लेदोसहित पहिरो खसेपछि नौबिसे–काठमाडौं सडक अवरुद्ध


काठमाडौं ।

अविरल वर्षासँगै लेदोसहित पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । दिउँसो २ बजे तिर धुनिबेशी नगरपालिका-९ स्थित सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेको लेदोका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । स्थानीय निकाय र सडक विभागसंग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।