घाइतेले भरियो धुलिखेल अस्पताल

4.61k
Shares

धुलिखेल ।

बिहीबार रातीदेखि शुरू भएको भीषण वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी घाइते भएका तथा बाटोमा अलपत्र परेकालाई नेपाली सेनाको हेलिकोप्टरबाट आइतबार बिहानैदेखि उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको छ।

अस्पतालको आकस्मिक कक्ष र प्राङ्गण घाइते र आफन्त, शुभचिन्तकले खचाखच भएको छ। स्वास्थ्यकर्मी, चिकित्सक, नर्सहरू बिरामीको उपचारमा दौडधुप गर्दै छन्। हेलिकोप्टर आएको आएकै छ, उद्धारमा जुटेका सुरक्षाकर्मी, स्वयम्सेवी, एम्बुलेन्सहरू बिरामीलाई आकस्मिक कक्षमा पुर्‍याउन दौडधुप गरिरहेका छन्। उद्धार गरिएका व्यक्ति र उनीहरूको झोला रुजु गराई बुझाउनु पनि सुरक्षाकर्मी तथा स्वयम्सेवीको चपेटाको विषय बनेको छ।

आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएकी घाइते पनौती नगरपालिका–१ कुसादेवीकी ५१ वर्षीया शान्ति सापकोटाको भूकम्पमा सरकारले बनाएको नमुना घर पहिरोले भत्किँदा ३० र २६ वर्षका दुई छोरी बेपत्ता भएका छन्।

उहाँ विवाहित जेठी छोरीको ४ वर्षको छोरो टुहुरो भयो, छोरीहरू पनि छैनन्, घर पनि छैन भन्दै अस्पतालको आकस्मिक कक्षमै भक्कानिनुहुन्छ। श्रीमान् गाईगोठमा कुँडो पकाउन गएकाले सकुशल रहेको शान्तिकी जेठानी दिदी भक्ति सापकोटाले बताउनुभयो।

उहाँ भन्नुहुन्छ – ‘शनिबार बिहानै माथिबाट पहिरो आएर घर भत्कियो म र देवर दौडेरजस्ता उतार्दै भित्र पस्यौं। छोरीहरू कहाँ पुगे कहाँ पत्तो भएन, ४ वर्षको बच्चा र शान्तिलाई भेट्यौं। बच्चालाई केही भएको छैन। शान्तिको आधा शरीर घरको गाह्रोले पुरिएको थियो। देवर र मैले बल्लबल्ल तानेर बाहिर निकाल्यौं। छोरीहरूलाई निकाल्न फर्केर हेर्दा दुवै छोरीहरूसहित घर पहिरोले लगिसकेछ। हामी शान्तिलाई बचाउन सुरक्षित स्थान खोज्दै अस्पतालतर्फ लाग्यौं। अहिलेसम्म छोरीहरू भेटिएका छैनन्।’

त्यसै गरी कलाती भूमिडाँडा–१२ की ५२ वर्षीया लक्ष्मी हुमागाईंको पनि घर भत्किएर मेरुदण्डमा गम्भीर चोट पुगेको छ । उहाँ पनि शुक्रवार राति २ बजेको समयमा घर पहिरोले पुरेर सोही घरभित्र पुरिनुभएको र शनिवार दिउँसो ३ बजे झन्डै १३ घण्टापछि मात्र स्थानीयले उद्धार गरी गाउँमै सुरक्षित स्थानमा राखी आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् धुलिखेल अस्पताल ल्याई उपचार भइरहेको छ।

उहाँको पनि मेरुदण्डको हड्डीमा गम्भीर क्षति पुगेको, छाती, हात, गोडामा पनि चोट पुगेको उपचारमा संलग्न धुलिखेल अस्पतालको आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘धुलिखेल अस्पतालले मानवीय क्षति ठूलो भएकाले बाढी पहिरोको पीडामा परेर आएका बिरामीको सम्पूर्ण उपचार निःशुल्क गर्नुका साथै बिरामी र बिरामीका आफन्तका लागि खानासमेत क्यान्टिनमा निःशुल्क उपलब्ध गराउँदै आएका छौं।’

काभ्रे जिल्लामा उच्च क्षति भएकाले कहाँ कति क्षति भयो र कति मानिस अलपत्र परेका छन् भन्नेबारेमा शनिवार साँझबाट पानी रोकिएसँगै खोजी र उद्धार शुरू भइरहेको र पीडितहरूलाई सेल्टर होम तथा परामर्शको समेत आवश्यकता रहेकाले विभिन्न चरणमा जिल्लाका सबै निकायसँग छलफल, बैठक भइरहेको काभ्रे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राधीश्री कक्षपतिले जानकारी गराउनुभयो। उहाँले बाढी, पहिरोका कारण मानवीय, भौतिक, चौपायलगायतको भूक्षयले खानेपानीमा समेत ठूलो क्षति पुर्‍याएको र प्रदूषित भएकाले आम नागरिकले एक महिना अर्थात् दशैंतिहारसम्म पानी उमालेर मात्र पिउन आग्रह गर्नुभयो।

करमडाँडा रोशी गाउँपालिका–११ मा तीन दिनदेखि अलपत्र परेका प्रेमचन्द्र तामाङ छिटो उद्धार हुनुपर्ने अवस्था औंल्याउनुहुन्छ। सन् २०१३ देखि २०१५ को हङकङका एनआरएन उपाध्यक्ष तामाङ हाउजिङ रिलायन्स र सेक्युरिटी कम्पनी खोलौं र नेपालमै युवाहरूलाई रोजगारी दिऊँ भनेर आएको झन्डै बाढीपहिरोमा परेर मरेको भन्नुहुन्छ । उहाँलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी धुलिखेल अस्पताल ल्याएको छ।

उहाँले नेपाली सेनाको हेलिकोप्टरले अलपत्र परेका सबैलाई जाँदैपिच्छे चाउचाउ, बिस्कुट, चिउरा, पानी लगेर दिएको, एकपटकमा ४० जनासम्म उद्धार गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सरकारले सकेको गरेकै छ। कति हिजो शनिवारै २० किलोमिटरको पैदल यात्रा गरी अन्यत्र गएर बसेका छन्। बालबालिका, बुढाबुढीहरू भोक र प्यासले प्याकप्याकी परेका छन्। उनीहरूको छिटोभन्दा छिटो उद्धार नभए भोकैले मर्छन्।’

रोशीबाट उद्धार गरिएकी भरसा अधिकारी यात्राको क्रममा आफूहरू अलपत्र परेको बताउनुहुन्छ। त्यस्तै, दोलालघाटका योगेश पोटे र नारायणकृष्ण माजु आफ्नै पसलबाट मोटरसाइकलमा निस्किएको एक्कासि पहिरो आएर पुरिई गम्भीर घाइते भएका छन्। उनीहरूलाई पनि हेलिकोप्टरले उद्धार गरी धुलिखेल अस्पतालमा ल्याई उपचार गरिरहेको छ। आइतबार हेलिकोप्टरले २ सयभन्दा बढी घाइते तथा अलपत्र परेका व्यक्तिहरूको उद्धार गरी धुलिखेल अस्पतालको प्राङ्गणमा ओरालेको छ ।