बिर्सने रोग डेमेन्टिया बुझाउँदै सरोज खनाल


काठमाडौं ।

डेमेन्टिया/अल्जाइमर नामका बिर्सने रोग आज नेपाललगायत विश्वकै घरघरमा प्रायः हरेकजसो वृद्धवृद्दामा देखिने एउटा डरलाग्दो समस्याको रूपमा देखिन थालेको छ।

यो रोगबाट पीडित ब्यक्तिमा देखिने लक्षणहरु के–कस्ता हुन्छन् भन्नेबारे जनचेतना जगाउने उद्देश्यले कान्छा बा नामक म्युजिकल भिडियो तयार पारी सार्वजनिक गरिएको छ।

गीतकार तथा मुक्तककार सुवासचन्द्र ढुंगेलको गीत कान्छा बा म्युजिकल भिडियोका रुपमा हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। गायक पुष्पन प्रधानद्वारा स्वरवद्व गीतमा संकेत अगस्तीको संगीत र सञ्जिव बराइलीको संगीत संयोजन रहेको छ। डिमेन्सिया रोगबाट ग्रसित जेष्ठ नागरिकप्रति समर्पित गीतको भिडियो कथाकन रुपमा तयार पारिएको छ।

८ मिनेटभन्दा लामो भिडियोमा सरोज खनालले डिमेन्सिया रोगबाट ग्रसित वृद्धको रुपम जीवन्त अभिनय गरेका छन्। एकातिर हिँडी उनी अर्कैतिर पुग्न थाले, आफ्नो नाउँ बिर्सिए रे माझघरे कान्छा बाले जस्ता गीतका शव्दले यसको कथानक अवस्था दर्शाउँछ।

म्युजिकल भिडियोमा कान्छा बा (सरोज खनाल) हिँडेको र हिँड्न पर्ने बाटो बिर्सन थाल्छन्। आफ्नालाई पराई ठान्छन्, पराईलाई आफ्नो। आफ्नोलाई नकार्छन्, पराईलाई सकार्छन्। घर चिन्न छोड्छन्, ठाउँ चिन्न छोड्छन्, हराउन थाल्छन्। भतिज सूचना टाँसेर कान्छा बा खौज्दै हिँड्छन्। उनी भेटिन्छन्, भेटिन्नन् थाहा हुँदैन। जसले म्युजिकल भिडियोको दोस्रो भाग पनि बन्ने जनाउँदछ।

अंग्रेजी भाषामा सब टाइटल राखिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने सरोज खनालका साथमा कमल सिंह, मिसेल घिमिरे, सिरभ अगस्ती, प्रीति तामाङ, मणीकुमार राई, रमेश पराजुली, बालकलाकार श्रेयन्स तामाङलगायतले अभिनय गरेका छन्।

म्युजिकल भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदार भक्त माथेमाले गीत फरकधारको रहेको र विश्वका वैज्ञानिक तथा राजनेतालाई यो रोग लागेको चर्चा गरे। संगीतकार दीपक जंगमले गीतबारे चर्चा गरे भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले यस्तो गीत आउनु स्वागत योग भएको बताइन्।

जेष्ठ नागरिक आश्रम भक्तपुरकी कल्पना बोएजुले डिमेन्सिया भएका बा–आमाको रेखदेख गर्दै आएको र यो रोगका बिरामीलाई माया गर्नु दायित्व भएको बताइन्। म्युजिक भिडियोका मुख्य कलाकार सरोज खनालले मन छुने भिडियोमा काम गर्न पाउँदा खुशी व्यक्त गरे।

‘अमेरिकाबाट आउने बित्तिकै गीतकार ढुंगेलको गीत छोरी अन्माउँदामा गरेको थिएँ। यो गीतमा अभिनय गर्ने कुरा आउँदा कान्छी आमा र मामालाई सम्झिएँ र तुरुन्तै काम गर्न सहमति जनाएँ’ खनालले भने।