पाँच पालिकामा खानेपानीको हाहाकार,

धमिलो पानी पिउँदै गाउँबासी

846
Shares

धादिङ ।

असोज १०, ११ र १२ गतेको अत्यधिक वर्षाका कारण धादिङको दक्षिणी भेग बढी प्रभावित भएको छ। खानेपानी र सडकको ८० प्रतिशतभन्दा बढी क्षति पुगेको स्थानीय सरकारहरूले जानकारी दिएका छन्।

धुनीबेंसी नगरपालिकाको खानेपानी हाहाकार डरलाग्दो अवस्थामा पुगेको छ । मुहान नभएपछि १३ ओटा योजनामा डिप बोरिङ गरेर पानी निकालिएको थियो । कोट खानेपानी योजनाको ९८ घरले डिपबोरिङबाट पानी खाने गरेकोमा पानी बन्द भएपछि ५ दिनदेखि पानी किनेर खाने गरेको र आधा उपभोक्ता २ घण्टा तल पानी लिन जानुपरेको उपभोक्ताको गुनासो छ । धुनीबेंसीमा १३ डिप बोरिङको १ हजार ३ सय घर डिपबोरिङ बन्द भएपछि प्रभावित भएको छ । ठूलो वर्षा र बाढी पहिरोपछि सबै खानेपानी योजना बन्द भएको छ ।

असोज ११ गतेदेखि विद्युत् सेवा अवरुद्ध भएपछि खानेपानी नपाएका उपभोक्ताहरू समस्या परे पनि यसतर्फ पालिकाले मात्र काम गर्न नसकेका कारण छिटो विद्युत् सेवा सञ्चालन गर्न खानेपानी मर्मतका लागि सघाउन संघीय सरकारसँग नगरपालिका प्रमुख बालकृष्ण आचार्यले आग्रह गर्नुभएको छ । धुनीबेंसी नगरपालिकामा ६० ओटा अन्य खानेपानीको योजनामा सानाठूला क्षति भएपछि पालिकाभरि नै खानेपानीको हाहाकार भएको छ भने केही धारामा आएको पानी धमिलो भएकाले रोग लाग्न सक्ने अवस्थामा पानी पिउन बाध्य भएका छन् । धुनीबेंसी नगरपालिकामा १० घरमा क्षति पुगेकाले तत्काल राहत दिनुपर्ने अवस्था रहेको छ ।

बेनीघाटरोराङ गाउँपलिकामा २५ भन्दा बढी खानेपानी योजनाहरूमा क्षति पुगेको सूचना खानेपानी तथा सरसफाइ डिभिजन नं. २ कार्यालय धादिङमा सूचना टिपाएको भए पनि यकिन तथ्यांक नआएको सूचना अधिकारी विवश प्याकुरेलले जानकारी दिनुभयो । बेनीघाटको क्षतिका बारेमा गाउँपालिका सूचना अधिकारी परशुराम घिमिरेलाई पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनुभएन भने खानेपानी सरसफाइ बोर्डसमेत गठन भएकाले बोर्डका कर्मचारी अर्चिता उप्रेती पनि घटनाको विवरण दिनका लागि सम्पर्कमा आउनुभएन ।

बेनीघाटरोराङ–७ मा रहेको चरौँदीबाट गोरखा जोड्ने झेलुंगे पुलमा त्रिशूली नदीको बाढीले क्षति पु¥याएकाले विद्यार्थी र कृषकहरू आवतजावत गर्न पाएका छैनन् । यसै गरी बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर १० बाट गोरखा जोड्ने पुल चुँडिएपछि शंखादेवी आउनुपर्ने विद्यार्थी र तरकारी बिक्री गर्न आउनुपर्ने किसान आउन नपाएको शंखादेवी माविका सहायक प्रधानाध्यापक तिलक चेपाङले बताउनुभयो ।

गल्छी गाउँपालिकाका ६ घर मानिस बस्न नहुने गरी भत्किएर विस्थापित भएको छ । २० ओटा खानेपानी योजनाहरू क्षति पुगेकाले नागरिकहरू धमिलो पानी खान बाध्य भएका छन् । सडक यातायात पूर्ण रूपले क्षति पुगेकाले मर्मत गर्नुपर्ने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष केदार खतिवडाले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटकपटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनुभएन । गजुरी गाउँपालिकामा २० भन्दा बढी खानेपानी योजनामा बाढी पहिरोले क्षति पुर्‍याएको, ५ ओटा घर भत्किएको सूचना आफूले पाएको गाउँपालिकाका सामाजिक कार्यकर्ता तथा पूर्ववडाअध्यक्ष रामचन्द्र मिजारले जानकारी दिनुभएको छ ।

सरकारले तीन दिनभित्र सूचना पठाउनु भने पनि जिल्ला विपद् व्यवस्थापन समितिसँग यस किसिमका सूचनाहरू नआएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो । शिक्षा, स्वास्थ्य कृषि र भेटनरी अस्पतालहरूमा पालिकाको क्षतिका बारेमा सूचना नै नभएको जनाएको छ ।

थाक्रे गाउँपालिकामा खानेपानीका धेरैजसो योजनाहरूमा क्षति पुगेकाले खानेपानीको सबैभन्दा बढी समस्या रहेको र ३ विद्यालयमा वर्षापछिको बाढीपहिरोले क्षति पुयाएको बताउनुभयो । लितिमहांकाल मावि, उजुवादेवी आवि र शिलादेवी आविमा क्षति पुगेकाले यसलाई बाहिरबाट संरक्षण गर्ने कार्यक्रम ल्याउन विद्यालयहरूले अनुरोध गरेको थाक्रे गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्काले बताउनुभयो ।

लितिमहांकाल माविमा २ सय ९१ जना विद्यार्थी रहेको अवस्थामो पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकाले विद्यालय नै बन्द भएको र छिटो संरक्षण गर्ने कार्यक्रम ल्याएर विद्यालय भवन जोगाउन विद्यालयका प्रधानाध्यापक ओमप्रसाद सापकोटाले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिमा यस किसिमको कुनै पनि जानकारी नै छैन । पाँच पालिकाको ८० प्रतिशत ग्रामीण सडक र खानेपानी पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ ।