विपद्का बेला हवाईमा लुट, दिल्लीभन्दा धनगढी महँगो

1.79k
Shares

काठमाडौं ।

यती, बुद्ध र श्री एयरलाइन्सजस्ता हवाई सेवा कम्पनीले विपद्का बेला सहुलियत प्रदान गर्नुको साटो महँगो भाडा लिएको पाइएको छ। गत शुक्रवार र शनिवार विपद् परेलगतै आइतबार एयरलाइन्सलेहरूले हवाई भाडा बढाएका हुन्।

भाडा बढाएलगतै चौतर्फी आलोचना बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको बेला हवाई शुल्क नबढाउन एयरलाइन्सहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले विपत्तिको समयमा यात्रीहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नहुन अनुरोध गर्नुभएको छ।

देशभर बाढी पहिरोले बितण्डा मच्चाउँदा मुख्य राजमार्ग नै अवरुद्ध भएसँगै एयरलाइन्सहरूले भाडा बढाएका छन् । सडक आवतजावत ठप्प हुँदा एयरलाइन्सले मनपरी शुल्क बढाएको भन्दै गुनासो बढेको थियो । सामाजिक सञ्जालमा पनि बढेको भाडाको टिकट नै राखेर पोस्ट भएका छन् । शुक्रवार भन्दा अगाडि काठडमाडौंदेखि भैरहवासम्मको भाडा ५७०० रहेकोमा ९९००, काठमाडौं विराटनगरको ६००० रहेकोमा ११००० लिइएको छ।

यस्तै, काठमाडौं भद्रपुरको भाडा ६५०० रहेकोमा हाल बढाएर ११८९४ सम्म लिइएको छ। काठमाडौंबाट नयाँदिल्लीको भाडा १२३७२ रहेको छ। तर, काठमाडौंबाट धनगढीसम्मको हवाइ भाडा १७००० देखिएको छ। आइतबार बेलुकासम्म एयरलाइन्सहरूले कायम गरेको भाडादरमा परिवर्तन गरिएको छैन।

यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले भाडा बढेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्रदायकसँग वार्ता भइरहेको बताउनुभयो। मन्त्री पाण्डेले भाडा ३ लेयरको हुने त्यसमा सबैभन्दा बढी भाडा लिएको पाइएको हुँदा घटाउन पहल गरिरहेको जानकारी दिनु भयो। नेपालीहरूको महान चाड नजिकदै जाँदा तथा देशैभरी बाढी पहिरोका कारण देश रोइरहेको बेला कतै छलफल वा विमर्श नगरी भाडादर बढाउनु उचित नभएको हवाइ यात्रीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाडा दर बढेको विषय बाहिर आएलगतै वायुसेवा सञ्चालक संघ नेपालले एक विज्ञप्ति जारी गरी संघमा आबद्ध सबै वायुसेवा कम्पनीहरूले यस विपद्को घडीलाई मध्यनजर गर्दै असोज १४ गते सोमवारदेखि असोज १६ गते बुधवारसम्म अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ।

सरकारले हवाई इन्धन अविलम्ब उपलब्ध गराउन, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरूलाई लगाउँदै आएको ल्यान्डिङ, पार्किङ, नेभिगेसन, प्यासेन्जर सर्भिस चार्जलगायत अन्य दस्तुरहरूमा छुट पनि माग गरेको छ। यदि संघले भनेको जस्तो नभएमा फेरि भाडा बढाउने संकेत भने व्यवसायीहरले दिएका छन्।

त्यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको संयोजकत्वमा बसेको बैठकमा बढेको भाडा दरका विषयमा छलफल नभएको पाइएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी गरिएको विज्ञप्तिमा अन्य अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुबाट टिकट सारेबापत शुल्क नलिने गरी व्यवस्था मिलाउन निर्देशन दिए पनि व्यवसायीले बढाएको भाडाका विषयमा कुनै कुरा उल्लेख गरिएको छैन ।

राज्य व्यवस्था तथा सुशासन समितिले अस्वाभाविक रूपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिनुभएको छ।

‘यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पका रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ’, निर्देशनमा भनिएको छ– ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’