लाइफलाइन यात्रा सहज बनाउने प्रजिअ घिमिरेको प्रतिवद्धता

376
Shares

धादिङ ।

लाइफलाइनको रुपमा रहेको संघीय राजधानीसंग जोड्ने दुई ठूला राजमार्गहरु पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको यात्रा सहज बनाउने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभएको छ ।

धादिङ सुरुवा भएर आएको दोश्रो दिन पत्रकारहरुसंग कुरा गर्दै प्रजिअ घिमिरेले विपद र सडक सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो ।

ट्राफिक प्रहरी लगायतको टोली परिचालन गरेर होस् या सडक मर्मत तथा अन्य काम गरेर भए पनि चाडपर्वको समयमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउने घिमिरेको भनाइ छ ।

‘अहिले विपी राजमार्ग ठप्प छ । धादिङ भएर यात्रा गर्नेहरुको संख्यामा उच्च वृद्धि हुने देखिन्छ । यसलाई मध्यनजर गरि विशेष तरिकाले हामी लाग्नेछौं । त्यसको लागि सरोकारवाला निकायहरुविच छलफल तथा सहकार्य भइरहेको छ’ उहाँले भन्नुभयो ।

पृथ्वी राजमार्गमा चाडपर्वका समयमा गत वर्ष दैनिक १७ हजार भन्दा बढी सवारी आवतजावत गरेका थिए । यो वर्ष विपी राजमार्ग अवरुद्ध बनेका कारण २५ हजार भन्दा बढी सवारी गुड्ने अनुमान गरिएको छ । त्यसैले, घण्टौसम्मको जाम र सास्तिबाट बच्न पूर्व तयारी गरेर जानुपर्ने पत्रकारहरुले सुझाव दिएका छन् ।

राजमार्गमा हुने विपद् तथा दुर्घटनामा उद्धार सामाग्री र उद्धार टोली समयमै उपलब्ध हुने गरि व्यवस्थापन गरिनुपर्नेमा पत्रकारहरुले जोड दिएका छन् । राजमार्गमा सञ्चालित होटल तथा पसलहरुले महंगो शुल्क असुल्ने गरेका छन् । जामको समयमा तेब्बरसम्म मूल्य लिने गरेको भन्दै यस्ता वेतिथिका क्षेत्रमा पनि प्रशासनले ध्यान दिन सुझाव दिएका छन् । पत्रकारहरुले उठाएका सवालहरुमा प्रशासनको गम्भिर ध्यानाकर्षण भएको र विशेष गरि राजमार्गको यात्रा सहज र व्यवस्थित गर्ने प्रजिअ घिमिरेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीले राजनीतिक दलका नेताहरुसंग छलफल गर्दै राजमार्गमा क्रेनको व्यवस्था गर्ने, सहज यातायात सेवा बनाउने, सुरक्षाको प्रत्यिाभूति दिने लगायतको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।