पुस्तक चर्चा: कथाकार गौतमद्वारा रचित परिवर्तनका कथाहरू

6.58k
Shares

परिवर्तनको वर्तमान दुनियाँमा साधारण मानिसको दैनिक जीवनयापन हावाझैँ सर्वत्र उडिरहेको छ। उनीहरू आफैँसँग सामना गर्न दिन–प्रतिदिन अक्षम बन्दै गएका छन्। परिवर्तनलाई स्वीकार गर्न बहुत कष्टप्रद हुन्छ। मानव सभ्यतादेखिका अलङ्कारिक पृष्ठहरूलाई केलाउने हो भने एक जमात निरन्तर परिवर्तनको पक्षमा र अर्को जमात निरन्तररूपमा यथास्थितिको पक्षमा सामेल हुँदै आएको स्पष्ट लोकोक्ति भेटिन्छ। अहिलेको विश्व परिवेश हेर्ने हो भने आधाभन्दा बढी जनसङ्ख्या यथास्थितिकै पक्षमा उभिएको छ। त्यो मानवीय दैनिक क्रियाकलापबाट प्रमाणित हुन्छ। नेपालको सन्दर्भमा पनि करिब ६० प्रतिशतभन्दा अधिक सङ्ख्या यथास्थितिकै पक्षमा देखिन्छ । बाँकी ४० प्रतिशत सङ्ख्यामध्ये अधिकांशले आर्थिक परिवर्तनलाई स्वीकार गरिरहेका छन् भने सामाजिक क्रियाकलापको परिवर्तनका पक्षमा त विरलै शक्ति छ।

यसको सीधा प्रभाव नेपाली साहित्यमा पनि देखिएको छ। नेपाली कथा आख्यान क्षेत्रमा लामो समयदेखि परम्परागत चरित्रको विश्लेषणले विशिष्ट स्थान पाएको देखिन्छ। फाट्टफुट्ट लैङ्गिकता, आधुनिक मानव यान्त्रिकीकरण, मनोवैज्ञानिकता, यौनिक क्षमता तथा कलाका विषयमा कथाहरू नलेखिएका होइनन्। तर ती सबै कृतिहरू अझै पनि स्वीकार्य छैनन् । फेरि त्यस किसिमले लेखिएका अधिकांश कथाहरूले कथाको न्यूनतम मूल्य र मान्यतालाई आत्मसात् गरेको पनि देखिँदैन । त्यस्ता विषयमा लेखिनु नै हुँदैन भन्ने होइन, लेखिनुपर्छ । तर त्यसको परिणामलाई समेत पूर्वमूल्याङ्कन गरिनुपर्ने हुन्छ। नेपाली कथा क्षेत्रमा यौन तथा मनोविज्ञानलाई विश्वेश्वरप्रसाद कोइरालाले जसरी भित्र्याएका थिए त्यस समयमा उनले पनि चुनौतीपूर्ण कदम नै उचालेका हुन्। यस्तै अवस्था अहिले वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक विषयका कथाहरूमा देखा परेको छ। लैङ्गिकता, यौन कला तथा चरित्रका विषयमा अहिले पनि स्थापित कतिपय लेखकहरू हात हाल्न डराएका छन् । उनीहरूले यस्तो विषय आफ्नो अनुकूलन नठानेका पनि हुन सक्छन् । कथाकार सञ्जय गौतमकृत अस्तित्वले यस्तै विषयलाई मूल विषय बनाएको छ । उनी कतिसम्म सफल हुन सक्छन्, त्यो भने हेर्न बाँकी नै छ।

गौतमका कथाहरूमा हाम्रै वरिपरिको सामाजिक यथास्थितिलाई लेखिएको छ । कथाका विषयहरूले यथास्थितिबाट अग्रगमन अर्थात् परिवर्तनको मार्ग पहिल्याउन खोजेका छन् । अनुभवजन्य तत्त्वहरूले उनी भरिपूर्ण छन् । प्रस्तुत कथासङ्ग्रहमा अस्तित्वमा १२ वटा कथाहरू सङ्गृहीत छन् । प्रमुखरूपमा पुस्तान्तरणका कुराहरूअन्तर्गत पारिवारिक व्यवस्था, सामाजिक÷सांस्कृतिक रुपान्तरण, राजनीतिक संस्कृति, धार्मिक आस्था र विश्वास, जातीयताका मुद्दाहरू तथा लैङ्गिक पहिचानलाई सम्बोधन गरिएको छ । कथामा सहायकरूपमा प्रेम, गरिबी, भोकमरी, अशिक्षा, बेरोजगारी, मद्यपानको बिगबिगी, मानव यान्त्रिकीकरण र प्रविधिको प्रयोगलगायतका विषयहरूलाई सम्बोधन गरिएको देखिन्छ । १२ वटै कथामा कथाकार फरक–फरक शैलीमा प्रस्तुत भएका छन् ।

