पाठक पत्र: दशैँ आए पनि छैन उत्साह


झन्डै चार वर्षअघि हिन्दु नारीहरुको महान् चाड तीज लाग्नासाथ बजारमा एकदमै चहलपहल हुन्थ्यो । यो वर्षको तीज सकिसकेको छ । अहिले सोह्रश्राद्धसमेत सकिन लागेर दशैँ शुरु हुन थालिसकेको छ । तैपनि बजार सुनसान छ । नेपालीहरुको महान् चाड दशैँ घरआँगनमै आइसक्दासमेत बजारमा चहलपहल वा रौनक छैन ।

कपडा पसलदेखि हरेक पसलमा ग्राहक देखिँदैनन् । सुन पसलमा भने मानिसहरुको लर्को छ । तर, सुन किन्न नभई बेच्न । आफूसँग भएको सुन बेच्न लागिपरेका छन्, सर्वसाधारण । यद्यपि, सुन व्यापारीहरु अहिले सुन किनिरहेका छैनन् । सर्वसाधारणमा दशैँ कसरी मनाउने ? गाउँघर कसरी जाने ? भन्ने चिन्ता छ ।

घरधनीहरु भन्छन्, ‘भाडामा बस्नेहरुले महिनौं भइसक्यो भाडा नतिरेको । कोठा, सटर र फ्ल्याट भाडामा भएर मात्र के गर्नु, जब भाडा नै आउँदैन ।’ यता, भाडामा बस्नेहरु भने कोठा, सटर, फ्ल्याट नै छोडेर गाउँ जाने बताउँछन् । कतिपय भने बेरोजगारी, महँगी अनि काम गरेको ठाउँबाट तलब नपाएपछि विदेशी जाने सोचमा रहेको भन्छन् । दशैँपछि काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शहरमा अधिकांश कोठा, सटर र फ्ल्याट खाली हुने बताइन्छ । बजारमा पूरै मन्दी छ । काम गरेको ठाउँमा तलब दिइएको छैन । सहकारी, लघुवित्त, फाइनान्सले भएको पैसा पनि खाइदिइहाल्यो । बैंकमा बचत गरेको रकम पनि सुरक्षित छैन ।

बैंकले कर्मचारीले बचतकर्ताको खाताबाटै रकम गायब बनाएको खबर पनि बाहिरिएका छन् । निर्माण व्यवसायीहरु सरकारले आफूहरुले काम गरेको ४५ अर्ब भुक्तानी नदिएको बताउँछन् । दुग्ध किसानहरु सात अर्ब र कोरोना महामारीको समयमा बिमा गराएका अस्पतालहरु ११ अर्ब भुक्तानी सरकारले नदिएको भन्छन् । अहिले बजारमा एउटा कुराको खूब चर्चा छ, त्यो हो सरकारले दशैँमा कर्मचारी, जनप्रतिनिधिलाई विदेशीसँग ऋण लिएर तलबभत्ता वा पेश्की दिन लागेको छ । राजस्व उठ्न छोडिसकेको छ । जनता बेरोजगार छन् । बजारमा मन्दी छ । व्यापार व्यवसाय ठप्प छ । अनि यस्तो अवस्थामा उनीहरुले कर पनि त कसरी तिरुन्?

राजस्व नउठेपछि सरकारले कर्मचारी, जनप्रतिनिधि, बूढाबूढी, एकल महिला, अपांगहरुलाई तलब वा भत्ता खुवाउन सक्दैन। हुन त यसअघि पनि सरकारले विदेशीसँग ऋण लिएर नै कर्मचारीलाई तलबदेखि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। तर, दशैँमा बहालवाला कर्मचारीसहित जनप्रतिनिधि, सेवा निवृत्त कर्मचारीलाई सरकारले तलबसँगै पेश्कीसमेत दिन्छ। अहिले तलबमा मात्र मासिक अर्बौं खर्चिँदा अब पेश्की दिँदा खर्बौं खर्चिनेछ । अनि त्यो पनि सरकारले विदेशीसँग ऋण लिएर नै दिन्छ। किनकि राज्यको ढुकुटी त रित्तो भइसक्यो नि ।

