नेशनल कार्डियक सेन्टरद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा सीपीआर तालिम


काठमाडौं ।

नेशनल कार्डियक सेन्टरले मुटु रोगसम्बन्धी बृहत् स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको छ । २९ सेप्टेम्बर अर्थात् विश्व मुटु दिवसका अवसरमा सेन्टरले उक्त कार्यक्रम गरेको हो ।

अस्वस्थ जीवनशैली, अनुचित खानपान र तनावले मुटु रोग लाग्ने र नेपालमा मुटु रोगका कारण मृत्यु हुनेको संख्या बढ्दै गएकाले मुटु रोगको न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले नेशनल कार्डियक सेन्टरले सो कार्यक्रम आयोजना गरेको हो ।


सर्वसाधारणलाई मुटु रोगबारे जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेशनल कार्डियक सेन्टर संस्थापक डा. ओम मूर्ति अनिलले प्रारम्भिक चरणमा नै पहिचान गरेर उपचार गरेको खण्डमा जीवन रक्षा गर्न सकिने बताउनुभयो । त्यसका लागि रक्तचाप, कोलेस्ट्रोल र मधुमेह जस्ता मुटु रोगसँग सम्बन्धित जोखिम कारकहरूको स्क्रिनिङ गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य सचेतनासँगै बसुन्धारास्थित नेशनल कार्डियक सेन्टरमा करिब २५० जना सर्वसाधारणको मुटु रोगसँग सम्बन्धित निःशुल्क स्वाथ्य जाँच गरिएको थियो ।

सो अवसरमा सेन्टरले सशस्त्र प्रहरीलाई कार्डियोपल्मोनरी रिससिटेशन (सीपीआर) तालिम पनि प्रदान गरेको छ । उक्त तालिमपश्चात् आकस्मिक अवस्थामा मानिसको कसरी जीवन रक्षा गर्न सकिन्छ भन्ने बारेमा सीप प्रदान गर्दछ ।
ह्दयघात भएको, अचानक मुटुको धड्कन तथा श्वासप्रश्वास रोकिएको अवस्थामा सीपीआर आवश्यक हुन्छ ।

त्यस्तै मानिस डुबेर अचेत वा श्वासप्रश्वास बन्द भएको, विद्युत्को झट्का लागेको, दुर्घटना वा अन्य कारणले अत्यधिक रक्तस्राव तथा गम्भीर चोटपटक लागेको बेलामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँचमा नरहेको स्थितिमा तुरुन्तै सीपीआर गर्दा जीवन रक्षा गर्न सहयोग हुन्छ । यसले रक्त सञ्चार कायम राख्ने, मस्तिष्कमा आवश्यक अक्सिजन पु¥याउनुका साथै श्वास प्रश्वासलाई पुनः शुरु गर्न मद्दत पु¥याउँछ ।

काठमाडौंको बसुन्धारास्थित नेशनल कार्डियक सेन्टरले चिकित्सक तथा स्वास्थ्यकर्मीबाट करिब ५० जना सशस्त्र प्रहरी कर्मचारीलाई सीपीआर तालिम दिइएको थियो । निजी क्षेत्रबाट सञ्चालित उक्त सेन्टरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेन्टरले विभिन्न ठाउँमा निःशुल्क मुटु शिविर, प्रशिक्षण तथा स्वास्थ्य हेरचाहसम्बन्धी तालिमलगायतका कार्यक्रम गर्दै आएको छ ।