हजारौं पीडित राहत र पुनःस्थापनाको अभावमा छट्पटाउँदै


काठमाडौं ।

असोज ११ र १२ गते आएको विनाशकारी बाढीपहिरोमा परी पीडित भएका २१ जिल्लाका हजारांै प्रभावित राहत र पुनःस्थापनाको पर्खाइमा छट्पटाउँदै दिन बिताउन विवश बनिरहेका छन्।

बाढीपहिरोमा परी कैयौंले आफन्त गुमाएका छन्, कैयौंले घरवास गुमाएका छन्। आफन्तजन र घरवासको अभावमा उनीहरूले यतिखेर आफ्नै देशमा अनागरिक भएको अनुभूति गर्न बाध्य भइइरहेको बाढी प्रभावित क्षेत्रका हाम्रा संवाददाताहरूले बताएका छन्।

संवाददाताहरूसँग पीडितहरूको गुनासो हुने गरेको छ– ‘खै कहाँ छ सरकार, खै हामीलाई उचित राहत र राम्रो वासको व्यवस्था ?’ आफ्नै आँखाअघि खण्डहर बनेका घरहरू हेर्दै पीडितहरू भक्कानिने गरेका छन् । एकातिर आफन्त गुमाउनुपरेको चोट अर्कोतर्फ घरवास गुमाउनुपरेको पीडा । पीडैपीडामा बस्न विवश उनीहरूसमक्ष मलम लगाउन सरकारी टोलीहरू ५ दिनसम्म पुग्न नसकेको हाम्रा संवाददाताहरूले जनाएका छन् ।

‘५ दिन भइसक्यो हामी घरबारविहीन भएको, त्यो दिनदेखि राम्ररी खानसमेत पाएका छैनौं’ –पीडितहरूको भनाइ उद्धृत गर्दै काभ्रे समाचारपत्रकर्मी मोतीराम तिमल्सिनाले भन्नुभयो । तिमल्सिनाका अनुसार काभ्रेमा बाढीपहिरोबाट पीडित बनेका हजारौं स्थानीयको अवस्था विकराल र दयनीय छ । कैयौं गाउँबस्तीहरू अझैसम्म सम्पर्कविहीन छन् सरकारी टोली राहत लिएर ती गाउँबस्तीमा पुग्न नसक्दा हजारौं पीडितहरू भोकभोकै बस्न बाध्य छन् ।

यस्तै, अवस्था सिन्धुली जिल्लामा समेत छ । सिन्धुलीमा पनि कैयौं गाउँबस्तीहरू उजाडिएका छन् । सयौं स्थानीयहरू घरबारविहीन बनेका छन् । सिन्धुलीस्थित हाम्रा समाचारपत्रकर्मी बुद्ध नेपालीले सिन्धुलीमा पनि पहिरोपीडितहरूले निकै कष्टप्रद जीवन बिताउन बाध्य भइरहेको र सरकारी टोली राहत लिएर अझै गाउँसम्म पुग्न नसकेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी बाढीपहिरोबाट भएको हालसम्मको क्षतिको विवरण सार्वजनिक गर्नुभएको थियो। प्रधानमन्त्री आफैंले सार्वजनिक गरेको क्षतिको विवरणमा बाढीपहिरोबाट २१ जिल्लाहरू प्रभावित भएका र सोमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएको जनाउनुभएको थियो। तर, यी अतिप्रभावित जिल्लामा सरकारका टोलीहरू राहत र पुनःस्थापनाका लागि हालसम्म खटिन सकेका छैनन्। केही जिल्लाका सुगम स्थानमा राहत टोलीहरू पुगे पनि विकट र सञ्चार तथा यातायात अवरुद्ध भएका कैयौं बस्तीहरूमा सरकारी उपस्थिति शून्यजस्तै रहेको जिल्लास्थित नेपाल समाचारपत्रकर्मीहरूले बताएका छन्।


विपद्बाट सबैभन्दा बढी प्रभावित भएको काभ्रेका कैयांै गाउँहरू अहिले पनि सम्पर्कविहीन अवस्थामा छन्। केही स्थानीय तहहरूसमेत बाढीपहिरोमा परी हालसम्म काम गर्न सकेका छैनन्। प्रहरी चौकीहरूसमेत सञ्चर विच्छेदको अवस्थामा छन्। यस्तै, अवस्था राजधानी रहेको ललितपुरको विकट गाउँक्षेत्रमा समेत रहेको छ। ललितपुरको बाढीपहिरो प्रभावित विकट गाउँबस्तीमा समेत सरकारी टोलीहरू हालसम्म पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन्। कैयौं व्यक्तिहरू गाउँबाट विस्थापित भएर सहरी क्षेत्रमा आउने क्रम जारी रहेको बताइएको छ।

आफन्त गुमाएका पीडितहरूले २ लाख रुपियाँ प्राप्त गर्ने कानुनी प्रावधान रहे पनि कैयौं गाउँबस्तीमा आफन्त गुमाएका उनीहरूले सो रकम पाउन सकेका छैनन्। यसै गरी घरवास गुमाएकाहरूका लागि १५ हजारदेखि ३० हजारसम्म दिइने प्रावधान रहे पनि सो रकमसमेत कैयौं परिवारले हालसम्म पाउन सकेका छैनन्। सरकारले भने मृतकका परिवालाई राहत रकम वितरण गर्ने कार्य शुरू भइसकेको दाबी गरेको छ।