आमा नाती च्यापेर चिच्याउँदै, दुईटी छोरीहरु घरभित्रै पहिरोमा बेपत्ता

152k
Shares

धुलिखेल ।

बिहीबार रातीदेखि सुरु भएको भिषण बर्षासँगै आएको बाढी-पहिरो र डुबानमा परी घाईते भएका तथा बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट आइतबार बिहानै देखि उद्धार भैरहेको छ ।

उद्धारपछि अस्पताल पुगी उपचार गराईरहेका व्यक्तिहरु कति परिवार गुमाएको पिडा र असक्तताले छटपटाईरहेका छन् ।
उद्धार गरिएका व्यक्तिहरुलाई धुलिखेल अस्पतालको हेलिप्याडमा उतारि उपचार भैरहेकोछ । कतिपय घाईतेलाई हेलिप्याड सम्म बोकेर ल्याई अस्पताल ल्याईएकोछ । अस्पतालको आकस्मिक कक्ष र प्राङग्राण घाईते र आफन्त, शुभचिन्तकले खचाखच भएकोछ ।

स्वास्थ्यकर्मी, चिकित्सक, नर्सहरु बिरामीको उपचारमा दौडधुप गर्दैछन् । हेलिकप्टर आएको आएकै छन, उद्धारमा जुटेका सुरक्षाकर्मी, स्वयसेवी, एम्बुलेन्सहरु बिरामीलाई आकस्मिक कक्षमा पुर्याउान दौडधुप गरिरहेका छन् । उद्धार गरिएका व्यक्ति र उनीहरुको व्याग झोला रुजु गराई बुझाउँनु पनि सुरक्षाकर्मी तथा स्वयमसेवीको चपेटाको विषय बनेको छ ।


आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएकी घाईते पनौती नगरपालिका वडा नं १ कुसादेवीकी ५१ बर्षिय शान्ति सापकोटाको भुकम्पमा सरकारले बनाएको नमूना घर पहिरोले भत्किदा ३० बर्ष र २६ बर्षका दुई छोरीहरु बेपत्ता भएका छन् । उहाँ विवाहित जेठी छोरीको ४ बर्षको छोरो टुहुरो भयो, छोरीहरु पनि छैनन्, घर पनि छैन भन्दै अस्पतालको आकस्मिक कक्षमै भक्तानिनुहुन्छ । श्रीमान गाईगोठमा कुडो पकाउँन गएकाले सकुसल रहेको शान्तीकी जेठानी दिदी भक्ति सापकोटाले बताउँनुभयो ।

उहाँ भन्नुहुन्छ–शनिवार विहानै माथिबाट पैरो आएर घर भत्कियो म र देवर दौडेर जस्ता उतार्दै भित्र पस्यौ । छोरीहरु कहाँ पुगे कहाँ पत्तो भएन ४ बर्षको बच्चा र शान्तिलाई भेट्यौ । बच्चालाई केही भएको छैन । शान्तिको आधा शरिर घरको गाह्रोले पुरिएको थियो । देवर र मैले बल्ल बल्ल तानेर बाहिर निकाल्यौ । छोरीहरुलाई निकाल्न फर्केर हेर्दा दुबै छोरीहरु सहित घर पहिरोले लगिसकेछ । हामी शान्तिलाई बचाउँन बोकेर सुरक्षित स्थान खोज्दै अस्पताल तर्फ लाग्यौ । अहिले सम्म छोरीहरु भेटिएका छैनन् ।

त्यसैगरि कलाती भूमिडाडा १२ की ५२ बर्षिय लक्ष्मी हुमागाईको पनि घर भत्किएर मेरुदण्डमा गम्भिर चोट पुगेकोछ । उहाँ पनि शुक्रवार राती २ बजेको समयमा घर पैरोले पुरेर सोही घरभित्र पुरिनु भएको र शनिवार दिउसो ३ बजे झण्डै १३ घण्टापछि मात्र स्थानिय बासिन्दाले उद्धार गरि गाउँमै सुरक्षित स्थानमा राखी आईतबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत धुलिखेल अस्पताल ल्याई उपचार भैरहेकोछ ।

उहाँको पनि मेरुदण्डको हड्डीमा गम्भिर क्षति पुगेको, छाती, हात, गोडामा पनि चोट पुगेको उपचारमा संलग्न धुलिखेल अस्पतालको आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी गराउँनुभयो । उहाँ भन्नुहुन्छ–धुलिखेल अस्पतालले मानवीय क्षति ठूलो भएकाले बाढी पैरोको पिडामा परेर आएका बिरामीको सम्पूर्ण उपचार निःशुल्क गर्नुका साथै बिरामी र बिरामीका आफन्तका लागि खाना समेत क्यान्टिनमा निःशुल्क उपलब्ध गराउँदै आएका छौ ।


