काभ्रेमा बाढीपहिरोको कहर, सलान्दु र रोशी उर्लंदा उजाड बने बस्ती

188
Shares

काभ्रे ।

‘पानी र खानी एकै स्थानमा रहन सक्दैनन्’ । चार वर्षअघि मन्त्री भएका बेला एमाले सांसद गोकुल बाँस्कोटाले जिल्लाबासीलाई त्यसको व्यवस्थापन गर्न अनुरोध गर्नुभएको थियो। तर, खानी पनि चलिरहे। असोज १२ पछिको विपद्ले खानी र पानी दुवै बन्द भए । सलान्दु र रोशी खोला उर्लंदा बस्तीहरू उजाड बनेका छन्।

असोज १२ गते बिहानसम्म सकुशल रहेको भूमि एकाएक खण्डहर बन्यो । बगर बन्यो । घरहरू ढले । मान्छेहरूको भागाभाग भयो । पशुपंक्षी पुरिए । ज्यान जोगाउन भीरपाखा सबै चाहारे। दिनभर बगिरहेका, भत्किरहेका, पुरिएका र तहसनहस भएका घरहरू हेरेर बसे । कोही आफन्त पुरिए । पुरिएका आफन्त कुरेर बसे। रातभर सुत्न पाएनन्। माथि पहिरो, तल खोला। पनौती नगरपालिका वडा नम्बर १२ भूमेडाँडाका नागरिक एकाएक भूमिविहीन भए । रोशी बजारका मात्रै ७० घर खोलाले बगायो।

कलाँती क्षेत्रका घरहरू पनि पुरिए । अधिकांश घरहरू बस्न नहुने अवस्थामा पुगे । नागरिकहरूको बसाइ सामूहिक छ । भएको अन्न सकिएको छ । पाकेको धान र मकै पुरिएको छ । बगाएको छ । रोशी बजारका श्याम विक र उनका तीन छोरासहितको १५ जनाको परिवार सुकुम्बासी भयो । तीनवटा घर खोलाले बगायो । उनीजस्तै सयौं व्यक्तिहरूको घर खोलामा ढलिरहेका छन्।

बालबालिकाहरू रातभर चिच्याउन थालेका छन् । ‘बच्चाहरू निदाउनै सक्दैनन्, निदाए पनि चिच्याउँछन् र निद्रामा नै उठेर जाऊँ भन्छन्’, स्थानीय गीता थापाले भन्नुभयो– ‘सडक, सञ्चार र विद्युत् नभएका कारण नागरिकहरूले असुविधा भोगिरहेका छन् । स्थानीय सरकारले तत्काल साँझका लागि टर्चलाइट, खानेपानी र केही खाद्यान्न उपलब्ध गरायो भने महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सहज हुन्थ्यो ।’ स्थानीय लक्ष्मण सुनारले स्थानीय सरकारले नागरिकको ज्यानभन्दा पनि खानीको ढुंगालाई प्राथमिकता दिएको बताउनुभयो । ‘अव्यवस्थित खानीका कारण नागरिकहरूको उठिबास भयो’, स्थानीय देवेन्द्र विकले भन्नुभयो– ‘अव्यस्थित प्लटिङका कारण पनि नागरिकहरूको खेतीयोग्य जमिन बगायो ।’ बुद्धवीर लामाले बाहुनचौरमा गरेको प्लटिङबाट ३० भन्दा धेरै परिवारको सयौं रोपनी खेतीयोग्य जमिन बगाएको छ ।

पनौती–१२ रोशीबाट लेदो र गेगरानसहित बगेको खोलाले पनौती–८ मा रहेको नेपालको तेस्रो जलविद्युत्को ड्याम बगाएको छ। सँगै रहेको दिनेश बस्नेतको घर बगाएको छ। उहाँ अपाङ्ग हुनुहुन्छ। पनौती–१२ मा सबै सम्पत्ति बिक्री गरेर सोही स्थानमा ३ आना घडेरी किनेर घर बनाउनुभएका दिनेशका परिवारमा ५ सदस्य छन्। ६ महिनाको उमेरमा पोलियोका कारण अपांग भएका उहाँ सुकुम्बासी हुनुभएको छ। लगाएको एकसरो लुगाबाहेक केही नभएका दिनेशले सहयोगको याचना गर्नुभएको छ।

रोशीको खानी क्षेत्रबाट बगाएको लेदोले पनौती ८, पनौती ७ मा रहेको सुकुम्बासी बस्ती, तेजगंगा क्याम्पससहित त्रिवेणी खोला आसपासको क्षेत्रलाई असर पुर्‍याएको छ भने पनौती ९, १०, धुलिखेल १२ र नमोबुद्ध क्षेत्रका विभिन्न स्थान हुँदै रोशी गाउँपालिकाका विभिन्न वडामा क्षति पुर्‍याएको छ । बीपी राजमार्गको मुख्य क्षति नै राजमार्ग क्षेत्रका क्रसर हुन् । खानी हुन्।
२०३८ साल असोज १३ गते आएको विध्वंस पानीले पनि खोला बढ्यो । माछा मार्न सकिने थियो । त्यति बेला खानी थिएनन्। खोलामा गेगरान नहुँदा क्षति हुन पाएन । अहिले खोलामा पानीभन्दा धेरै गेगरान र लेदो बगेका कारण क्षति धेरै भयो । ‘खानीले पुर्‍याएको असरका बारेमा बोल्यो कि असुरक्षित भयो’ –स्थानीयले भने ।

