पहिरोमा पुरिएर तीन जनाको मृत्यु, नेपाली सेनाका दुई जवानसहित चार बेपत्ता

56.78k
Shares

दोलखा ।

अविरल बर्षाका कारण शनिवार दोलखाको लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम र भीमेश्वर नगरपालिका वडा नम्बर–६ मैदानेमा पहिरोमा परी तीन जनाको मृत्युु भएको छ भने नेपाली सेनाको दुई जवान सहित चार जना बेपत्ता रहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताएका छन् ।


शनिवार दिउँसो दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ लामाबगर स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साईटमा रहेको कन्ट्रोल टावरसंगैको भवन लेदो सहितको पहिरोले पुरीदा नेपाली सेनाको गरुडदल गडाका दुई जना र आयोजनामा कार्यरत कर्मचारी नवलपरासीका कृष्णप्रसाद चौधरी तथा दोलखाका जयराम तमाङ सहित चार जना हराई रहेको दोलखाका प्रहरी प्रमुुख प्रहरी नायव उपरीक्षक खड्काले बताए ।


नेपाली सेनाको गरुडदल गणले पनि पहिरोमा परी सेनाको दुई जवान हराई रहेको पुष्टि गरेको छ । प्रतिकुल मौसमका कारण पहिरो गएको स्थानमा पुग्न कठिनाई हुँदा खोजिकार्यमा समस्या भै रहेको गरुडदल गणले जनाएको छ । त्यसैगरी शनिवार दिउँसो नै भीमेश्वर नगरपालिका वडा नम्बर–६ मैदाने स्थित रामकुुमार भुजेलको घर पहिरोले पुरीदा उनी सहित उनको श्रीमती राधिका भुजेल र छोरा सुजन भुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए ।

पहिरोमा पुरीएका मृतक रामकुमार भुजेलका ३ बर्षको छोरा युवराज भुजेललाई भने प्रहरी निरीक्षक शत्रुघन महतो नेतृत्वको नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले जिवितै उद्दार गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
जिवितै उद्दार गरिएको बालकको पालन पोषण र १२ कक्षासम्म पढाउने जिम्मेवारी भीमेश्वर नगरपालिकाले लिने नगरप्रमुख इश्वर नारायण मानन्धरले बताए ।

त्यसैगरी तामाकोशी नदिमा आएको बाढीले खिम्ति जलविद्युत आयोजना स्थिलमा रहेको धुलिखेल अस्पतालको भवन, विद्यालय भवन र आयोजनाको एउटा कर्मचारी आवास बगाएको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरी चौकी भने सुरक्षित स्थानमा सारीएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा मानविय क्षति भने नभएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
तस्विरः भीमेश्वर नगरपालिका वडा नम्बर–६ मा पहिरो गएको स्थान र उद्दार गरिएको बालक ।