अस्तित्व उनको पहिलो कृति हो । यसर्थ पनि उनले आफ्नो यकिन मार्ग पहिल्याउन सकेको देखिँदैन । तथापि कथामा पात्रहरू चयनमा लेखक अब्बल देखिन्छन् । उनले हजुरबुबा, बुबा र छोरा गरी तीन पुस्ताका व्यक्तिलाई हरेक कथामा पात्र बनाउने सफल अभ्यास गरेका छन् । यसबाट प्रस्ट हुन्छ कि उनी हाम्रै समाजका वरिपरि घुमिरहेका छन् । सामाजिक घटनामा झुम्मिरहेका छन् । सङ्गृहीत प्रथम कथा छोराको मायादेखि बाह्रौँ कथा माटोको मायासम्म पुग्दा समय बितेको पत्तै हुँदैन । पहिलो कथाले हाम्रो सामाजिक मनोविज्ञानमाथि ठूलै प्रश्नचिह्न खडा गरेको छ भने अन्तिम कथा माटोको मायाले अहिले समाजमा चलेको विदेश जाने ट्रेन्डमाथि प्रहार गरेको छ । मन दिन्न, डमी, पागललगायतका कथाहरू प्रेममाथि लेखिए तापनि यी कथाले सामाजिक यथास्थितिलाई नै लेखेका छन् । बहादुर नेपाली जातीयतामाथि लेखिएको छ भने रानी कथाले नेपाली समाजको विगत ७० वर्ष लामो राजनीतिक संस्कृति र पछिल्लो समयको राजनीतिक वितृष्णालाई सरल ढङ्गले चित्रण गरेको छ । प्रश्नोत्तर कथा लैङ्गिकताका विषयमा लेखिएको छ । यस कथाले मानव सभ्यताको आदिम युगदेखि कष्टकर जीवन बिताउन बाध्य भएका तेस्रो लिङ्गीका मानिसको यथार्थतालाई उल्लेख गरेको छ । यो कथा ती तमाम व्यक्तिहरूको हो, जो सामाजिक जीवन जिउन बहिष्कृत छन्, जो तिरस्कृत छन्, जो आफ्नो शारीरिक कमजोरीका कारण बौद्धिक क्षमतासमेत प्रस्तुत एवम् प्रस्फुटन गर्न सकिरहेका छैनन् ।

कथाको विषयवस्तु चयनमा सफल देखिएका कथाकार गौतमले नेपाली साहित्य क्षेत्रमा जबरजस्त स्थापित साहित्यिक मूल्य–मान्यतालाई भत्काएका छन् । उनले लेख्नुपर्ने र भन्नुपर्ने विषयलाई सीधा–सीधा भनेका छन् । यसलाई एकातिरबाट हेर्दा उनले परम्परालाई भत्काए । अर्कातिरबाट हेर्ने हो भने उनीले कथा साहित्यका मूल्य–मान्यताहरू नै पालना गरेनन् । जे होस्, उनी सामाजिक घटनाहरूले अनुभवी छन् । समाजका क्रियाकलापलाई नजिकबाट नियालेका छन्।

विशेषतः उनमा तीन पुस्तालाई सम्बोधन गर्न सक्ने कला छ । यो प्रशंसनीय छ । एउटै कथामा कम्तीमा तीनवटा पुस्ताका फरक–फरक स्वभावका पात्रहरूलाई समावेश गर्न सक्नु खुबीको कुरा हो । कथामा गौतमले प्रेमका मामलामा दुईवटा भिन्न स्वभावलाई चित्रण गरेका छन्। उनका केही कथामा प्रेम पनि सामाजिक यथास्थितिअनुसार सञ्चालित भएको दृष्टान्त छ भने केही कथामा प्रेम सामाजिक यथास्थितिभन्दा भिन्न रहेको दृष्टान्त भेटिन्छ। सामूहिकरूपमा त उनी समाजभन्दा टाढा गएका छैनन् । तर निरपेक्षरूपमा लेखनमा एकरूपता देखिँदैन । यति हुँदाहुँदै पनि प्रेममा आवेग, यौन, समर्पण, विश्वास र द्वन्द्वजस्ता विषयलाई मजाले प्रस्तुत गरेका छन्। उनका कथाहरूमा सामाजिक चिन्तन छ । नवीन घटनाहरूको विश्लेषण छ । प्रविधिको दुरुपयोगले निम्त्याएको समस्या छ।

