राजेश हमालको नरसिंहा अवतार लुक्स


काठमाडौं ।

लोकप्रिय अभिनेता राजेश हमालले आठ वर्षको अन्तरालपछि अभिनय गर्न लागेको फिल्म नरसिंहा अवतारको शुभ मुहूर्त गरी छायाँकन आरम्भ गरिएको छ।

राजधानीको बालाजुमा अवस्थित एनएफडिसि स्टुडियोमा फिल्मको मुहूर्त गरी छायाँकन शुरु गरिएको हो। मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, प्राविधिकलगायतको सहभागीता थियो। एक्सन तथा सोसल ड्रामामा निर्माण हुने फिल्म निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्दैछन्।

निर्देशक भट्टराईले फिल्मका लागि अभिनेता हमाललाई मनाउन ३ महिना लागेको र हमालले धेरै स्क्रिप्ट नगरेर आफ्नो स्क्रिप्टमा काम गरेको दाबी गरे। अभिनेता हमालले भने फिल्मको कथा आफूले अहिलेसम्म अभिनय गरेको भन्दा फरक रहेकोले अभिनय गर्न लागेको बताए।

अभिनेत्री नीति शाहले फिल्ममा राजेश हमाल भएका कारण पनि यो फिल्मको टिमसँग जोडिएको बताइन्। ‘मलाई राजेश हमालले पहिल्यैदेखि नै फिल्म खेल खेल भन्नुहुन्थ्यो। अहिले आएर उहाँसँगै काम गर्न पाउँदा एकदमै खुसी छु’ नितीको भनाई थियो।

निर्माणकै क्रममा आगामी फागुन १४ गते शिवरात्रिका लागि रिलीज डेट तोकिएको फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरलगायतका कलाकारले अभिनय गर्नेछन्। फिल्म क्रिएटिभ सिने आर्टको व्यानरमा नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले निर्माण गर्न लागेका हुन्।