मधेशका अर्थमन्त्री जितेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण


रौतहट ।

मधेश प्रदेशका  अर्थ मन्त्री सुनिल कुमार यादव ( जितेन्द्र) ले सोमवार गृह जिल्ला रौतहट स्थित बिभिन्न स्थानको बाढी  प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गरेका छन् ।

अर्थमन्त्री जितेन्द्रले अबिरल बर्षा र लालबकैया नदीमा आएको बाढीले अति प्रभावित स्थानिय कटहरीया नगरपालिकाको वडा १ र ४ तथा गृह नगर फतुवा बिजयपुर नगरपालिकाको विभिन्न स्थानको स्थलगत निरीक्षण गरेका हुन् ।

बाढीको कारण क्षतिग्रस्त नदीको तटबन्ध र क्षतिग्रस्त बालीनालीको निरीक्षण गरेको अनुगमन टोलीमा सहभागी नेपाली कांग्रेस क्षेत्र ३ का सभापति सर्फलाल गुप्ताले बताएका छन् ।

अनुगमनपछि स्थानीयसँग कुराकानी गर्दै मन्त्री यादवले अबिरल वर्षासँगै आएको बाढीले फुटेको तटबन्ध अविलम्ब मर्मत गराउन र पीडित किसानहरूलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताएका थिए ।

अनुगमन टोलीमा मन्त्री जितेन्द्र, क्षेत्रिय सभापति गुप्ता,कांग्रेस नेताहरु शम्भु कान्त यादव, बाल्मीकी यादव लगायतको सहभागिता रहेको थियो। गत बिहिबार देखि परेको अबिरल वर्षासँगै सनिवार लालबकैया नदीमा आएको बाढीले कटहरिया ४ हर्साहा गाँउ र झौवा गाउँ बीच झण्डै ५० मीटर नदीको तटबन्ध कटान, हर्साहा गाउँ छेउको बाँधमा क्षती हुनुका साथै सो क्षेत्रको सैयौ विगाहा धानबाली र उँखु बालीमा क्षति पुगेको थियो।