वर्तमान समयमा आमाबुवा र छोराछोरीका बीचको सम्बन्धको नवीन विचारधाराको प्रयोग गरिएको छ । कृति जरुर पठनीय छ । औसतमा सङ्ग्रहमा धनात्मक र ऋणात्मक पक्षहरू पनि बराबर छन् । सामाजिक यथार्थताको सम्बोधन, परिवर्तनलाई स्वीकार, पुस्तान्तरणका मतभेद, वास्तविक विषयहरू कथाका विषय बन्नुलगायतका पक्षहरू धनात्मक पक्ष हुन् । कथासङ्ग्रहको भाषाशैली, मूल्य र मान्यता, आख्यानीकरण, परिवेश विश्लेषण, पात्रताको चित्रण, दृष्टान्तको प्रयोगलगायतका पक्षहरूमा उनी ऋणात्मक छन्।

कथामा पात्रहरू चयनमा लेखक अब्बल देखिन्छन् । उनले हजुरबुबा, बुबा र छोरा गरी तीन पुस्ताका व्यक्तिलाई हरेक कथामा पात्र बनाउने सफल अभ्यास गरेका छन् । यसबाट प्रस्ट हुन्छ कि उनी हाम्रै समाजका वरिपरि घुमिरहेका छन् । सामाजिक घटनामा झुम्मिरहेका छन्।

नेपाली समाजमा अहिले विदेश मोह बढ्दो छ । धेरैजसो नेपाली युवाहरूमा विदेश जाने अभिरुचि जाग्नु जरुर राम्रो पक्ष होइन । यसले वैदेशिक रोजगारी तथा विप्रेषण आयातमा सकारात्मक भूमिका खेले तापनि आत्मनिर्भरताबाट परनिर्भरता बढाउने कुरामा कथाकार स्पष्ट छन् । अहिले त झन् के भइरहेको छ भने, युरोपियन तथा अमेरिकन देश जाने नेपाली युवाहरू घर नै नफर्किने र घरमा बूढा आमाबुबा मर्ने बेलामा पानीसमेत नपाउने अवस्था सिर्जना भएको दुःखदायी विषयलाई पनि कथामा प्रस्तुत गरिएको छ । धार्मिकरूपमा हेर्ने हो भने इस्लाम, इसाई र हिन्दू धर्मका थुप्रै मिथक तथा परम्परागत प्रयोगका विषयसमेत कथामा प्रशस्तै आएका छन् । यस कथासङ्ग्रहले समाजका बहुआयामिक विषयलाई एकीकरण गरेको छ । यसर्थ यो कृति सामाजिक यथार्थवादी धाराभन्दा भिन्न त हुन नै सक्दैन, तथापि यसमा केही संरचनात्मक दोष भने जरुर रहेका छन् ।

समग्र विषयवस्तुलाई हेर्दा कथाकार आफू पनि युवापुस्ताका व्यक्ति भएकाले उनका कथाहरूमा बढीभन्दा बढी युवा समस्याहरू आएका छन् । उनले राजनीतिक संस्कृति तथा बेथितिलाई उदाङ्गो नै पार्ने चेष्टा गरेका छन् । उनको यो प्रयासमा सकारात्मक सुधार आउने हो भने यस्ता विषयहरू गौतमका आगामी कथाका विषयवस्तु बन्न सक्छन् । सामाजिक घटनाहरूलाई उनले नजिकबाट महसुस गरेका छन्। त्यो कुरा उनका हरेका कथाबाट स्पष्ट हुन्छ। बनावटी कथा लेख्ने प्रयास उनमा छैन, तथापि कथामा आवश्यक पर्ने कल्पनाशीलताका विषयमा उनी कही चुकेका छन्। कहीँ–कहीँ आवश्यकताभन्दा बढी कल्पना पनि भर्न खोजेका छन्।

सबैभन्दा चाख लाख्दो विषय उनले आजसम्म दुनियाँमा कलम र हतियारको युद्ध अर्थात् बल र कूटनीतिको युद्ध मात्र भएकोमा निकट भविष्यमा यन्त्र र भावनाको समेत युद्ध हुन सक्ने आशंका व्यक्त गरेका छन्। जुन विषयमा विश्वविख्यात वैज्ञानिकहरू वर्षौंदेखि अध्ययनरत छन्। अन्त्यमा लेखक यसर्थ पनि धन्यवादका पात्र छन् कि उनले आजसम्म नेपाली साहित्यमा प्रयोग गरिएका भन्दा भिन्न स्वभावका विचारलाई भित्र्याएका छन्। कथाहरू पढ्दा गौतममा परिवर्तनलाई स्वीकार गर्न सक्ने क्षमता छ। जसले परिवर्तनलाई सहजै स्वीकार गर्न सक्छ, सबैभन्दा सुखदायी जीवन उसैको हुन्छ।