए ।