छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला अदालत कास्कीले शुक्रबार उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई सुरूमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। उक्त म्याद सकिएसँगै शुक्रबार उनलाई अदालतमा उपस्थित गराइएको हो।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।