त्यस्तै, बेथान्चोक गाउँपालिका–४ सलान्दु बगरमा चार दिनअघि पुरिएकी ज्ञानु परियारको खोजतलास जारी छ । नेपाली सेना कालीजंग गणको समन्वयमा खोज तथा उद्दारको कार्य जारी छ । सोही वडामा ९ जनाले ज्यान गुमाएका छन्। जेठाजु मदन परियारलाई घर अघिबाट अनियन्त्रित रूपमा बगिरहेको सलान्दु खोलाले बगाउँदै गरेको ज्ञानुले देख्नुभयो। अशक्त हुँदाहुँदै पनि ज्ञानुले जेठाजु मदनलाई तान्न सक्नुभएन । मदनलाई बचाउँदै ज्ञानु खोलामा खस्नुभयो । खोलाले बगायो र कल्र्भटमा लगेर च्यापेको आशंका स्थानीयले गरे । दुई दिनदेखि सेनाले उहाँको शवको खोजी गरिरहेको छ। सलान्दुले निलेकी ज्ञानु फेला पर्न सकेकी छैनन् ।

सलान्दु खोलाले काशिराम महतलाई पनि निल्यो । सोमबार राति मात्रै उहाँको शव सेनाले निकाल्यो । एकै दिन बेथान्चोक–४ बाट चार जनाको शव सेनाले निकालेको थियो । बेथान्चोक–३ घर भई बेथान्चोक–४ मा चलाल गणेस्थान रोडा ढुंंगा उद्योगमा कार्यरत अजय तिमल्सिना र खानीखोला गाउँपालिका घर भएका अमृत रिजाल पुरिएको अवस्थामा सेनाले निकाल्यो । दुई जना बेपत्ता भएका घाइतेहरूलाई प्रहरीको सहयोगमा असोज १३ गते उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अन्य खानीमा काम गरिरहेका केही मजदुर हताहत भए कि भन्ने आशंका छ।

चलाल गणेशस्थानमा एक दम्पती नै पुरिए । ७० वर्षीय चेतमान तामाङ र ७० वर्षीया पुतलीमाया तामाङको पुरिएर निधन भएको छ । सिम्लेका सूर्य तामाङको पनि पुरिएर निधन भएको छ । सल्लाफेद घर भएका पुलिस तामाङको निधन भएको छ। अन्य केही सम्पर्कमा अझै आएका छ्रैनन् । ‘एउटा टोलबाट अर्काे टोलसम्म जान पनि सम्भव छैन, फोन लाग्दैन । बत्ती छैन। त्यसैले लगत संकलनमा कठिनाइ भएको छ’, वडा अध्यक्ष कृष्णबहादुर पाख्रिनले भन्नुभयो– ‘क्षतिको यकिन तथ्यांक संकलन गर्नै कठिन छ ।’

गाउँमा घरहरू भत्किएपछि सबै विस्थापित भएका छन् । वस्तुहरू भएकाले गाउँ छाड्न नसकिएको राजन कार्कीले बताउनुभयो। वस्तुहरूलाई पनि श्वास अड्याउन मात्रै खानेकुरा र पानी दिन सकिएको उहाँले बताउनुभयो । बस्ती बगाएपछि नागरिकहरू संकटमा परेका छन्। सलान्दु बगर आसपासका सबै घरहरू बगाएको छ। बाँकी रहेका घरहरू पनि बस्न योग्य छैनन्। बेथान्चोक गाउँपालिकामा पछिल्लो तथ्यांकअनुसार १५ जनाले ज्यान गुमाइसकेका छन्। खानेकुरा जुटाउन, पानी तथा औषधिको व्यवस्थापन गर्न र बस्नसमेत कठिन रहेको स्थानीयले बताए।

बसोबासका लागि पुनस्र्थापनाका लागि जमिनसमेत नभएको उनीहरूले बताए। खेत बगर भएको छ भने बारी बगाएकाले भीर भएको छ। सडक, विद्युत्, खानेपानी, सरकारी भवनहरू, निजी घर तथा अन्य भौतिक संरचना क्षतिको गणना गरी साध्य छैन। स्थानीय जनप्रतिनिधिहरूले पहिलो चरणमा खोज र उद्धारमा संक्रिय भएका छन्।

उपाध्यक्ष तारा राना तिमल्सिनाले तत्कालै सडक सञ्चालनका लागि पहल भएको बताउनुभयो। अध्यक्ष भगवान् अधिकारीले नागरिकहरूलाई उद्धारपछि राहत र संरचना सहज बनाउन पहल गरिरहेको बताउनुभयो। सलान्दुखोला किनारमा आधा दर्जन खानी छन्। खानीबाट बगेको लेदो र ग्यागरिङ्गले बस्ती उजाड बनाएको छ।

तिलेश्वर महादेव मन्दिरबाट बगेको खोलाले ल्याएका रूख र जराहरू थुनिँदा झनै धेरै क्षति भएको छ। एक सयभन्दा धेरै सवारी साधनहरू पुरिएका र बगाएका छन्।