विपद्को मौका छोपेर यातायातमा ठगी

भएन कारबाही, ६१० को भाडामा १५०० सम्म लिँदै

564
Shares

काठमाडौं ।

यातायात व्यवसायीले बल्खुबाट हेटौंडा र हेटौंडाबाट बल्खु आउने यात्रुसँग महँगो भाडा लिने गरेको पाइएको छ । हिजो मंगलवार ३ बजे हेटौंडाबाट काठमाडौं आउनुभएका श्याम लामाले आफूले १२ सय सय तिरेर आएको बताउनुभयो । उहाँले चन्द्रागिरि हुँदै आउँदा ६ घण्टा समय लागेको पनि बताउनुभयो ।

यस्तै, काठमाडौंबाट हेटौंडा जान तयार भएको टाटासुमो गाडीमा यात्रा गरिरहेका एक महिला यात्रीलाई कति भाडा तिर्नुभयो भनेर सोध्दा चालकतिर हेर्दै आफूलाई थाहा नभएको बताउनुभयो । उहाँलाई चालकले भाडाबारे नभन्न अनुरोध गरेको जस्तो संकेत उहाँको छ । त्यसै गरी काठमाडौंबाट हेडौंडा हिँड्नु भएका हरेराम थापाले आफूलाई घर जानुपर्ने बाध्यता भएको हुनाले १५०० तिरेरै भए पनि जान लागेको बताउनुभयो । यहाँ चढ्ने सवारीमा रिजर्भ भनेर लेखिएको छ ।

पहिलाको तुलनामा मानिसको चहलपहल कम रहेको बल्खु क्षेत्रमा व्यवसायीले यात्रुलाई चढाउने र ओराल्ने गरिरहेको दृश्य देखिन्थ्यो । कतिपय यात्रीलाई काउन्टरले अन्तै टाढा गएर चढ्न भनिरहेका थिए । टिकट काउन्टरमा रहेका कर्मचारी नयाँ कर्मचारीसँग बोल्न हिच्किचाउने गरेका थिए । एक काउन्टरका कर्मचारीले पहिरोमा परी सयजति सवारी फर्पिङको जाने बाटोमा परेका हुनाले बढी भाडा लिनुपरेको बताउनुभयो । यसरी देशमा विपद्का बेला बाध्यतामा परेका नागरिक राजधानीमै ठगिरहँदा भने सरकारी निकायले थाहा नपाएको जसरी बसेको छ ।

वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले २०८० साल भदौ ७ गते तय गरेको बल्खुबाट हेटौंडा ६१० र कलंकीबाट चितवन हुँदै हेटौंडा गएको ६२२ रुपियाँ भाडा तोकेको छ । यसरी दोब्बरभन्दा बढी भाडा लिएर यात्रु यात्रा गर्न बाध्य छन्।


वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी अनुमति दिने भएको हुनाले त्यहाँका कार्यालय प्रमुखलाई बढी भाडा लिने व्यवसायीलाई अनुगमन गरी कारबाही गर्न निर्देशन दिने बताउनुभयो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले आफूलाई बल्खुमा यातायात व्यवसायीले ठगेको कुरा थाहा नभएको र प्रहरीलाई सोधेरमात्र भन्न सक्ने बताउनुभयो। उहाँले आफूहरूलाई उजुरी नपरेको हुनाले कारबाही नगरिएको बताउनुभयो।

भाडाको विषयमा कुरा उठाए गाडीमै चढ्न नदिने र उस्तै परे हात छोड्न पछि नपर्ने दादागिरीमा उत्रिने व्यवसायीविरुद्ध यात्रुले उजुरी गर्दैनन् । यस्ता बेला जिम्मेवार निकायका कर्मचारी नै यात्रु बनेर गई कारबाही गर्नुपर्छ भन्ने चेतना सरकारी कर्मचारीमा छैन । अधिकार लिएर बसेका कर्मचारीले केही नगर्दा जताततै यात्रु लुटिइरहेको उपभोक्तावादीहरूले बताएका छन् ।

त्यसै गरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले विपद्का बेला बढी भाडा लिन्छन् भन्ने थाहा पाएर नै ट्राफिक प्रहरीलाई कारबाहीका लागि निर्देशन दिएको बताउनुभयो। अहिलेसम्म कसैले उजुरी नगरेको हुनाले कारबाही पनि नभएको हुन सक्ने अधिकारी चिलुवालको भनाइ छ।

चाडपर्व र विपद्का बेला बारम्बार यातायात व्यवसायीले यात्रुलाई ठग्ने हुँदा सरकारी संयन्त्र सतर्क भई अनुगमन गर्नुको साटो उजुरी आउँछ र कारबाही गर्छु भनेर बस्दा राजधानीमै यात्रु ठगिनुपरेको यात्रुको गुनासो छ।