नेपालको वैदेशिक ऋण अहिले नै २७ खर्ब पुगिसकेको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋणको भार छ । हालकै परिस्थितिअनुसार अबको दुई वर्षमा यो ऋण दोब्बर हुने पक्का भइसकेको छ । घरजग्गा, गाडी र शेयरको किनबेच दिनानुदिन घट्दै गएको छ । सरकारले जतिसुकै अर्थतन्त्रमा सुधार आएको दाबी गरे पनि अर्थतन्त्र तहसनहस भइसकेको छ । यदि साँच्चिकै अर्थतन्त्रमा सुधार आएको भए किन सरकार हरेक कामका लागि विदेशीसँग हात थाप्छ ? किन मासिक अर्बौं विदेशी ऋण लिन्छ ? अर्थतन्त्रमा सुधार आएको भए त देशभित्र उठेकै राजस्वले कर्मचारी, जनप्रतिनिधिलाई तलब खुवाउनुपर्ने हो । तर, यहाँ त महिनैपिच्छे सरकार कर्मचारीलाई तलब खुवाउन विदेशीसँग हात जोड्न पुग्छ।

कुनै पनि मुलुकको अर्थतन्त्र बजारसँग सम्बन्धित हुन्छ। बजार चलायमान भयो भने अर्थतन्त्रमा आफैं सुधार आउँछ । कोरोना महामारीपश्चात् विश्वका अधिकांश मुलुक संकटमा परे । नेपालमा पनि त्यसको प्रभाव पर्‍यो। कोरोनाका कारण धेरै व्यवसायीहरु पलायन हुन पुगे भने अहिले पनि त्यो क्रम जारी छ । सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने नीति ल्याउनुपर्नेमा वा मुलुकमा उद्योग, कलकारखाना खोल्न प्रोत्साहन गर्नुपर्नेमा घरजग्गा, गाडी र शेयरलाई मात्र राजस्वको स्रोत बनायो। जसको परिणाम अहिले देखिएको छ । घरजग्गा, गाडी र शेयरमा मन्दी छाएको झन्डै चार वर्ष हुन लागिसकेको छ।

गत साउनमा पुँजी बजार ह्वात्तै बढेको थियो । बजार बढेको देखेर प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले विभिन्न दाबी गरे। तर, शेयर जुवा हो । पुँजी बजारमा ६५ लाख बढी सर्वसाधारणको लगानी रहे पनि कमाउने भनेको ठूला लगानीकर्ता ५०–५५ जना मात्रै हुन्। साउनमा कृत्रिमरुपमा शेयरको मूल्य बढाएर खेलाडीहरु उम्किए। अनि मूल्य बढेको देखेर वा दलालीको लहैलहैमा लागेर त्यो महँगोमा शेयर किन्ने सर्वसाधारण अहिले हाँस्नु कि रुनु अवस्थामा पुगेका छन्।

साउनमा तीन हजार पुगेको शेयर अहिले घटेर २४ सयमा आइसकेको छ । लगानीकर्ताहरुले कित्तामै छ सय रुपियाँ गुमाइसकेका छन् भने शेयरको ओरालो यात्रा कायमै छ । शेयरमार्फत सर्वसाधारण डुबाउनुमा सरकारको समेत हात छ । किनकि शेयर बढिरहेको बेलामा सोचविचार गरेर लगानी गर्न सचेत गराउनुको साटो झन् प्रोत्साहन दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले त सदनमै शेयरको मूल्य ३२ सयमा पुगेमा केक काटेर खाने घोषणा गरेका थिए । अहिले तीन हजार पुगेको शेयर घटेर २४ सयमा आइसक्यो । शेयरमा लगानी गरेका लाखौं सर्वसाधारण एक महिनामै चुर्लुम्मै डुबेका छन् । अनि अब प्रधानमन्त्रीले के गर्नुहुन्छ ? अझै पनि शेयर दलालीलाई प्रोत्साहन कि नैतिकताको आधारमा पदबाट राजीनामा ?

