क्षतिको लेखाजोखा गर


विपद्लाई रोक्न सकिन्न तर विपद्बाट सिर्जित मानवीय तथा भौतिक क्षतिलाई प्रयास गरेमा न्यूनीकरण भने अवश्य गर्न सकिन्छ। हरेक विपद्ले सिकाउने यो सन्देशलाई बेवास्ता गर्दाको परिणाम हरेक विपत्तिमा अकाल मृत्यु र भौतिक संरचनाको नोक्सान व्यहोरिरहेका छौं। हरेक विपद्मा हुने धनजनको क्षतिले विपद्बाट सिक्न नसकेको र सिके पनि त्यसलाई व्यवहारमा उतार्ने जाँगर नहुने प्रवृत्तिलाई बारम्बार दर्शाइरहेको छ।

यसपटक अविरल वर्षाका कारण बाढीपहिरोमा परी सयौं मानिसले ज्यान गुमाए। कैयौँको घर, सम्पत्ति बाढीपहिरोमा पर्‍यो। एक हिसाबले भन्दा अहिलेको समयमा शोक र विपत्तिमा छौं । बेलाबखत आउने वर्षाले यसरी क्षति पुर्‍याउँछ भनेर अनुमान नभएको पक्कै होइन। तर पनि अव्यवस्थित शहरीकरण तथा ठेकेदार र बिचौलियालाई पोस्ने गरी सडक निर्माणलगायतका कार्यले पनि विपत्बाट हुने क्षति बढाएको छ। यसतर्फ अब पनि नसोच्ने हो भने हरेक विपद्मा हुने क्षति निरन्तर बढिरहनेछ। त्यसबाट समुदायको पिँधमा रहेका गरिब तथा सीमान्तकृत जनता अझ शोक, भोक र कष्टमा बाँच्न बाध्य हुनेछन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक अत्यधिक वर्षा हुने क्षेत्र र नक्सासमेत उल्लेख गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो । यसलाई सकारात्मकरुपमा लिनुपर्दछ । तर सोही बमोजिम उद्धार तथा प्रतिकार्यका लागि पूर्वतयारी हुन सकेन । यस विषयलाई राज्यले गम्भीररुपमा लिनुपर्दछ । दशैँको मुखमा मानिसहरु शोकाकूल भएका छन्।

धानबाली भित्र्याउने समयमा अधिकांश धानबाली वर्षाले सखाप भएको छ। धनसम्पत्ति गुमाउनुपरेको छ। यता काठमाडौं उपत्यकाका विभिन्न खोला आसपासका बस्ती डुबानमा परेकाले त्यहाँको जनजीवन घरमा खोलासँगै पसेको माटो निकाल्दै बितिरहेको छ । काठमाडौं उपत्यकालाई जोड्ने नाकाहरु अवरुद्ध छन्। यस्तो अवस्थामा सरकारले चाँडै क्षतिको विवरण संकलन गरी राहतको घोषणा गर्नुपर्दछ।

सर्वसाधारण जनतालाई मुलुकमा सरकारको उपस्थितिको अनुभूत दिलाउन सक्नुपर्दछ। सरकारको भिजिबिलिटीमै समस्या आइरहेको बेला यसतर्फ विशेष चनाखो हुनुपर्दछ। खोज तथा उद्धार कार्यलाई पनि दु्रत गतिमा अघि बढाउनुपर्दछ। बाटोघाटोमा परेको अवरोध हटाउने कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ। यी कामले जनतालाई सरकारको उपस्थितिको अनुभूत गराउनेछ। यसबीचमा सरकारको उपस्थिति बलियो बनाउन र विपद् प्रतिकार्यका लागि सबै राजनीतिक दलहरु एकबद्ध भएर अघि बढ्नुपर्ने खाँचो छ।

हरेक विपद्ले नेपालले अपनाएको विकास शैली र तौरतरिकाको राम्ररी उजागर गर्दै आएको छ। नेपालमा शुरुदेखि बस्ती विकासको योजना अभाव रहेको छ। जहाँ खाली जग्गा भेटियो, त्यहीँ बस्ती। जहाँ बस्ती त्यसपछि बल्ल बाटो, ढल भन्ने मान्यतामा विकास कार्य अघि बढिरहेको छ। त्यसै गरी कुन जग्गा बस्तीयोग्य हो, कुन कृषियोग्य हो भनेर भूवर्गीकरण नगर्दा पनि नेपालमा भवन निर्माण अन्धाधुन्ध र अनियन्त्रित शैलीमा भइरहेको छ।

यसपटकको वर्षाले विशेष गरी खोला किनाराका पूरै बस्ती डुबानमा परेको घटनाले पनि यसतर्फ सोच्नुपर्ने खाँचोलाई अझ बल पुर्‍याएको छ। त्यसैले राज्यले लामो अन्तरालमा हुने वर्षा र पुर्‍याउन सक्ने क्षतिको समेत लेखाजोखा गर्नुपर्छ। सडक, बस्ती, खोला नियन्त्रणका उचित योजना ल्याउने हो भने केही हदसम्म पहिरो र डुबानबाट मानिसको ज्यान बचाउन सकिन्छ। राज्य यसतर्फ गम्भीर हुनै पर्दछ। तत्कालका लागि भने बाढीपहिरोबाट भएको क्षतिको लेखाजोखा गरी राहत एवं पुनस्र्थापनलाई जोड दिनु जरुरी छ।