रामकृष्ण ढकाल अस्ट्रेलिया टुर सिड्नीबाट शुरु



लोकप्रिय गायक रामकृष्ण ढकालले अस्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट अस्ट्रेलिया टुर सुरू गरेका छन्।
शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा अवस्थित इन्द्रेणी फन्सन सेन्टरमा आयोजित रामकृष्ण ढकाल अस्ट्रेलिया टुरमा उनले आफ्ना नयाँ तथा पुराना गीत प्रस्तुत गरे।

बिहान उठ्नेबितिकै बोलको गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्ना लोकप्रिय गीत बाँचुनजेलीलाई, चरीले त छाडेर गइहाली, नजिक आउनुमा, ओराली लागेको हरिणको चाल भोलगायत गीत प्रस्तुत गरेर अस्ट्रेलिया सिड्नीवासी नेपालीलाई मन्त्रमुग्ध पारेका थिए।

गायक ढकालले स्थानीय ब्याण्डका साथ स्वरसम्राट नारायण गोपालका गीत प्रस्तुत गर्दा दर्शकले प्रत्यक्ष नारायण गोपाललाई सुनेको प्रतिक्रिया दिएका थिए। सांगीतिक कार्यक्रमको अन्त्यमा उनले आफ्नो डान्सिङ नम्बर ए माया जदौ गाउँदा दर्शक गीतको तालमा नाचेर रमाएका थिए।

रामकृष्णले सन् २००९ देखि नै अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गाएको बताए। ‘अस्ट्रेलियामा मैले सँधै माया पाउने गरेको छु, यसका लागि मसँग धन्यवाद भन्ने शब्द छैन। मैले यहाँ ट्रयाक र ब्यान्ड गरी दुई चरणमा गीत गाएँ। यसपटकको अस्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु,’ गायक ढकालले भने।

कार्यक्रममा गायक ढकालले नेपाली संगीतलाई विश्वभर चिनाउन पुर्‍याएको योगदान र संगीतमा दिएको निरन्तरताको कदर गर्दै उनलाई सम्मान गरिएको थियो। सो अवसरमा गायक ढकालले आफ्नो गीत जीवनको हिसाबको वर्ल्ड प्रिमियरसमेत गरे। ढकालले गीतमा आर्थिक अभावका कारण जीविकोपार्जनका निमित परदेसिन बाध्य नेपालीको कथा प्रस्तुत गरिएको बताए।

‘यस गीतमा अहिलेको समसामयिकता प्रस्तुत गरेका छौँ। विदेशमा रहेकाले यसको कुनै न कुनै पक्षसँग जोडिनु हुन्छ जस्तो लागेको छ। यसको शब्द भावअनुसार नै भिडियोसमेत तयार गरेका छौँ,’ उनले भने। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा मनोज खड्काको शब्द र डेनी निरौलाको संगीत रहेको छ।

धनेन्द्र रसाइलीको निर्देशनमा तयार भएको गीतको भिडियोमा दीलिप रायमाझी, सविना थपलिया, मनोज खड्कालगायत कलाकारले अभिनय गरेका छन्। नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको छ।

अस्ट्रेलियमा रहेका सहयोगी पत्रकार प्रदीप कार्कीका अनुसार कार्यक्रममा उनले नेपालमा अविरल वर्षाका कारण आएको बाढी पहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए। ‘एउटा कलाकारको धर्म नै उसको कर्म हो। नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु। उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्धार कार्य भइरहेको छ। तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु,’ ढकालको भनाइ उद्धृत गर्दै पत्रकार कार्कीले जानकारी गराए।

पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत दर्शकलाई सांगीतिक मोहमा बाँध्न सफल भएका थिए। आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएको बताए। गायक ढकालले यसपटकको दशैं अस्ट्रेलियामै मनाउने भएकाले विभिन्न शहरमा आफू प्रस्तुत हुने बताए। ढकालले न्युक्यासल, एडिलेडगायत सहरमा आफ्नो प्रस्तुति तय भइसकेको जानकारी दिए।