काभ्रे जिल्लामा उच्च क्षति भएकाले कहाँ कति क्षति भयो र कति मानिस अलपत्र परेका छन भन्ने बारेमा शनिवार साँझबाट पानी रोकिएसँगै खोजी र उद्धार शुरु भैरहेको र पिडितहरुलाई सेल्टर होम तथा परामर्शको समेत आवश्यकता रहेकाले विभिन्न चरणमा जिल्लाका सबै निकायसँग छलफल, बैठक भैरहेको काभे्र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राधीश्री कक्षपतिले जानकारी गराउँनुभयो । उहाँले बाढी, पैरोका कारण मानवीय, भौतिक, चौपाय लगायतको भूक्षयले खानेपानीमा समेत ठूलो क्षति पुर्याएको र प्रदुषित भएकाले आम नागरिकले एक महिना अर्थात दर्शै तिहार सम्म पानी उमालेर मात्र पिउँन आग्रह गर्नुभयो ।

केही गरौ भनेर आएको बाढीमा परेर झण्डै मरेको–प्रेम लामा

करमडाँडा रोशी गाउँपालिका वडा नं ११ मा तिनदिनदेखि अलपत्र परेका प्रेमचन्द्र तामाङ छिटो उद्धार हुनुपर्ने अवस्था औल्याउँनुहुन्छ । सन् २०१३ देखि २०१५ को हङ्कङ्का एनआरएन उपाध्यक्ष तामाङ हाउजिङ रिलायन्स र सेक्युरीटी कम्पनी खोलौ र नेपालमै युवाहरुलाई रोजगारी दिउँ भनेर आएको झण्डै बाढि पैरोमा परेर मरेको भन्नुहुन्छ । उहाँ आईतबार राती ११ बजे क्याथा प्यासेफिकको उडानमा हङकङ जाने टिकट रहेको बताउँनुहुन्छ । उहाँ शुक्रवार रातीनै हङकङ जान सुन्दर हरैचा ६ सुनसरीको इटहरीबाट काठमाडौ आउँदै गर्दा भारि बर्षाका कारण करमडाँडामा ३ दिनदेखि अलपत्र परेको र आज नेपाली सेनाको हेलिकप्टरले उद्धार गरि धुलिखल अस्पताल ल्याएको बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–शुक्रवार राती खुल्लै बसेपनि चाउँचाउ, विष्कुट, पानी किनेर खान पाएका थियौं । शनिवार विहान हुँदा पसलका खानेकुरा पनि सकियो १ प्याकेट चाउँ चाउको १ सय रुपैया तिरेर पनि नपाउँने भयो । ३ सय भन्दा बढी गाडि रोकिएका थिए । हेर्दा हेर्दै आफु बास बसेको पसल समेत आँखा अगाडिनै बगाएर लग्यो । सबैको रुवावासी र भागदौड भयो । गाउँमा पनि खाद्यान्न सकिईसकेको थियो । स्थानियले सकेजति सघाएकै हुन । उद्धार टोली पुग्न पनि कतै बाटो थिएन र पानी परेर कतै नदेखिने अवस्थामा हेलिकोप्टर पनि जान सकेन ।

प्राईभेट हेलिकोप्टर बोलाए १ लाख ८० हजार पर्छ ५ जना भन्दा बोक्न सकिन्न भन्यो । त्यहि पनि आउँन त भनेको शनिवार आउँन सकेन । आईतबार विहान ११ बजे नेपाली सेनाको हेलिकप्टर मार्फत सरकारले निःशुल्क उद्धार गर्यो । त्यहाँ अलपत्र परेका सबैलाई जाँदैपिच्छे चाउचाउ, विस्कुट, चिउरा, पानी लगेर दिएकोछ । एकपटकमा ४० जना सम्म उद्धार गरेकोछ । सरकारले सकेको गरेकै छ । कति हिजो शनिवारै २० किलो मिटरको पैदल यात्रा गरि अन्यत्र गएर बसेका छन् । बालबालिका, बुढाबुढीहरु भोक र प्यासले प्याक प्याकी परेका छन् । उनीहरुको छिटो भन्दा छिटो उद्धार नभए भोकैले मर्छन ।

रोशीबाट उद्धार गरिएकी भरसा अधिकारी सुनसरी भन्नुहुन्छ–यात्राको क्रममा गाडि बन्दभयो । पहिलानै अगाडि खोला बढेको जानकारी कतै दिईएन । रोशी गाउँपालिकाको डम्फुपार्कमा पुगेर गाडि रोकियो । म त्यहि घुमेर बाहिर निस्कोको मात्र थिए । एक्कासी सबैजना कोलाहल गर्नथाले फर्केर हेर्दा त्यो पार्क बगाई सकेको रहेछ । त्यस्तै दोलालघाटका योगेश पोटे र नारायणकृष्ण माजु आफ्नै पसलबाट मोटर साईकलमा निस्किएको एक्कासी पैरो आएर पुरिई गम्भिर घाईते भएका छन् ।

उनीहरुलाई पनि हेलिकोप्टरले उद्धार गरि धुलिखेल अस्पतालमा ल्याई उपचार गरिरहेकोछ । आईतबार हेलिकोप्टरले २ सय भन्दा बढी घाईते तथा अलपत्र परेका व्यक्तिहरुको उद्धार गरि धुलिखेल अस्पतालको प्राङगाणमा ओरालेको छ ।