काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार गरियो- गृहमन्त्री लेखक


काठमाडौँ । 

गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौँ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिए ।

“दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।” गृहमन्त्री लेखकले भने, “ मुलुकमा ठुलो विपद्को स्थिति आएको छ ।” उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

वर्षाका कारण काठमाडौँ भित्रने सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । “विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।”, उनले भने, “ बाढी, पहिरो लगायत विपद् सम्बन्धी पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।”

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए ।

“खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो ।”, उनले भने, “स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।”