यता, अर्थमन्त्री विष्णु पौडेलले शेयरमा सर्वसाधारणले गरेको लगानी सरकार डुब्न दिँदैन, ढुक्क भएर लगानी गर्नुस् भनेका थिए । अनि अहिले सर्वसाधारण डुबेपछि उनी किन चुपचाप छन् । उनीमा पनि नैतिकता छ भने छिटो पदबाट राजीनामा दिइयोस् । शेयरमा मात्र होइन, घरजग्गा, गाडीमा पनि सर्वसाधारण यसरी नै डुबेका छन् । दलालीहरुको लहैलहैमा लागेर आम नागरिकले महँगोमा घरजग्गा किने । दलालीहरुले निमुखा किसानसँग रोपनीको २०–३० हजारमा जग्गा किनेर डोजर चलाई टुक्रा–टुक्रा बनाए । त्यही टुक्रा जग्गालाई आनाको ६०–७० लाखमा बेचे । अहिले महँगोमा घरजग्गा किन्नेहरु नराम्ररी डुबेका छन् । दलालीको विश्वासमा परेर उनीहरु बैंकबाट महँगो ब्याजमा ऋण लिएर घरजग्गामा लगानी गरे । अहिले बैंकको किस्ता तिर्न सकिएको छैन । फेरि घरजग्गा पनि बिक्री हुँदैन । हिजो त्यत्रो महँगोमा किनेको घडेरी अहिले आधा मूल्यमा दिन्छु भन्दासमेत बिक्री भइरहेको छैन । पछिल्लो समय बजारमा घरजग्गा बेच्ने थुप्रै छन् तर किन्ने शून्य बराबर। ०७२ वैशाख १२ गते मुलुकमा महाभूकम्प गयो । कैयौं घर भत्किए र चर्किए । कैयौं अर्पाटमेन्ट, हाउजिङहरुमा पनि भूकम्पले क्षति पुर्‍यायो।

त्यस्ता चर्किएका घर, अर्पाटमेन्ट, हाउजिङहरुलाई घरधनीहरुले अहिले टालटुल गरेर, सिसा, मार्बल टाँसेर वा रंग लगाएर नयाँझैँ बनाएका छन् । यद्यपि, ती घरहरु बिक्री भएका छैनन् । तीन करोडमा बनेको घर सस्तोमा बेच्छु भन्दासमेत नबिकेको बताइन्छ । किनकि त्यस्ता घर जोखिमपूर्ण छन् र यो कुरा आम नागरिकले बुझिसकेका छन् । घरधनीहरुले भत्किन लागेका घरलाई नयाँजस्तो त बनाए । तर, अहिले पनि सानो भूकम्प आउनासाथ त्यस्ता घर ढल्नेछन् । अहिले विज्ञ, अर्थविद्हरु भन्छन्, ‘अबको एक वर्षपछि घरजग्गा, गाडी र शेयर किन्ने कोही हुँदैन । न त यसको मूल्य नै हुनेछ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्थे, ‘माडवारीहरुलाई भगाउनुपर्छ ।’ मुलुकमा हाल सञ्चालनमा रहेका बैंकमा माडवारीहरुकै लगानी छ । अहिले बैंकमा समस्या देखिन थालिसकेको छ । त्यसैले, अबको केही वर्षमा बैंकसँगै माडवारीहरु पनि भाग्नेछन् । हामी सर्वसाधारणले पनि कस्तो ठाउँमा लगानी गरेका छौं भनेर बुझेनौं । यदि सरकारले बेलैमा घरजग्गा, गाडी र शेयरमा लगानी नगर्नुस् भनी उद्योग, कलकारखाना खोल्न प्रोत्साहन गरिदिएको भए आज न सर्वसाधारणको लगानी डुब्थ्यो, न त मुलुकको अर्थतन्त्रमा संकट आइलाग्थ्यो । सरकार नै दलालीको हितमा निर्णय गर्न लागेपछि जनता र देश डुब्नु स्वाभाविककै हो । यी सब कारणले अहिले दशैँ आए पनि सर्वसाधारणमा उत्साह छैन ।
– सविना केसी ।