तीन किशोर खेलाडी गुमेपछि शोकमा हेटौंडा

51.51k
Shares

हेटौंडा ।

सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका मकवानपुरका ३ किशोर खेलाडीको शव ल्याइएपछि सोमबार हेटौंडा शोकमा डुबेको छ ।
उनीहरुप्रति श्रद्धा व्यक्त गर्न हजारौंको उपस्थिति थियो । स्थानीयले मृतक खेलाडीको शवमा पुष्पगुच्छा अर्पण गरेका थिए । मृतक खेलाडीको पार्थिव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरुले पुष्पगुच्छाअर्पण गरेका थिए ।


काठमाडौंस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन र बारा निजगढका विकल रेग्मीको शव ल्याइएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले शव अन्त्येष्टिका लागि परिवारजनलाई बुझाइएको बताए । प्रजिअ चिलुवाल र मकवानपुर प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा शव आफन्तलाई जिम्मा लगाइएपछि सभा गरिएको थियो ।


जिल्ला खेलकुद विकास समितिनजिक हेटौंडा–४ स्थित हुप्रचौरमा गरिएको श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयको उपस्थिति थियो । एन्फा मकवानपुरको संयोजनमा खेलाडीहरुको शव उक्त स्थानमा राखिएको थियो ।
बिहीबारदेखि ३ दिन परेको वर्षाका कारण पहिरोमा परेर मकवानपुरका ७ जनाले ज्यान गुमाउँदा तीमध्ये ६ विद्यार्थी सिस्नेरीको पहिरोमा पुरिएका थिए । फुटबल प्रशिक्षणका लागि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पुगेका ४० मध्ये ६ किशोरको सपना पहिरोले थिच्यो ।


पहिरोमा पुरिएका ६ जनामध्ये एक थिए हेटौंडा–१२ का घलान । जिल्ला समन्वय समिति प्रमुख ललित घलानका एकमात्र छोरा थिए अनुपम । २०६७ कार्तिक २५ गते जन्मिएका उनी सानैदेखि फुटबलमा औधी रुचि राख्थे । छोराको इच्छा र फुटबलप्रतिको लगावले घलानले छोराको इच्छा पूरा गर्न सिस्नेरी पठाएका थिए । तर, शनिबार सिस्नेरीले घलानपुत्र अनुपमलाई चँुडेर लग्यो र परिवारमा कहिल्यै निको नहुने घाउ दिएर गयो । ४० जना साथीसँगै बत्सलादेवी माविको होस्टेलमा बसेका घलानसहित ६ किशोर कहिल्यै नफर्कने गरी बिदा भए ।


कक्षा–९ मा अध्ययनरत् अनुपम ४ वर्षका लागि ७ महिना अघिमात्र सिस्नेरी पुगेका थिए । अनुपमले शुक्रबार राति बाबुलाई फोनमा ‘मलाई लिन आउनु’ भनेका थिए । छोराको बोली सम्झिँदै घलानले आफू र परिवारलाई सम्हाल्न सकेका छैनन् । कुलेखानी जलविद्युत् आयोजनाले ड्याम खोलिएको सूचना पाएपछि विद्यालय क्षेत्र पनि डुबानमा पर्ने भएकाले होस्टेलबाट अन्यत्र सारिँदै गर्दा घलानसहित ६ जनालाई होस्टेलबाट केही माथि पुगेपछि पहिरोले पु¥यो । छोराको निधनबाट गहिरो चोट बोकेका घलानले सामाजिकसञ्जालमा लेखेका छन्–छोरा अनुपम, मैले तिमीलाई बचाउन सकिनँ ।


विहान करिब ९ बजे हेटौंडा–११ स्थित वागमती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत् मकवानपुरका ३ खेलाडीको शव ल्याइएको थियो । शव सोमबार ल्याइए पनि लामा विधि पूरा गरेपश्चात् मंगलबार विहानमात्र अनुपमको अन्तिम संस्कार हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा रहेका ४० खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो । ती विद्यार्थीहरुमा धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी पनि छन् ।


‘पुलिसले सुरक्षित ठाउँमा गएर बस्न माइकिङ गरेर आतंकित गर्ने, एन्फाका वार्डेनसहित व्यवस्थापन टिमले समयमै निर्णय गर्न नसकेको कारण दुःखद् अवस्था सामना गर्नुपरेको हो,’ पिता ललित घलानले भने–कुलेखानीको ड्याम खोलिसक्यो भाग भनेपछि सबै माथि जाने क्रममा ६ जना पहिरोमा पुरिएछन् । ‘अब एन्फाले यसलाई शिक्षाका रुपमा लियोस्, मैले जस्तो कुनै अभिभावकले अकालमा आफ्ना खेलाडी बालबच्चा गुमाउनु नपरोस्,’ उनले भने ।


जहाँ खेलाडी राख्दै आएका थिए, त्यहाँ बाढीपहिरोले असर गरेको छैन । कुलेखानीको ड्याम खोल्दा पनि असर नपुग्ने सुरक्षित स्थानबाट खेलाडीहरुलाई किन भीरको बाटो हुँदै माथि लैजानुपरेको भन्ने विषयमा परिवारसँग समन्वय नगरिएको आरोप छ । पहिरोमा ज्यान गुमाएका मकवानपुरका योञ्जनका आफन्तले भने–सबै खेलाडीलाई सँगै लगिएको भन्नेमा शंका छ ।


फुटबल संघ मकवानपुरका पूर्वउपाध्यक्ष सुबिन घिमिरेले ‘भिजनलेस प्रोजेक्ट’ र लापरबाहीका कारण खेलाडीहरुले ज्यान गुमाउनुपरेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । ‘नेपाली फुटबलमा कालो दिनको रुपमा रह्यो । ६ कलिला खेलाडीहरु नेपालको राष्ट्रियस्तरको खेलाडीको रुपमा स्थापित हुन्छु भन्ने आकांक्षामा पूर्णविराममात्र लागेन कि, जीवन नै गुमाउन पुगे । एन्फाप्रति विश्वास र भरोसा गरी सिस्नेरीमा सञ्चालन गरिएको फुटबल एकेडेमीमा पुगे । सायद एन्फाले सञ्चालन गर्ने स्तरको अवश्य थिएन । तर, विश्वासले गए,’ उनले भने ।


सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई काठमाडौं लगिएको छ । उद्धार गरिएका ३४ मध्ये ३० जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । एन्फाले पूर्णअध्ययनबिना खोलाकिनारमा एकेडेमी सञ्चालनको निर्णय गरेको आरोप छ । जसले गर्दा दुर्घटना भएको भन्दै एन्फाको विरोध जारी छ । जेठबाट सुरु एकेडेमी निर्माणमा दुरदर्शिता नअपनाउँदा अप्रिय घटना घटेको हो । एकेडेमीमा तोकिए भन्दै धेरै खेलाडी राखिएको, प्रारम्भिक छनौटमा नपरेका खेलाडीको बाहुल्यता रहेको, सामान्य प्राथमिक उपचार केन्द्र नरहेको र खेलाडीहरुको वीमा नभएको बुझिएको छ ।


उक्त विद्यालयमा एकेडेमी सञ्चालनबारे २०८० चैत ३० गते सम्झौता भएको थियो । फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ १३ वर्षमुनिका ३० पुरुष खेलाडीलाई विद्यालयमा प्रशिक्षणमा राख्न सहमतिपत्रमा हस्ताक्षर भएको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको उपस्थितिमा महासचिव किरण राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।