बाढी पीडितलाई राहत सहयोग

1.13k
Shares

उदयपुर ।


अविरलको वर्षा संगै गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीका कारण घरबारविहीन बनेका चौदण्डीगढी नगरपालिका १ बंसिलाघाटका बाढी पीडितहरुलाई चौदण्डीगढी नगरपालिकाले राहत वितरण गरेको छ ।


अविरल वर्षासंगै सुनकोशी नदीमा आएको बाढीले उदयपुर र खोटाङ्गको सीमामा पर्ने चौदण्डीगढी नगरपालिका १ बंसिलाघाटका स्थानीय १० घर परिवारलाई बिस्थापित गरेको थियो । सामान्य काठले बनेको घरमा पसल गर्दै जिविकोपार्जन गर्दै आएका उनीहरुलाई नदीमा आएको बाढीले बिस्थापित गरेको थियो ।

यसरी बिस्थापित हुने परिवारहरूमा पृथ्वी राई, खड्ग बा. राई, ध्रुव राई, संजोक राई, ईश्वर राई, खड्ग बा. गुरुङ, हस्त बा. राई, विदुर राई, सन्तोष राई र राजकुमार राईको परिवार रहेको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । बाढीले उनीहरुको लत्ताकपडा, खाद्यान्न, सुत्ने खाट भाँडाकुँडा, चौपाया बगाएको थियो ।


मंगलबार चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष सिताराम राई, वडा नम्बर ६ का अध्यक्ष अम्बरबहादुर खड्का, नेत्र बिश्वकर्मा लगायतको टोलीले पीडितहरुलाई प्रति घरपरिवार १ बोरा चामल, १ के.जी. दाल, १ प्याकेट नुन, १ प्याकेट तेल, १ वटा त्रिपाल र १ वटा कम्बलका दरले राहत प्रदान गरेको हो ।


चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले सुनकोशी नदीले तटीय क्षेत्रमा ठुलो क्षती गरेको भन्दै नगरपालिकाले पीडितहरुको पीडामा मलम लगाउन सानो सहयोग उपलब्ध गरेको बताउनु भयो । उहाँले तत्काल संघीय र प्रदेश सरकारले चौदण्डीगढी नगरपालिका १ बंसिलाका पीडितहरुलाई पनि उचित ब्यबस्थापन गरि राहत उपलब्ध गराउनु पर्ने बताए ।


बंसिलाका बाढी पीडितले भने नेपालीहरुको महान् चाड दशैं नजिकी रहेको अवस्थामा परेको विपत्तिले आफुहरुलाई ठूलो चोट दिएको बताउदै स्थानीय सरकारको पहलकदमीमा आफुहरुलाई छानामुनि दशैंको टीका ग्रहण गर्ने ब्यबस्था मिलाइदिन माग गरेका थियो ।