बाढीपहिरोले २५० विद्यालयमा क्षति, १७ विद्यार्थीको मृत्यु

1.5k
Shares

–मन्त्रालय भन्छ : तथ्काल प्रदेश सरकारले विपद्कोषबाट राहत दिनुपर्छ
–शुक्रवार प्रदेश मन्त्रीसहित सरोकारवालाको बैठक बस्दै

काठमाडौं ।

भारी वर्षापछि आएको बाढी–पहिरोमा परी १७ विद्यार्थीको मृत्यु भएको छ। २ सय सामुदायिक र ५० संस्थागत विद्यालय गरी २ सय ५० विद्यालयमा क्षति पुगेको छ। सबै विद्यालयमा गरी करिब २ लाख ५० हजार विद्यार्थीको पठनपाठन प्रभवित भएको छ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार करिब २ सय विद्यालयमा क्षति पुगेको छ । बुधबार ५ बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको हो।

बुटवलको कालिका मानवज्ञान माविका दिपेश भट्टराई र दीपिका भट्टराईसहित उनीहरूकी आमाको झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएको छ। त्यस्तै, मकवानपुरको इन्द्रसरोवर पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। त्यस्तै, बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत १ छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविका २ जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको छ । काभ्रेपलाञ्चोककै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको मन्त्रालयले जनाएको छ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ माविमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नरगपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परी आफ्नै घरमा मृत्यु भएको छ।

दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कुलमा अध्ययनरत एक विद्यार्थीको घर भत्किँदा मृत्यु भएको विवरणमा उल्लेख छ । बाढीपहिरो तथा डुबानका कारण कोशी प्रदेशको पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, खोटाङ, मधेसको सप्तरी, सिरहा, सर्लाही र पर्सा, वागमतीको मकवानपुर, रसुवा, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र धादिङ, गण्डकीको कास्की, म्याग्दी र वाग्लुङ, लुम्बिनीको गुल्मी, रूपन्देही, दाङ र नवलपरासी पश्चिम, कर्णालीको हुम्ला, जाजरकोट र सुर्खेत, र सुदूरपश्चिमको अछाम र बझाङ जिल्लामा गरी २ सय सामुदायिक र करिब ५० संस्थागत विद्यालयमा क्षति पुगेको हो।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले क्षतिको विवरण केही दिनसम्म दैनिक जारी रहने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘केही जिल्लामा बाटो अवरुद्ध भएका कारण घटनाबारे जानकारी हुन सकेको छैन । मन्त्रालयमा जानकारी पाउनासाथ थप संख्या थपिन सक्नेछ ।’

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले करिब आधा दर्जन विद्यालयमा पूर्ण क्षति भएको हुन सक्ने बताउनुभयो । अधिकांशमा पानी पसेर र कक्षाकोठा हिलाम्य भएर कक्षा सञ्चालन गर्न नसकेको हो । सबैभन्दा बढी काभ्रे र ललितपुर जिल्लाका विद्यालयमा बढी क्षति पुगेको छ । क्षतिको अवस्था अध्ययन गरी पुनर्निर्माण गर्ने काम मन्त्रालयअन्तर्गतको निकाय सीएलपीआईयूले गर्नेछ ।

प्रवक्ता भट्टराईले घटनाको बारेमा विस्तृत जानकारी लिन भोलि शुक्रवार सातवटै प्रदेशका सामाजिक विकासमन्त्री, सचिव, गाउँपालिका महासंघ र नगरपालिका संघका अध्यक्ष, क्षति भएका स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बस्ने भएको छ ।

बैठकपछि बाढीपहिरोबाट भएको सम्पूर्ण विवरण विस्तृतमा पाइनेछ, त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ। मन्त्राललले विपद्जन्य घटनापछि उद्धार गर्न विपद् व्यवस्थापनको शीर्षकमा सबै प्रदेशलाई २ करोड बजेट विनियोजन गरेको छ। सोही बजेट खर्च गरेर तत्काल समस्या समाधान गर्न सबै प्रदेश सरकारलाई आग्रह गरेको छ। उहाँले केही दिनमा क्षतिको यकिन विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो।

उता, प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बाढीजन्य विपद्को घटनाबाट करिब ५० विद्यालयमा क्षति पुगेको जानकारी दिनुभयो । ‘५० विद्यालयमा क्षति पुगेको छ। ५० हजार विद्यार्थी पढ्नबाट वञ्चित भएका छन्’ –अध्यक्ष ढुंगानाले भन्नुभयो । वर्षापछि आएको बाढीले प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठको लिटल एन्जल्स, पूर्वअध्यक्ष राजेश खड्काको जेम्स, आईजे पायोनियरलगायतका विद्यालयमा ठूलो क्षति पुगेको छ।

लिटल एन्जल्सका प्रधानाध्यापक मुकुन्द शर्माले कर्मनाशा खोलाको बाढीबाट करोडौं रुपियाँ बराबरको क्षति भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्यालयमा दैनिक २ सय कामदार परिचालन गरी सफा गरिरहेका छौं, कार्तिक १ गतेसम्मका लागि विद्यालय बन्द गर्न सूचना जारी गरेका छौं।’