बाढी-पहिरोले काठमाडौं उपत्यकामा मात्रै ३७ जनाको मृत्यु

3.2k
Shares

काठमाडौं ।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण राजधानी उपत्यकामा ३७ जनाको मृत्यु भएको छ भने करोडौंको क्षति पुगेको छ।
अविरल वर्षाका कारण बाढी र पहिरोमा परी उपत्यकामा १३ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढी र पहिरोमा परी अलपत्र परेका १ हजार ५३ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ।

वर्षापछि आएको बाढी तथा पहिरोले काठमाडौंमा १२, ललितपुरमा २० र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण ललितपुरमा ९ र भक्तपुरमा ४ जना अझै बेपत्ता छन् । सोही कारण काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरमा २ जना घाइते भएका छन् ।

सरकारले एक हप्ताअघिदेखि नै राजधानी उपत्यकालगायत देशभरमा नागरिकलाई शुक्रवारदेखि आइतबारसम्म अविरल वर्षा हुने र त्यसले जनधनको क्षति पुर्‍याउन सक्ने भएकाले सर्तक रहन आग्रह गरेको थियो। लगातारको वर्षाले शुक्रवारभन्दा शनिवार बढी क्षति पुर्‍याएको छ। शुक्रवार रातिदेखि नै राजधानी उपत्यकाका मुख्य तथा सहायक नदीहरूमा पानीको बहाव बद्दै गएर बस्ती बस्तीमा प्रवेश गर्न थाले पनि सुरक्षा निकायबीच समन्यन नहुँदा राजधानी उपत्यकामा मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति हुन पुगेको छ ।

उपत्यका भएर बग्ने ठूला तथा सहायक नदी किनाराकाको दायाँबायाँ रहेका आवासीय तथा विभिन्न भवनहरूमा बाढी प्रवेश गरी वितण्डा मच्चाएको छ। राजधानीका ठूला तथा साना नदीहरू मिसिएर बल्खुबाट एउटै हुँदै चोभारतर्फ प्रवेश गर्ने नदीमा पानीको मात्रा अत्यधिक भएपछि बल्खु क्षेत्रमा ठूलो क्षति हुन पुगेको छ।

खोलाका दायाँबायाँ रहेका कच्ची घरहरूमा बस्ने मानिसहरूको अवस्था बेहाल भएको थियो । उद्धारका लागि समन्वय नहुँदा बल्खुखोला दायाँबायाँ र नख्खुखोला दायाँबायाँ ठूलो मात्रामा भौतिक तथा मानविय क्षति हुन पुगेको छ । राजधानी उपत्यामा नै उद्धारका लागि समन्वय नहुँदा केही मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् ।

घरको छानामा चढेर उद्धारका लागि पटकपटक आग्रह गरेको भए पनि सुरक्षा निकायको टोली समयमा पुग्न नसक्दा क्षति हुन पुगेको स्थानीयले गुनासो गरेका छन्। राजधानी उपत्याकामा मात्र झन्डै १२ हजारको हाराहारीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका थिए। नेपाली सेनाले उद्धारका लागि हेलिकोप्टरको समेत प्रयोग गरेको थियो । सेना, प्रहरी र सशस्त्रले मोटरबोटलगायत विपतमा प्रयोग हुने सामग्री र गोताखोर प्रयोग गरिएको भए पनि अत्यावश्यक क्षेत्रमा समयमा नै उद्धारकर्मी नपुग्दा क्षति हुन पुगेको थियो।

झण्डै ५४ वर्षपछि राजधानीमा अत्यधिक वर्षा भएका कारण जनजीवन अस्तव्यस्त भएको हो । उद्धारका लागि स्थानीयको सक्रिय सहभागिता नहुँदा पनि क्षति बढी भएको बताइएको छ । तीनवटै सुरक्षा निकायले भने समन्वयको अभावले मानवीय क्षति भएको भन्ने विषयलाई अस्वीकार गरेका छन् । सबै क्षेत्रमा संगठनसँग उपलब्ध भएका सामग्री प्रयोग गरी उद्धार तथा राहतको कामलाई तीव्रता दिइएको थियो ।

सहकर्मी ईश्वरराज ढकालका अनुसार ललितपुरमा बाढीपहिरोमा परी ४ सय ८१ जनाको उद्धार गरिएको छ। बाढीमा फसेका ३ विदेशीसहित २ सय ८६ जनालाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको थियो। जिल्ला प्रशासन कार्यालयले ललितपुरले दिएको जानकारीअनुसार नेपाली सेनाको ८ सय, नेपाल प्रहरीको १ हजार १ सय र सशस्त्र प्रहरी बलको ४ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो।

बाढीले ललितपुर जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीपछि आएको डुबानका कारण जिल्लाको सबै सडक सञ्जाल ठप्प भएको छ । बाढीको कारण कान्तिलोकपथ अवरुद्ध भएको छ। सातदोबाटो–गोदावरी सडकखण्ड, कर्मनासा, मनोहरा, नख्खु र वागमती करिडोर ठप्प भएको छ। नख्खुखोलामा आएको बाढीले नख्खु कारागारमा क्षति पुगेको छ । यसअघि २०३८ सालमा नख्खुखोलामा भीषण बाढी आएको थियो । ‘झण्डै ४३ वर्षपछि नख्खु दोभान तहसनहस हुनेगरी भीषण बाढी आएको छ’ – स्थानीय सालिकराम कुँवरले भन्नुभयो।

उहाँका अनुसार मेडिसिटी अस्पतालको इमरजेन्सी कक्षमा डुबान भएको छ । मेडिसिटी नजिकै रहेको हारमोनी कोलोनी, सनराईज कोलोनी, नख्खु दोभानमा बनेका करिब २ सय घरमा डुबान भएको छ । डुबान भएको करिब चार घण्टापछि सुरक्षा निकायले घर र अपार्टमेन्टमा फसेकालाई उद्धार गरेको थियो । राजधानीभित्रै भएर बग्ने नदी खोला किनाराका बस्तीमा पानी पसेर डुबान भएको छ । बल्खु हुँदै उपत्यका बाहिरीने वागमती र नख्खुलाको दोभानबाट गल्छीमा पानी बाहिरिन नसकेका कारण ठूलो धनमाल क्षति भएको हो । घर डुबानमा परेको इन्द्रलाल महर्जनले नख्खु खोलामा आएको बाढीको कारण दोभान क्षेत्रमा बनेका अधिकांश घर डुबानमा परेको जानकारी दिनुभयो ।

समयमा उद्धार हुन नसक्दा ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनीनजिकै नख्खु खोलाले बगाएर ४ जना बेपत्ता भएका थिए । झन्डै एक घण्टासम्म उद्धारको पर्खाइमा जस्ताको टहरामाथि बसे पनि उनीहरूको उद्धार हुन सकेन । त्यसपछि टहरोसँगै उनीहरूलाई बगाएको थियो ।

भक्तपुर सहकर्मी पुष्करराज बुढाथोकीका अनुसार अविरल वर्षाले भक्तपुरको हनुमन्ते, खस्याङखुसुङलगायतका नदी एवम् खोलामा पानीको सतहले बढेर भक्तपुरको मुख्य सडक अरनिको राजमार्ग र सल्लाघारी पेप्सीकोला सडक, सल्लाघारी–पेप्सीकोला सडकको दुवाकोट मोडमा कासंखोलाको त्यसै गरी कौशलटारबाट बालकोट जाने पुल अवरुद्ध भएको थियो।


मध्यपुर ठिमी न.पा.३ कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालयमा मनहरा खोला आसपास क्षेत्रमा टहरा बनाई बस्दै आएका विभिन्न जिल्लाका महिला, पुरुष र बालबालिका गरी १३० जना मानिसहरू खोलामा पानीको बहाब बढी बस्तीमा पानी पसेको र टहराहरूमा बस्न जोखिम भएकोले विद्यालयमा बसेको प्रहरीले जनाएको छ ।

यसै गरी जिल्लाका विभिन्न स्थानमा डुबान र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष गरी ४१ जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।