विदेशमा बिक्यो ज्वाइँसाब


काठमाडौं ।

दशैंको अवसर पारेर असोज २४ गते फूलपातिका दिन रिलिज हुने फिल्म ज्वाइँसाबको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्म निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, युके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो।

निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ।

पोखरेलका अनुसार फिल्म नेपालमा रिलिजमा भएको भोलिपल्टदेखि अमेरिकाको टेक्सास, क्यालिफोर्निया, न्युयोर्क, भर्जिनिया, मेरिल्यान्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायत सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुनेछ।

फिल्मका निर्देशक वसन्त निरौलाले फिल्मको पोस्टर, टिजर, गीत र पछिल्लोपटक टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले फिल्मप्रति विदेशमा बस्ने नेपालीको चासो ह्वात्तै बढेको बताए।

मौसम फिल्म्सको सहकार्यमा रेड आई फिल्म्स्को ब्यानरमा सौगात पण्डित र पदमलाल तामाङद्वारा निर्मित तथा राजकुमार पण्डितद्वारा प्रस्तुत फिल्ममा जितु नेपाल, नीति शाह, रमेश वुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, कमलमणि नेपाल, प्रकाश घिमिरे, सिपी पौडेल, दीपक अधिकारी, राजकुमार पण्डित, राजेन्द्र नेपाली, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनील तामाङ, नवीन काफ्ले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, सञ्जय थापाको द्वन्द्व निर्देशन, श्याम तामाङको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ।