बाँके ।
मलेसियामा रहेका वीरेन्द्र पुनले छोरीसँग भिडियो कल गरिरहन्थे । दुई वर्ष दुई महिनाकी छोरीको तोतेबोलीले वीरेन्द्र मख्ख हुन्थे। छोरी तीन महिनाको गर्भमा रहँदा मलेसिया गएका वीरेन्द्र २९ महिनापछि घर फर्किंदै थिए । छोरीका लागि उनले सामान किनेर प्याक गरिसकेका थिए ।
असोज २ गते वीरेन्द्र घर आउँदै थिए । भदौ ३० गते राती घरमा बज्रपात भयो, छोरीलाई बाघले लग्यो । राती साढे ७ बजेतिर खाना खाइसकेपछि घरदेखि अलि पर खोरमा राखिएका बाख्रालाई सधैंझैं अर्को खोरमा सार्ने तयारी हुँदै थियो। आमा सीता पुन त्यसको तरखर गर्दै हुनुहुन्थ्यो । आमा घरभित्र पस्दा छोरी बाहिर निस्केकी रहिछन्।
बाख्रालाई दिन रोटी लिएर निस्केकी बालिकालाई धारा नजिकबाट बाघले तानेर लगेछ । छोरी कतै देखिइनन् । जताततै खोजियो । धाराभन्दा अगाडि आँठा (आली) मा खुन देखियो, धान मडारिएको थियो । हल्लीखल्ली भयो । छिमेकीहरू आए । बाघले नै लगेको देखियो ।
वीरेन्द्रले सीतालाई आफू आउँदा नेपालगञ्ज विमानस्थलमा छोरीलाई लिएर आउनु भनेका थिए । तर आउनुभन्दा दुई दिनअघि नै त्यस्तो घटना भयो । वीरेन्द्रलाई छोरीसँग भेट्न लेखेको रहेनछ । वीरेन्द्र भन्नुहुन्छ– ‘मेरो घर आउने कुरा पहिले नै पक्का भइसकेको थियो । छोरीका लागि पनि सामान किनेर राखिसकेको थिएँ । घर हिँड्नै लागेका बेलामा दुःखद् घटना सुनेँ । छोरीसँग भेट्न नलेखेको रहेछ । हाम्रो परिवारमा बज्रपात भयो ।’
वीरेन्द्रका १३ र ९ वर्षका छोरा छन् । वीरेन्द्र मलेसिया जाने र आउने गरिरहनुहुन्छ । १९÷२० महिनामा वीरेन्द्र घर फर्किनुहुन्थ्यो। यसपालि के–के नमिलेर २९ महिनामा फर्किंदै हुनुहुन्थ्यो । अरू वर्षभन्दा अलि ढिला गरी घर फर्किंदा वीरेन्द्रले छोरी भेट्न पाउनुभएन ।
दशैं नजिकै आइसकेको छ । विदेश गएको मान्छे घर फर्किंदा जुनसुकै घरमा हाँसीखुसी हुन्छ नै । वीरेन्द्रको घरमा त्यस्तो छैन । सुनसान छ । मलिन अनुहार लगाएर बसेका छन् । वीरेन्द्र र सीता मन थामेर त्यो घटना बिर्सिन खोज्दै हुनुहुन्छ । तर, के गर्नु ? धारामा गइरहनुपर्छ । बाख्राको खोरमा जानै पर्छ । त्यहीँबाट छोरीलाई बाघले टिपेर लग्यो। दिमागमा त आइहाल्छ।
खजुरा गाउँपालिका–६, सिमलघारी र आसपासका गाउँ त्यो घटनापछि आतंकित छ। स्थानीय रातीमा बाहिर निस्किन छोडेका छन्। बालिका लैजाने बाघलाई नियन्त्रण गर्न धेरै प्रयास गरे पनि सकेका छैनन्। ठाउँठाउँमा क्यामेरा जडान गरिएको छ, पासो थापिएको छ। हात्तीसहित डार्ट (बेहोस बनाउने) टोली परिचालन गरिएको छ। नियन्त्रणका अनेक उपाय अपनाइएको छन् । तर, बालिका लैजाने बाघ नियन्त्रणमा आएको छैन । त्यो बाघ नियन्त्रणमा नआउँदा गाउँले त्रसित छन्।
बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो । मानखोला पारी बर्दियातर्फको जंगल पातलो भए पनि वारि बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको गाउँलेहरू बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन्।
जानकारहरूका अनुसार, बाघको आफ्नो क्षेत्र (एरिया) हुन्छ। त्यो एरियामा अर्को बाघ आयो र लडाइँ गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ । शिकार गर्न नसक्ने बूढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ । बर्दियामा १ सय २५ र बाँकेमा २५ वटा बाघ छन् । बाघको संख्या योभन्दा बढिसकेको सम्बद्धहरू बताउँछन्।
निकुञ्जमा आहारा प्रजातिका जनावर प्रशस्त भए पनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ । घरमै आउन थालेपछि निकुञ्ज होइन, सामुदायिक वन नजिकका स्थानीय त्रसित छन् ।
प्रतिक्रिया