पूर्वतयारीमा कमजोरीले क्षति बढी

1.13k
Shares

काठमाडौं ।

राजधानी उपत्यकामा नै सरकारले विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी नगर्दा ठूलो मानवीय क्षति भोग्नुपरेको छ। विपद् व्यवस्थापनमा सरकारका धेरै निकायहरू कार्यरत छन् तर उनीहरू पूर्वतयारीमा भने पूर्ण रूपमा चुकेको पाइएको छ। हरेक वर्षायाममा तराईमा डुबान, बाढी तथा पहाडमा पहिरोका कारण अर्बाैं धनमाल र सयौंको ज्यान जाने क्रमले यसपटक पनि जारी रह्यो ।

प्रधानमन्त्री विपद् व्यवस्थापन समिति तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले तीन दिनअगाडि नै जोखिमका बारेमा थाहा पाए पनि पूर्वतयारीमा प्रभावकारी काम गर्न नसक्दा बढी क्षति भोग्नुप¥यो । उपत्यकामै नागरिक डुबिरहँदा पनि घण्टौंसम्म पनि सरकारको उपस्थिति भएन । जसका कारण केहीले ज्यान जोगाउन विवश भए । सरकारले समयमै पूर्वतयारी गरेको भए मानवीय तथा भौतिक क्षति कम हुन सक्थ्यो ।

काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, स्थानीय पूर्वाधार विभाग, सडक विभागजस्ता सहरी विकास, भौतिक पूर्वाधार गर्ने निकाय भए पनि आफ्नो जिम्मेवारी सही रूपमा नगर्दा वर्षेनी बाढी पहिरोको जोखिममा नागरिकहरू मृत्युवरण गर्न बाध्य छन् । त्यसै गरी स्थानीय सरकारले अधिकार प्रयोग गर्न नजान्दा वातावरणीय प्रभाव मूल्यांकन नगरी डाँडाकाँडामा डोजर चलाएका छन् । जसले गर्दा भूक्षय भई पहिरो गइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले गत बुधबार नै बाढीपहिरोको जोखिम रहेको जनाए पनि सरकारका निकायले पूर्वतयारी गर्न नसकेको नागरिकहरूको गुनासो रहेको छ । तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी डा. डिजन भट्टराईले कार्यालयले समन्वयको काम गर्ने भएको हुँदा सो कार्य जारी राखेको बताउनुभयो । सरकारले यस्तो विपद्का बेला कसरी कार्य गर्नुपर्छ, तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा भने सरकार चुकेको पूर्वाधार विज्ञले बताएका छन् ।
बाढीपहिरो किन जान्छ ?
अवैज्ञानिक बस्ती विकास र सहरीकरण
पहाड र तराई दुवैतिर अवैज्ञानिक बस्ती विकास र सहरीकरणको उन्मत्तता थामिने कुनै लक्षण देखिएको छैन । पहाडमा नदी छेउमा भइरहेको बस्ती विकास र तराईमा वर्षाको पानीको प्राकृतिक प्रवाहलाई प्रभावित गर्ने गरी भएको सहरीकरणका कारण बाढीपहिरो र तट कटानमा यो भयावह सिर्जना भएको हो ।

नदी किनारामा बस्ती विकास
नदी किनारमा बस्ती विकास गर्नु प्राकृतिक नियमको विपरीत विषय हो । नदीको दुवैतर्फ निश्चित चौडाइका कडा काठका ठूलाठूला जंगलहरू र बेत बाँसजस्ता काँडेदार झाडीहरू हुनु आवश्यक भए पनि यस विषयमा कसैको ध्यान पुग्न सकेको छैन ।

नदीको स्रोतको अवैज्ञानिक उत्खनन
नदी स्रोतको अवैज्ञानिक उत्खनले गर्दा नदीको आधार कतै होचो र कतै अग्लो हुने, नदीको प्रवाह गतिमा वृद्धि हुने र अनियमित प्रवाह उत्पन्न हुन गई नदीको पानीले कति बेला कुन तटमा विध्वंश मच्चाउने हो सोको अनुमान गर्न कठिन हुन गएको छ । तराईमा चुरेजस्ता क्षेत्रमा यसको समस्या विकराल बन्दै गएको छ।

पहाडमा जथाभाबी बनाइएका सडक
पहाडमा हिउँदमा डोजर लगाएर सडक खन्ने र अबिर जात्रा गर्ने अनि वर्षामा त्यही अव्यवस्थित सडकले निम्त्याएको पहिरोका कारण गाउँका गाउँ बगाएर शव यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ती सडक र ती सडकमा गुड्ने गाडीको कम्पनका कारण जाने भूक्षयका कारण नेपालका नदीहरूमा पानी र लेदोको अवस्था बराबरजस्तो हुने अवस्था सिर्जना भएको छ।

नदी तटबन्धनको अवैज्ञानिकता
वर्तमान समयमा तराईमा गरिएका नदी तटबन्धन टी आकारका बाँधमा आधारित छन् । जलप्रवाहको वेग बढी भएका स्थानमा यस्ता तटबन्धहरू औचित्यहीन हुन्छन् । यस्ता बाँधहरू त प्रवाह वेग अति न्यून हुने बंगलादेशका नदीहरूलाई मात्र उपयुक्त हुन्छ ।

जलप्रवाह क्षेत्रको वन संरक्षणमा उदासीनता
जल प्रवाह क्षेत्रमा सदावहार वनहरूको अपरिहार्यता हुन्छ, पहिरो र भूक्षय नियन्त्रण तथा पानीको सौम्य प्रवाहका लागि । तर, जलप्रवाह क्षेत्रमा सदावहार वनको विकास र विस्तारमा चरम उदासीनता छ । वन विस्तारका नाममा फैलिएका सल्लाका वन र एकै प्रजातिका वनका कारण माटो खुकुलो हुने र झाडीको अभावमा पहाडमा भूक्षय र पहिरोको खतरा अझ बढेर गएको छ ।