ललितपुरमा बाढीपहिरोबाट १८ जनाको मृत्यु


ललितपुर।

अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट ललितपुरमा हालसम्म १८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल परिचालित छन्।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिएको जानकारीअनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुईजना बेपत्ता भएका छन्।

प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारीअनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाउँ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट ४१६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।